फेवातालको सिमसार र मापदण्ड लागू हुने क्षेत्रको चर्को अतिक्रमण हुँदै आएको छ । मापदण्ड बिपरित ताल किनारामा भौतिक संरचना खडा गर्ने, तालको जग्गा कव्जा गर्ने, मापदण्ड लागू हुने क्षेत्रमा भौतिक संरचना बनाउने प्रवृत्ति मौलाउँदै गएको छ । पहुँच हुनेहरुले जतिसुकै ताल अतिक्रमण बनेपनि राज्यका निकाय र प्रशासन निरीह बन्दै आएको तथ्य अतिक्रमण गरिएका संरचनाले पुष्टि गर्छ । पछिल्लो समय तालको सिमसार क्षेत्र पुरेर भौतिक संरचना खडा गर्न खोज्ने एक व्यक्ति भने पक्राउ परेका छन । पोखराका विभिन्न ठाउँमा मापदण्ड बिपरितका सस्तो बजार खोलेर भाडामा लगाएर रातारात हैसियत परिवर्तन गरेका पोखरा ५ खुडेपोखरीका युवराज खतिवडालाई प्रहरीले फेवातालको सिमसार क्षेत्र अतिक्रमण गरेको अभियोगमा पक्राउ गरेको हो । तालको सिमसार क्षेत्र नपुर्न भनेर पटक पटक सम्झाउँदा पनि अटेर गरी काम अघि बढाएपछि खतिवडा पक्राउ परेका हुन ।
राज्यका निकायले खतिवडालाई मात्रै होईन, फेवाताल अतिक्रमण गर्ने अरुलाई पनि कार्वाहीको दायरामा ल्याउन सक्नुपर्छ । अतिक्रमणकारीहरुलाई कार्वाही गर्नुपर्ने चर्को आवाज उठदै आएपनि हल्का काम गरेजस्तो गरेपनि परिणाम दिने गरी कुनै कार्वाही हुन सकेको छैन । सार्वजनिक महत्वका सम्पति अतिक्रमण गर्नेहरुलाई जवसम्म कार्वाहीको कठघरामा उभ्याउन सकिदैन तवसम्म राज्य भएको महसुस गर्न सकिदैन । फेवाताल संरक्षणको मुख्य जिम्मेवारी पोखरा महानगरपालिकाको हो तर महानगरले काजग र भाषणमा जतिसुकै संरक्षणका चर्का कुरा गरेपनि व्यवहारमा उल्लेखनिय कुनै काम गरेको छैन ।
पर्यटकिय नगरी पोखराको मुख्य आर्कषणको केन्द्र फेवाताल नेपालमा मात्र विश्वमै प्रसिद्व छ । पोखरा घुम्न आएका पर्यटकहरु एकपटक फेवाताल हेरेर र ढुंगा सयर गरेर मात्र फर्कने गर्दछन । फेवतालको कारण नै पोखरा पर्यटकिय नगरीमा विकसित भएको हो । माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्य फेवातालमा पर्दा निकै मनमोहक देखिन्छ । फेवातालको तालवाराही मन्दिर, ढुगां सयर, माछापालन, पानीको प्रयोग विभिन्न कारणले यसले हजारौं मानिसलाई रोजगारीको अबसर सिर्जना गरेको छ । फेवातालमा प्रत्यक्ष र अप्रत्यक्ष गरी लाखौं मानिस निर्भर रहेका छन ।
बाहिरी र आन्तरिक पर्यटकको आर्कषणको केन्द्र भएकोले फेवातालमार्फत राष्ट्रको ढुकुटी भर्नमा पनि यसको योगदान रहेको छ । विश्वमा समेत प्रसिद्व फेवाताल यतिखेर नेपाल र पोखरावासीको लागि माल पाएर चाल नपाएको जस्तो भएको छ । उचित रेखदेख, संरक्षण अभाव, प्राकृतिक र मानवीय अतिक्रमणका कारण दिनप्रति दिन यो संकटमा पदैछ । ताालकिनारा आसपासका भू माफियाहरुले पानीको भूभागसमेत किता काट गरेर लालपूर्जा लिएका छन । शुरुमा निकै ठुलो आकार रहेको फेवाताल अहिले साँघुरिदै गएर ठाउँ ठाउँमा टापु बन्दै गएको छ । सेति नदीको कुलो, ढल र फोहोर मिसाईएको र बर्षेनी भेलले बगाएर ल्याउने माटोले तालको सौन्दर्य घट्दै गएर कुरुप बनेको छ ।
