जीन्दगी सुख र खुसीले सुन्दर हुन्छ भने चोटले पीडा र दुःख मिल्छ । हरेक प्राणीले आफ्नो
जीन्दगी सुखमय बनाउन दिनरात प्रतिकुल परिस्थितिसँग संर्घष गरिरहेका हुन्छन । तर एकले अर्को प्राणीलाई सखाप पारेर बाँच्ने इकोसिस्टम प्रणालीले गर्दा एकले अर्काको जीन्दगीको खुसी लुटिरहेका हुन्छन । धर्तीका अधिकांश प्राणी बाँच्नका लागि अर्को प्राणीलाई सिध्याउने गरेपनि मानिस भने अनेक स्वार्थले प्रेरित भएर अर्कालाई मार्न तम्सिरहेको हुन्छ । आफुले भने अनुसारको काम नहुदा एकले अर्कोलाई मन, बचन र कर्मले दुःख दिने, सताउने, तडपाउने, अनेक प्रकारले आक्रमण गर्ने प्रवृत्ति पाइन्छ । हरेक प्राणीमा बलियाले कमजोरलाई दमन गरेजस्तै मानिसमा भने त्यो प्रवृत्ति डरलाग्दो किसिमले देखिन्छ ।
भनिन्छ नि, मान्छेको अर्को परिचय स्वार्थीपना हो । आफुले भने अनुसार भए खुसी हुने र प्रतिकुल भए आक्रमण गरेर सिध्याउने चलन धेरैजसोमा देखिन्छ । एउटा मानिसले अर्को मानिसलाई गर्ने आक्रमणका अनेक रुपहरु छन । शारीरिक, मानसिक, भौतिक, जैविक अनेक ढंगले आफुलाई मन नपरेका पात्रहरुलाई सिध्याउने गर्छ मानिस । मानिसमा पनि कमजोरहरु बलियाबाट बढि नै सताईएका हुन्छन । बालबालिका, महिला, अपाङ्ग, बेसहारा, गरिव अनेक दृष्टिले अशक्तहरु बढि मात्रामा उत्पीडनमा परेका देखिन्छन । उत्पीडनका कारण, रुप, प्रकार अनेक छन । ती मध्ये यहाँ पछिल्लो समय बिशेष गरी शहरी क्षेत्रमा महिला युवतीमाथि हुने एसिड आक्रमण र यसले जीन्दगीभर दिने पीडा र चोट बारे संक्षिप्त चर्चा गर्न लागिएको छ । शहरी क्षेत्रमा युवतीमाथि एसिड प्रहार भएका घटना बेला बेलामा सार्वजनिक भइरहेका देखिन्छन, सुनिन्छन । यस्ता घटनाहरुमा बिशेष गरी युवती, किशोरीले केटाको प्रेम प्रस्ताव अस्वीकार गर्दा केटाले आक्रोशित बनेर एसिड प्रहार गरेको पाईन्छ । घरबाट बाहिर निस्केकी किशोरी, युवती बजारमा कुन बेला जलेको मुहार र ज्यान लिएर अस्पतालको शैइयामा तड्पिदै पुग्ने हो ? भर छैन । सुन्दर मुहार र ज्यान भएका कलिला किशोरीदेखि युवतीहरुमाथि एसिड प्रहार भएका घटना त सार्वजनिक हुन्छन, तर त्यसपछि पीडितहरुले बिताएको पीडादायि जीवनको खासै खोजतलास र चर्चा गरिएको पाइदैन । एसिडको तातो घाउ हुदा जति पीडितको पक्षमा जति सहानुभूति र दोषिमाथि कार्वाही गर्नुपर्ने आवाज सुनिन्छ, बिस्तारै ज्यानको घाउ निको हुदै गएपछि त्यो मत्थर भएर पछि मौनतामा परिणत भईदिन्छ । एडिस आक्रमणबाट पीडितहरु घटनापछि बाँकी जीन्दगी कसरी बिताइरहेका छन ?, घरपरिवार, समाज, साथि, राज्यका निकायले मनभित्र लागेको घाउ चोटको पीडा कसरी निको पार्ने भनेर खासै चासो दिएको पाइदैन । पीडितहरुलाई घरपरिवार, समाजमा पुर्नस्थापित गराउन सिप, शिक्षा दिएर अथवा योग्यता अनुसारको रोजगारी दिएर आत्मनिर्भर