पोखराः साँझपख वत्तिको उज्यालोमा सेतो पुतलीहरु झुम्मिएको दृश्य अहिले धेरैतिर देखिन्छ । यस्ता पुतलीहरु हेर्दा सामान्य लागेपनि स्वास्थ्य बिशेष गरी आँखाका लागि यो निकै घातक सावित भएका छन । आँखा र शरीरको अन्य भागमा छोएमा चिलाउने, रातो हुने मात्रै होईन, आँखामा परेमा तत्काल उपचार नगरिएमाा दृष्टि गुम्न सक्छ ।
सेतो पुतली अर्थात् मोथको झुस आँखामा परेर हुने संक्रमणले सापु गराउँछ । गण्डकी प्रदेशका कास्की, म्याग्दी, बाग्लुङ, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँलगायत जिल्लामा सापु रोगका बिरामी बढिरहेका छन् । यो क्षेत्रमा ५५ जनामा सापु देखिएकोमा पाँचको दृष्टि गुमेको छ ।
‘यो सेतो पुतली रातको समयमा बत्तीमा झुम्मिने गर्छ । घरमा बालेको बत्तीमा आउने गर्छ । त्यसको झुस पर्यो भने आँखामा पिप जम्ने र दृष्टि नै गुम्नेसम्म हुन्छ,’ हिमालय आँखा अस्पताल पोखराकी मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले भनिन् । भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण बढी हुन्छ । स्वास्थ्य मन्त्रालयले पनि सेतो पुतलीबाट जोगिन भनेको छ । ‘उच्च पहाडी भेगमा सापुका बिरामी बढिरहेका छन् । त्यसैले, सेतो पुतली (मोथ) देखिए होसिहार रहनुहोला,’ स्वास्थ्य प्रवक्ता डा. कृष्ण पौडेल भन्छन् ।
आँखा एक्कासि रातो हुनु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्काल कमी हुनु, आँखाको दुखाइ सामान्य वा बढी हुनु तथा कालो नानीमा सेतो देखिँदै जानु सापुका लक्षण हुन् । तत्काल नजिकैको आँखा अस्पतालमा गएर पहिचान गरी उपचार गर्नुपर्छ ।
आँखामा सुईमार्फत औषधि दिएर सापु रोगको उपचार गरिन्छ । जटिल अवस्था भए आँखाको शल्यक्रिया नै गरेर उपचार गर्नुपर्छ । संक्रमण भएको २४ देखि ४८ घन्टाभित्र उपचार नपाए दृष्टि गुम्न सक्छ ।
सेतो पुतलीबाट जोगिनु नै सापुबाट बच्नु हो । धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ, राति झ्याल–ढोका बन्द गर्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुलभित्र सुत्ने गर्नुपर्छ ।
गण्डकी प्रदेशअन्तर्गतका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङजस्ता जिल्लामा सापुको प्रभाव बढी देखिएको छ । हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एलिया श्रेष्ठले यो सिजनमा मात्र सापुका ५५ बिरामी उपचारका लागि आएको जानकारी दिइन् । उपचारमा आएकामध्ये पाँचजनाको दृष्टि गुमेको छ । ‘यो सिजनमा सापुका ५५ बिरामी अस्पताल आइसकेका छन् । तीमध्ये पाँचजनाको दृष्टि फर्काउन सकिएन,’ डा. श्रेष्ठले भनिन् । उनका अनुसार हिमालय आँखा अस्पतालमा सबैभन्दा धेरै बिरामी कास्कीबाट आएका छन् । त्यसैगरी, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङबाट पनि सापुका बिरामी उपचारका लागि आएका छन् ।
डा. श्रेष्ठका अनुसार सापु अगस्टदेखि अक्टोबरसम्म देखिन्छ । एक वर्ष बिराएर सापु देखिने गरेको उनले बताइन् । सेतो पुतलीको झुस आँखामा बिझ्दा हुने यो रोगको उपचार २४ घन्टाभित्र हुन नसके आँखाको ज्योति गुम्नेसम्मको खतरा रहेको छ ।
पूर्वीपहाडी जिल्ला संखुवासभामा १५ जनामा सापु रोग देखिएकोमा एकजनाले आँखाको ज्योति गुमाएका छन् । संखुवासभाका खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका र सिलिचोङ गाउँपालिकामा सापुका बिरामी भेटिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिए । बरालका अनुसार खाँदबारीकी स्मृति घिमिरेले आँखाको ज्योति गुमाएकी हुन् ।
