सुनसरी– जंगली हात्तीहरुको नेतृत्व गर्दै दर्जनौ मानिसहरुको ज्यान लिएको हात्तीको करेण्ट लागेर मृत्यु भएको छ ।
धानबालीमा राखिएको बिद्युतीय धरापमा परेर मकुना नामको हात्ती मरेको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती आईतवार बिहान धानखेतमा मृत भेटिएको जनाएको छ ।
आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धान खेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए।
उनले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए। उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए।
सातादिन अघिमात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो। जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो।
मकुना जंगली हात्ती भए पनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो। मकुना हात्तीसारमा रहेका अन्य हात्तीको अभिभावकका रुपमा समेत थियो।
मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइकेसमेत थियो। आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गर्थ्यो। मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो। मकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढीको ज्यान लिएको थियो।