बनाउनेतिर ध्यान पुगेको भेटिदैन । जसले गर्दा पीडितहरु जलेको मुहार र ज्यानमा बसेको खाटोसँगै मनभित्र झनै ठुलो पीडा बोकेर बाचिरहेका भेटिन्छन । अमानवीय घटनाले पीडितहरु पलपल तड्पिरहेका कुरा उनीहरुले बेला बेलामा सार्वजनिक रुपमा दिएका अभिव्यक्तिले प्रष्ट हुन्छ । पीडितहरुले जस्ले एसिड हान्छ, उस्लाई पनि त्यसरी नै एसिडले हानेर चोट दिनुपर्नेमा जोड दिइरहेका छन । यसको अर्थ पीडकलाई कढा भन्दा कढा कार्वाही गर्नुपर्छ भन्ने उनीहरुको माग हो । एसिड आक्रमणबाट पीडितहरुलाई राज्यले राहत, सहानुभूति त परको कुरा सामान्य पीडकहरुलाई कडा कार्वाही गर्नुपर्छ भन्ने मागलाई समेत वेवास्ता नगरिदिदा यस्ता घटनाहरु झन दिनप्रति दिन बढिरहेका छन । निर्दोस किरोरी र युवतीहरु अनाहकमा आक्रमणमा परेर बिग्रिएको मुहार र ज्यान लिएर बाँच्न बिबश बनिरहेका छन । पीडितलाई न्याय दिने अदालत, कानुनी व्यवस्था, न्याय, निसाफ गर्ने व्यक्तिहरु पनि दोषिलाई कडा कार्वाही गर्नुपर्छ भन्ने बिषयमा गम्भिर नवनेका बिगतका घटनाक्रमले देखाउछ ।
गत शाउन आठ गते काठमाडौंको सितापाईलामा पबित्रा कार्कीमाथि एसिड आक्रमण भयो । दही किन्न घरवाट हिडेकी उनीमाथि माक्स लगाएको व्यक्तिले मुहारमा एसिड हानेर भाग्यो ।
एसिडको जलनले चिच्याउदै जमिनमा पछ्यारिएकी उनलाई वरपरका मानिसले उठाएर अस्पतालसम्म लगे । आफुमाथि एसिड आक्रमण हुन्छ भनेर कहिल्यै पनि कल्पना नगरेकि उनले आफुले चिनेजानेका मोहम्मद आलम र मैथाज आलमबाट आक्रमण भएको सुनेपछि झनै पीडा महशुस गरिन । प्रहरीले आक्रमणकारी दुबै आलमलाई पक्राउ गरेपनि फेरि फेरि अरु किशोरी र युवतीमाथि यस्ता आक्रमण नदोहोरिने कुनै ग्यारेण्टी छैन ।
युवतीमाथि एसिड आक्रमण गरिएको यो नयाँ घटना होइन, एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता घटनाहरु बेला बेलामा हामीले हाम्रो परिवेशमा देख्दै र सुन्दै आइरहेका छौ । एसिड आक्रमणको घटनालाई खोतल्दा सात बर्षमा १९ महिला र ४ पुरुषमाथि आक्रमण भएको पाइन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २३ घटना भएका छन । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ पनि परेका छन् । यो अवधिमा एसिड हान्नेमध्ये २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही भएको तथ्यांक छ । तर यस्तो आपराधिक मनोवृत्ति भने अझै रोकिएको छैन ।
देशभर २०७१, २०७४, २०७५ र २०७६ मा एसिड प्रहारका ४र४ वटा घटना भए । २०७२ मा २ र २०७३ र हालै १र१ वटा घटना यससँग सम्बन्धित छन । २०७१ फागुन १० मा वसन्तपुरको झोंसेंमा एसएलसीको ट्युसन पढ्न गएका रामेछाप खनियापानीकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड हान्ने जीवन विक एक महिनापछि भारतबाट पक्राउ परेका थिए । २०७६ जेठ २ मा राजधानीको कालोपुलमा राति ८ बजे काभ्रेका विष्णु भुजेलले आफ्नी श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । २०७६ भदौ २० मा वीरगन्ज–१३ श्रीपुरकी १५ वर्षीया मुस्कान खातुनमाथि माजिद मियाँ र सम्साद मियाँको योजनामा एसिड प्रहार भयो । यीसहित घटनामा संलग्न अधिकांश पक्राउ परेर कारागारमा छन ।
