मानव जीवनमा अनेक संकट पर्दछन । ती मध्ये स्वास्थ्य समस्या सवैभन्दा चुनौती पूर्ण मानिन्छ । भनिन्छ रोग सबैभन्दा ठुलो शत्रु हो । रोग लागेपछि धन मात्रै होईन धनको पनि ठुलो नोक्सानी हुन्छ । मानिसलाई सवैभन्दा ठुलो सहयोगको खाँचो पनि विरामी भएर अशक्त परेको बेलामा हुन्छ । विरामीलाई सेवा गर्न परोपकारि मन र निस्वार्थ भएर समर्पित भावना र कर्म भएको हुनुपर्छ । स्वास्थ्य सेवामा अलिकति पनि स्वार्थ भएमा बिरामीको ज्यानसँग उसँग सम्वन्धित धेरै समस्यामा पर्दछन ।
विगतमा स्वास्थ्य समस्यालाई परोपकार र निस्वार्थ सेवाको दृष्टिले हेरिन्थ्यो र त्यही अनुसारको कर्म पनि गरिन्थ्यो । त्यसैले स्वास्थ्यकर्मीहरुलाई आम नागरिकहरुले उच्च सम्मानका साथ भगवानको दोस्रो रुप भनेर समेत मान सम्मान गर्दथिए । तर मानिसको बदलिदो चालचलनसँगै विगतका मुल्य मान्यताहरु क्रमशः धरासायी बन्दै नयाँ नयाँ दृष्टिकोण सार्वजनिक हुन पुगेका छन । स्वास्थ्य क्षेत्रमा पनि स्वास्थ्यकर्मी र लगानीकर्ताहरुको नाफामुखि स्वार्थी प्रवृत्तिका कारण बदनाम बन्न पुगेको छ । चिकित्सकहरुले ज्यान संकटमा परेर नयाँ जीवनका लागि शरणमा पुगेका बिरामीहरुलाई अनावश्यक वोझ थपेर अत्याचारपूर्वक शोषण गर्ने गरेका छन ।
औषधि कम्पनीहरु, प्रयोगशालाबाट कमिसन पाउन, अस्पताललाई नाफामा लैजान विरामीहरुलाई अनावश्यक परीक्षणदेखि शल्यक्रिया गरेका पाइन्छन । आफुले उपचार गर्न नसक्ने विरामीहरुलाई भर्ना गरेर मज्जासँग विभिन्न परीक्षण र औषधि चलाएर मोटो रकम असुलेर मर्न लागेपछि मात्रै अन्त्य रिफर गरिदिने गर्दछन । कतिपयले मर्ने निश्चित भएकालाई पनि लामो समय भेन्टिलेटरमा राखेर रकम धुत्ने गरेका पाईन्छ ।
स्वास्थ्य क्षेत्रमा बड्दो विकृति र विसंगतीले यो क्षेत्र वदनाम बन्दै गइरहेको छ । स्वास्थ्य जस्तो संवेदनशील पवित्र पेशालाई व्यापारीहरुले व्यापारिकण गरेर नाफा कमाउने माध्यम बनाईदिदा यस क्षेत्रको महत्व र गरिमा घटेको छ । त्यसैले मेडिकल क्षेत्रमा बड्दो व्यापारिकण र माफियाकरण तत्काल बन्द गरी सबै सेवा संचालन राज्यको अधिनमा ल्याईनुपर्छ । नेपालमा व्यक्तिले ठुला ठुला प्रतिष्ठान हाँक्न सक्दछन तर विडम्वना राज्यले सानो संस्था संचालन गर्न नसकेर भन्दा पनि कमिसनको चक्करमा धमाधम निजीकरण गरिरहेको छ । राज्यका स्रोत साधनहरु व्यापारिलाई पोस्ने र त्यसवाट अनेक प्रकारका कमिसन हसुरेर अकुत सम्पति कमाउने भ्रष्ट नेतृत्व, कर्मचारीहरु र माफिया गिरोहको जालो यसरी नै बडिरहने हो भने सिमित मुठ्ठीभरका व्यक्ति मोटाउने र सिधासादा वहुसंख्यक जनता सधै समस्यामा पर्ने निश्चित छ ।
