पोखराः संचालनको छोटो समयमा नै मातृशिशु मितेरी अस्पताल बाटुलेचौरमा सुत्केरी गराउनेको संख्या बडेको छ ।
गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको अस्पतालमा बर्षेनी सेवाग्राहीको संख्या बृद्धि भएको हो । आर्थिक वर्ष ०७३ ÷७४ मा १ सय ६८ जनाले सेवा लिएकोमा ०७४÷७५ मा ४ सय १२ र ०७५÷७६ मा ५ सय ८८ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष ०७६÷७७ मा ५ सय ७४ जनाले सेवा लिएकोमा ०७७÷७८ मा ७ सय ९ सेवाग्राहीले सुविधा लिएका अस्पतालले जनाएको छ ।
पोखराको बाटुलेचौरस्थित अस्पतालले सोमबार विगत र वर्तमानमा भएका काम तथा योजना बारे कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।
अस्पतालकी अध्यक्ष उषा बरुवालले गुणस्तरिय सेवाले नै बिरामीको आर्कषण बढेको बताउँदै आगामी दिनमा थप सेवा विस्तार गरिने जानकारी दिईन । अस्पतालले सेवाग्राहीको समस्यालाई ध्यान दिँदै स्त्रीरोग सम्बन्धी सेवा विस्तार गरेको अध्यक्ष बरुवालले बताईन् । “अस्पतालले प्रत्येक बुधवारका दिन पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदै आएको छ,” उनले भनिन “स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन, फार्मेसी, ल्याब, एक्सरे र २४ घण्टा आकस्मिक सेवा प्रदान तथा, बच्चा वार्ड सञ्चालन गरी सेवा थप गरेका छौँ ।”
अस्पतालले २०७५ कार्तिक २३ देखि २०७८ असोज ११ गतेसम्म सञ्चालित कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गर्दै अध्यक्ष बरुवालले गर्भवती महिला र परिवारका लागि सुत्केरी स्याहार, नवजात शिशु र स्तन स्याहार सम्बन्धि परामर्श सेवा समेत सञ्चालन गरिएको बताईन् । स्तन स्याहार सम्बन्धी सेवा गण्डकी प्रदेशमै पहिलोपटक भएको उनको दावी छ ।
साथै प्रत्येक महिनाको २, ९, १६, र २४ गते गरी ४ पटक खोप सेवा कार्यक्रम पनि अस्पतालले सञ्चालन गर्दै आएको उनले जानकारी दिईन् ।
“अस्पतालले कोरोना परिक्षणका लागि एन्टीजेन सेवा, कोभिड वार्ड व्यवस्थापन तथा सञ्चालन, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सम्बन्धि थप सेवा सञ्चालन गरिरहेको छ” उनले भनिन् ।
अस्पतालमा ५ बेडको आइ.सि.यु. सेटअप, अति विपन्न कोष स्थापना जस्ता महत्वपूर्ण कार्यक्रम अस्पताले सञ्चालन गरेको उनले बताईन् । अस्पतालले गण्डकी प्रदेशमै नमुना र उदहारणीय काम गरेको दावी गर्दै उनले अति विपन्न र असहायक बिरामीहरूको लागि अक्षयकोषको स्थापनापछि धेरै विरामीहरुले राहत हुने उनको भनाई छ ।
“हामीले अस्पतालमा गर्भवती महिलाहरूको लागि सुरक्षित प्रतिक्षा गृह पनि निर्माण गर्न सफल भएका छौँ, उनले भनिन् “यसले टाढाटाढाबाट आउने गर्भवती महिलाहरुका लागि सहज भएको छ ।”
सेवाग्राहीहरु अस्पतालको सेवाबाट सन्तुष्ट भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष रहेको उनको दावी छ । जोखिमपूर्ण अवस्थामा पनि अस्पतालमा निर्माणकार्यहरु समयमै सम्पन्न हुनुलाई उपलब्धिको रुपमा लिएको अध्यक्ष बरुवालले बताईन् ।
अस्पतालले भौतिक संरचनाहरुको निर्माण तथा स्तरोन्नती समेत गरेको छ । अस्पतालमा आवस्यक अक्सिजन प्लाण्टको निमार्ण तथा जडान, ¥याम्प, तालिम हल, कर्मचारी आवास गृह, परामर्श सेवा कक्ष, कोभिड वार्ड, चमेनागृह, निर्माण लगायतका काम समेत गरिएको बरुवालले जानकारी दिईन् । “अस्पतालले गुरुयोजना निर्माण गरी आफ्नै नाममा ३ रोपनी जग्गा व्यवस्थापन गरी लालपुर्जा समेत प्राप्त गरेको छ” उनले भनिन् “यो हाम्रो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि हो ।” अस्पाताल व्यवस्थापनका क्रममा जनशक्ति व्यवस्थापन, औजार उपकरण मर्मत, प्राविधिक तथा विशेषज्ञ चिकित्सकहरुको भने समस्या भोग्नुपरेको उनको भनाई छ ।
अस्पतालका संस्थापक समेत रहेका कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले १५ बेड क्षमताबाट सुरु भएको अस्पताल हाल ५० बेड क्षमतामा पुग्नुमा व्यवस्थापन समितिको सफलता भएको बताए । “सामाजिक क्षेत्रमा लामो अनुभव हासील गरेको नेतृत्वका कारण नै अस्पतालले आज यो सफलता हासील गरेको हो” उनले भने “हामीले अब यस अस्पताललाई १०० बेडमा स्तरोन्नती गर्ने योजना बनाईरहेका छौँ ।” अस्पतालमा सञ्चालित नागरिक सहयोग समूहको काम गण्डकी प्रदेशकै नमुनाका रुपमा रहेको सांसद थापाले बताए । अस्पतालले ३ वर्षको अवधिमा ४८ वटा नयाँ काम गरेको जानकारी पाएको बताउँदै सांसद थापाले ईमान्दारी पूर्वक सबैले आ आफ्नो काम गरेमा देश विकास हुन धेरै समय नलाग्ने बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुष्पराज तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरे ।
सेवाग्राहीको मन जित्दै मातृशिशु मितेरी अस्पताल
सेवाग्राहीको मन जित्दै मातृशिशु मितेरी अस्पताल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु