पोखराः आज (मंगलबार) पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। प्रतिपदा तिथि (आज हो) देखि बडादसैं सुरु हुने जमरे औंसीसम्म १५ दिन पितृ सम्झिने परम्परा छ। यस अवधिमा सनातन धर्मावलम्बीले वैदिक विधिअनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्छन्।
यसपटक पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पितृकार्य गराउने पुरोहितहररूलाई कर्मकाण्डको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने नियम लागू गरेको छ। साथै कोरोनाबाट बच्ने स्वास्थ्य मापदण्ड पनि पालना गर्न भनेको छ।
यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथिमा चोखोनितो गरी महालय श्राद्ध गरी तर्पण र पिण्ड दिइन्छ। यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरूलाई ऋणमुक्त गरिदिने, पितृहरूप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक विश्वास छ।
दसैं र तिहारजस्ता ठूला चाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृलाई खुसी पार्नुपर्ने परम्पराअनुसार सनातन हिन्दु धर्मावलम्बी समुदायमा सोह्र श्राद्धको महत्त्व छ।