यतिखेर गण्डकी प्रदेशकै ठुलो अस्पताल मणिपाल शिक्षण अस्पताल पोखराका दुई व्यापारीले किनेको समाचार सार्वजनिक भएको छ । मणिपाल एजुकेशन एण्ड मेडिकल गु्रप र सरकारवीच भएको सम्झौतामा ४९ बर्षपछि त्यसको स्वामित्व सरकारमा जाने र मणिपाल ग्रुपले विचमै छोडन चाहेमा राज्यकै हुने उल्लेख छ । मणिपालले अस्पताल अरुलाई वेच्न र भाडामा लगाउन नपाउने सम्झौता भएपनि कसरी त्यो सम्झौता विरुद्ध किनवेच भयो ? त्यसको खोजि गरी राज्यको अहित हुने गरी कुकर्म गर्नेहरुलाई कानुनी कार्वाहीको कठघरामा उभ्याउन जरुरी छ । मणिपाल पोखरा मात्रै नभएर देशकै सम्पति भएकोले त्यसको सुरक्षा, संरक्षण, संचालन र अधिन सवै राज्यले नै गर्नुपर्दछ ।
व्यापारिहरुले उद्योग व्यवसायमा मात्रै अधिनमा नजमाएर स्वास्थ्य, शिक्षा, प्राकृतिक स्रोत साधनहरुमा समेत गिद्धे नजर लगाएर धमाधम कव्जा जमाउने होडमा उत्रिएका छन । लाखौं जनतालाई चुसेर र धुतेर मोटाउने मुठिभरका यस्ता माफियाहरुको जालो पछिल्लो समय निकै बलियो बन्दै गइरहेको छ । देशको उच्च पदमा वसेकादेखि स्थानीय निकायमा वसेका कर्मचारी, जनप्रतिनिधिसँगै गुण्डा, तस्कर, केहि पत्रकार, प्रहरी र व्यापारिहरुसँग साँठगाँठ मिलाएर यस्ता माफियाहरुले देश र जनतामाथि लुट मच्चाइरहेका छन । यस्तो गिरोहले सरकारी निकायबाट चलेका सेवाप्रदायक संस्थाहरुलाई तहसनहस पारिदिने र आफ्नो व्यापार विस्तार गर्ने गर्दछन । जसका कारण जनताको जीवन निकै कष्टकर बन्न पुगेको छ ।
मेडिकल क्षेत्रमा वड्दो माफियाकरणको अन्त्यका लागि नागरिक समाजवाट आवाज बुलन्द गर्नुपर्दछ । पोखराको नागरिक समाज साँच्चिकै कमजोर भएकोले यहाँका प्राकृतिक स्रोत साधन र राज्यका श्री सम्पतिमाथि माफियाहरुले रजाई गर्दै आएका छन । कि त आफुलाई नागरिक समााजको अगुवा भन्नेहरु यस्ता माफिया गिरोहवाट त्रसित भएर मौन वसेका छन नभए प्रलोभनमा परेर मौन बसेका छन ।
राज्यका स्रोत साधन माफिया गिरोहलाई सुम्पदै जाने हो भने संविधान र कागजमा सार्वभौम नागरिक लेखिएपनि साधरण जनता देशभित्रकै माफियाहरुको अधिनमा दासभन्दा निम्नस्तरको जीन्दगी गुर्जान बाध्य हुन्छन । त्यसैले मेडिकल क्षेत्रमा वड्दो माफियाकरणका विरुद्ध सवैले आवाज वुलन्द गरौं । राज्यका स्रोत साधनलाई व्यापारिकण हुनवाट जोगाएर सवैको सजिलै सुलभ पहुँच वडाऔं ।
स्वास्थ्य क्षेत्रलाई व्यापार नवनाउ
स्वास्थ्य क्षेत्रलाई व्यापार नवनाउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु