काठमाडौँ- दसैँ मनाउन उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना बिचौलिया पक्राउ परेका छन्।
भिडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवं अनुगमन गर्न टोली परिचालन गरेको छ।
ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यकाबाट बाहिरिने यात्रुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिहरुलाई निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
तोकिएको टिकट काउण्टरमा परिचयपत्र बाहकहरुले मात्र टिकट काट्ने व्यवस्था भए पनि अनाधिकृत व्यक्तिहरुले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएकोभन्दा बढी भाडा लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।
विभिन्न टिकट काउण्टरमा आबद्ध भई विनापरिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षे सविन राई पक्राउ परेका हुन्। त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडाैँका ४६ वर्षीय राज ठकुरी, दाङको घोराहीका २९ वर्षे विशाल गुरुङ्ग र कैलालीका २९ वर्षे रमेश कठायत गाेंगबुबाट पक्राउ परेका हुन्।
उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ।
त्यसैगरी काठमाडाैँकाे कलंकीबाट ३९ वर्षीय नवीन केसी, बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका ३७ वर्षीय विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।