सदरमुकाम खाँदबारी बस्दै आएका माल्टाका खगेश्वर घिमिरेले सापुबारे जानकारी नहुँदा छोरी स्मृतिले आँखाको ज्योति गुमाउनुपरेको बताए । सूर्य आवासीय बोर्डिङ स्कुलका ‘भाइस प्रिन्सिपल’ खगेश्वरले भने, ‘विद्यालयबाट घर फर्किएपछि छोरीले आँखाको डिल चिलायो भनिन् । हामीले वास्ता गरेनौँ । निकै चिलायो भनेपछि हतार–हतार तेजरत्न आँखा उपचार केन्द्र लग्यौँ । पुतलीको झुस बिझेको भन्दै चिकित्सकले तिलगंगा अस्पताल काठमाडौं लैजान भने । तुरुन्तै जहाजको टिकट नपाएपछि भोलिपल्ट मात्र काठमाडौं हिँडे । तर, त्यतिवेलासम्म दाहिने आँखाको ज्योति गुमिसकेको थियो ।
केन्द्रका अनुसार चैनपुरकी युविका शाक्य, सिलिचोङ बालाका स्मृति कुलङ र भूमिका कुलुङलगायतका सातजनालाई सापु लागेको भेटिएको थियो । तीमध्ये स्मृतिबाहेक अन्य सबै समयमै चिकित्सकको सम्पर्कमा आएकाले उपचारपछि निको भएको इन्चार्ज बरालले बताए । ‘यो समय सेतो पुतलीले लार्भा निकाल्ने महत्वपूर्ण समय हो । भदौदेखि मंसिरसम्म यसले लार्भा उत्पादन गर्ने गर्छ ।’
चितवनमा सापुका कारण एक बालकले एउटा आँखाको दृष्टि गुमाएका छन् । भरतपुर आँखा अस्पतालकी रेटिना विशेषज्ञ डा. कुमुदिनी सुवेदीका अनुसार अभिभावकसँग पोखराबाट चितवन आएका चार वर्षका एक बालकमा सापु देखिएको हो । रोग लागेको पाँच दिनपछि मात्र बालकलाई लिएर अभिभावकहरू अस्पताल आएका थिए । ढिलो अस्पताल आएकाले बालकको आँखाको दृष्टि बचाउन नसकिएको डा. कुमुदिनीले बताइन् । ‘शल्यक्रिया गरेर बालकको आँखाभित्र जम्मा भएको पिप र जाली निकाल्यौँ । तर, ढिलो उपचारमा आएकाले दृष्टि बचाउन सकेनौँ,’ उनले भनिन् । डा. कुमुदिनीले सापुको लक्षण देखिए वा सापु भएको आशंका लागे तत्कालै आँखा अस्पताल जान सुझाब दिइन् । ‘सापुले एउटा आँखालाई मात्र असर गर्छ, तर समयमै उपचार नपाए त्यो आँखाको ज्योतिसमेत गुम्छ । त्यसैले तत्कालै अस्पताल जानुर्पछ,’ उनले भनिन् ।
सापुका लक्षण
आँखा रातो हुने, तर चिप्रा नलाग्नु
उज्यालोमा हेर्न नसक्नु
तत्कालै आँखाको दृष्टि कमी हुनु
आँखाको कालो नानीभित्र पिप जम्नु
नानी सेतो देखिनु र सेतो टल्किनु
रोकथामको उपाय
सेतो पुतलीको संसर्गबाट टाढा रहने
धेरै उज्यालो सेतो बत्ती नबाल्ने
झ्याल ढोकामा जाली राख्ने वा बेलुका झ्याल ढोका बन्द राख्ने
बत्ती निभाएर झुल प्रयोग गरेर सुत्ने
यो रोगको शंका लागे तुरुन्त आँखा उपचार केन्द्र वा आँखा अस्पताल गइहाल्ने
सापु फैलाउने पुतली कसरी चिन्ने ?
चिकित्सकहरूका अनुसार सेतो पुतली करिब तीन सय प्रजातिका छन् । तीमध्ये सापु फैलाउने पुतलीमा शिरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो उज्यालो वस्तु, बत्ती, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने गर्छ । पोथी सेतो पुतलीले अन्डा ढाक्न प्रयोग गर्ने झुसका कारण धेरै यो रोग फैलिने गरेको चिकित्सकहरूले बताएका छन् । उक्त पुतलीले अन्डा कोरल्ने समयमा झुस छोड्ने गर्छ ।
– सापु आँखाको निम्ति धेरै नै खतरनाक हो । सापु लागेपछि द्रुतगतिमा अगाडिको भागदेखि पछाडिको भागसम्म आँखाको पत्रहरू बिग्रन थाल्छन् । ४८ घन्टा कटेपछि आँखाको धेरैजसो भागमा पिप जम्छ । यसका लक्षण देखिएको घन्टा वा मिनेटभरमै उपचार खोज्नुपर्छ । आँखा पाकेको रोग हो भनेर हेलचेक्र्याइँ गर्दै बस्दा ४८ घन्टाभित्रमा आँखाको दृष्टि गुम्न सक्ने डर हुन्छ । तर, यो सरुवा रोग होइन ।
– यो रोग बाह्रै महिना देखिने होइन । विदेशी क्यालेन्डरअनुसार बिजोडा वर्ष र नेपाली क्यालेन्डरअनुसार जोडी वर्षमा भदौदेखि मंसिरसम्मको समयमा यो रोग देखा पर्दै आइरहेको छ । खासगरी वर्षायाम रोकिएर चिसो बढ्नै लाग्दा देखिन्छ ।
– यो रोग बालबालिकामा धेरै छ । पीडितमध्ये ६०/७० प्रतिशत बालबालिका छन् ।
– पहिले–पहिले यो रोग लागेका दुईतिहाइको दृष्टि गुम्थ्यो, तर अहिले उपचारमा धेरै सुधार आएको छ । हालसम्मको उपचार पद्धति र निको भएको दरलाई हेर्दा लगभग ७० प्रतिशतको आँखाको दृष्टि फर्काउन सकिएको छ ।