सवैको साझा सम्पतिको रुपमा रहेर पनि फेवातालको संरक्षणमा जति काम गर्नुपर्ने हो हुन सकेको छैन । उसो त फेवाताल संरक्षणको नाममा ज्ञात र अज्ञात शयौं संघ संस्थाहरु छन । उनीहरुले ताल संरक्षणका नाममा बर्षेनी करोडौं रुपया ल्याउने गरेपनि उति सारो काम गरेको पाईदैन । फेवाताल संरक्षणको लागि प्रभावकारी काम नगर्दा आएको बजेटको दुरुपयोग भएको छ । सिमित केही ब्यक्ति मात्र मोटाएका छन । फेवातालको सौन्दर्य बेचेर व्यवसाय संचालन गर्ने उदेश्यले पोखराको लेकसाईडमा मात्रै दुई खरब भन्दा वढि लगानी रहेको छ । यदी ताल नै नरहने हो भने नागरिकको त्यति ठुलो लगानी कुनै दिन संकटमा पर्नेछ । त्यसैले पनि पर्यटन व्यवसायीहरु फेवाताललाई बचाएर आफ्नो लगानी सुरक्षित गर्नेतर्फ बिशेष चनाखो र सक्रिय बन्नुपर्ने देखिन्छ ।
फेवाताल पोखरा मात्र नभएर नेपालको सम्पदा भएकोले यसको संरक्षणको लागि बिशेष गुरुयोजना बनाउन जरुरी छ । यसको बास्तविक स्वरुप छुट्टाएर तत्काल सिमाङकनदेखि अन्य संरक्षणका कामलाई तीव्रताका साथ निरन्तरता दिनुपर्दछ । केहि बर्षअघि स्थानीयबासीले पिउन समेत प्रयोग गर्ने यो पानी अहिले ढल र फोहोर मिसाएका कारण छुन समेत घिन लाग्ने भएकोले प्रदूषण गर्नेहरुलाई तत्काल कार्वाही गर्नुपर्दछ । फेवातालमा आएको वजेट एकद्वार नीतिमार्फत खर्च गर्ने पद्वती विकास गरेमा बजेटको दुरुपयोग हुनेछैन । अहिले कोरोना महामारीले मानवीय गतिविधि कम हुँदा फेवातालको पानी पहिला भन्दा स्वच्छ देखिएपनि राज्यका गतिविधि समेत सुस्ताएको मौका छोपेर ताल किनारा वरिपरिका भूमाफियाहरु भौतिक संरचना खडा गरेर व्यवसाय गर्न सक्रिय भएका छन । सामान्य नागरिकले अतिकति मापदण्ड मिच्दा यो मिलेन र त्यो मिलेन भन्दै भत्काउन अघि सर्ने पोखरा महानगरपालिकाको कार्यालय खुलेआम तालको जग्गा अतिक्रमण हुदाँ पनि देखेको नदेखे जस्तै गरेर बसेको थियो । ताल अतिक्रमणको संचारमाध्यम र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महानगरका मेयर आफै अतिक्रमित स्थलमा पुगेर भत्काउन बाध्य भएका थिए । भूमाफियाले तालको जग्गा हडप्ने, महानगरले भत्काएजस्तै गर्ने अर्थात सासुले कुटे जस्तै गर्ने बुहारी रोयएको जस्तो गर्ने नौटंकी अब बन्द गर्नु जरुरी छ । जहाँ जो जसले मापदण्ड बिपरित फेवातालको जग्गा अतिक्रमण गरेका छन, सबैको कडा ढंगले भत्काएर तालको जग्गा संरक्षण गर्न जरुरी छ । दोषि ठहरिएकाहरुलाई कडा भन्दा कडा कार्वाही गरेमाा फेरि जो कोहिले अतिक्रमण गर्ने कुरा कल्पना पनि गर्न सक्दैन । तालको अतिक्रमित जग्गालाई फर्काउदै तालको पानीको स्वच्छतालाई कायम राख्न सके एउटा ऐतिहासिक काम हुनेछ । यस कामको लागि आयोगलाई सरोकारवाला निकाय र आम पोखरेली नागरिकले साथ र सहयोग दिन जरुरी छ ।