कृषि कानुनको विरोधमा भएको प्रदर्शनमा भारत केन्द्र सरकारका गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशीष मिश्राले गाडी प्रदर्शनकारी तर्फ कुदाएपछि झडप भएको थियो ।
सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा रक्ताम्य मानिसहरु रहेकै गाडीमा आगो लगाइएको देखिएको छ ।
हिंसापछि उत्तर प्रदेश सरकारले आशीषविरुद्ध उजुरी दर्ता गरेको छ । उच्च अदालतका अवकास प्राप्त न्यायाधीशको नेतृत्वमा घटनाको अनुसन्धान गराउने वाचा पनि राज्य सरकारले गरेको छ ।
योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले विपक्षी दलका नेताहरुलाई घटनास्थलमा जान दिएको छैन । कांग्रेस नेता प्रियंका गान्धी सोमबार लखीमपुर खीरी जान लागेकी थिइन् ।
उनलाई बाटोमै रहेका बेला सीतापुरबाटै प्रहरीले पक्राउ गरेको छ । प्रियंका गान्धी अहिले पनि सीतापुरको पीएसी गेस्ट हाउसमा छिन् । बाहिर कांग्रेस कार्यकर्ता धर्नामा बसेका छन् ।
लखीमपुरमा के भएको थियो?
आइतबार लखीमपुर खीरीको तिकुनियामा भएको हिंसामा ८ जनाको ज्यान गएको थियो । केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन कानुन विरुद्ध जारी किसानको प्रदर्शन अन्तर्गत आइतबारको झडप अहिलेसम्मकै भयानक हो ।
समाचार संस्था पीटीआईका अनुसार झपडमा मारिनेमा चारजना किसान हुन्, उनीहरुको मृत्यु गाडीले किचेका कारण भएको हो । ती गाडी भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताको रहेको जनाइएको छ ।
राज्यका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको स्वागतका लागि गइरहेका गाडीले किसानलाई किचेका हुन् । मारिनेमा अरु भाजपाका कार्यकर्ता र ड्राइभर हुन् ।
आफूहरुमाथि गाडी चलाएपछि आक्रोशित प्रदर्शनकारीले गाडीमा रहेकालाई कुटपिट गरेका हुन् र उनीहरुले गाडीमा आगो पनि लगाएको पीटीआईले जनाएको छ ।
घटनापछि विपक्षी दलका नेताहरु लखीमपुर खीरी जान थाले । राज्य सरकारले खीरीमा सीआरपीसीको धारा १४४ लागु गरी एक स्थानमा चारजना भन्दा बढी भेला हुन रोक लगायो ।
उत्तर प्रदेश सरकारले समाजवादी पार्टीका अखिलेश यादव, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नी, बीएसपीका एससी मिश्र र आम आदमी पार्टीका सञ्जय सिंहलाई लखीमपुर खीरी जान रोक लगाएको छ ।
कृषि कानुको संवैधानिकतामाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतमा महान्यायाधिवक्ताले खीरी घटनाबारे उल्लेख गरेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अदालतमा विचाराधीन मुद्दामा कुनै पनि संगठनले विरोध प्रदर्शन गर्न पाउने वा नपाउने भन्नेबारे फैसला गर्ने सर्वोच्च अदालतले जवाफ दिएको छ ।
लखीमपुर खीरी घटनालाई लिएर देशभर भाजपासँगै केन्द्र र योगी सरकारको तीव्र आलोचना भइरहेको छ ।