एसिड आक्रमण गर्नेलाई १८ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था कानुनमा छ । एसिड हानेर घाइते मानिसको ज्यान गएमा त्यसलाई कर्तव्य ज्यान मुद्दा लाग्ने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा छ । आक्रमण गरेर शरीर कुरूप बनाउनेमाथि ज्यान मार्ने उद्योग र एसिड प्रहार गरी शरीर कुरूप बनाएका दुई कसुरमा मुद्दा चल्ने संहितामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९२० मा कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो अपराधमा संलग्न हुनु हुँदैन । यस्तो कसुर गर्नेरगराउनेलाई १० वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा र्पुयाएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । जरिवानाबापत प्राप्त हुने पूरै रकम पीडितलाई दिनुपर्ने कानुनमा व्यवस्था छ ।
तर कानुनी व्यवस्थाले एसिड प्रहारका घटना रोकिएको छैन । एसिड प्रहार बिशेष गरी तराईमा बढि पाईन्छ । एसिड आक्रमण हुनुमा बिभिन्न कारणहरु रहेका छन । ती मध्ये व्यक्तिगत रिसिइवी, ईस्र्या, प्रेम प्रस्ताव अस्वीकार बढि देखिन्छन । घटनासँग जोडिएका पात्रहरुको चरित्र हेर्दा किशोरी र युवतीहरुले जसलाई बढि विश्वास गरेर सम्बन्ध बनाएका थिए, उनीहरुबाटै घात भएको देखिन्छ । आफुले भनेजस्तो नहुदा, रुपको घमण्ड गर्दै आफ्नो प्रेम र यौन प्रस्ताव अस्वीकार गरिएपछि आवेगमा आएर एसिड खन्याएको अभियुक्तहरुले प्रहरी समक्ष बयान दिने गरेका छन । महिलाहरु जहिले पनि पुरुषको अधिनमा बस्नुपर्छ, भनेको मान्नुपर्छ भन्ने पितृ सत्तात्मक सोच पालेका व्यक्तिले अपराध गरेका भेटिन्छ ।
नेपालमा एसिड प्रहार गर्ने अभियुक्त र अपराधिलाई पीडितको घाउ र अबस्था हेरि दिने सजायले पीडितलाई जीन्दगीभर नपुरिने घाउमा सामान्य मल्हम पट्टी समेत लगाउन सकेको छैन । गम्भिर अपराधमा समेत कम सजाय हुने परिपाटिले एसिड आक्रमणका घटनाहरु झनै बढिरहेका छन ।
एसिड एक प्रकारको घातक रसायन हो । यसले शरीरका कोमल अंगहरुलाई क्षत विक्षत पार्छ । ज्यानमा लागेको यो घाउ अस्पतालमा स्वास्थ्यकर्मीहरुले मलमपट्टी लगाएर निको त बनाउन सक्छन । तर एसिडको चोटसँगै कुरुप ज्यानभित्रको मनमा मनमा जीन्दगीभर निको नहुने गरी बसेको घाउचोट र दागले सास नफुत्कुन्जेलसम्म जलाउने गर्छ । पीडित महिलाहरु शारीरिक मात्रै होइन, मानसिक रुपमा निकै पीडामा रहन्छन । त्यसका साथै घरपरिवार, समाज, साथि, संगिनी, आफन्तमा उसलाई फरक नजरले हेरिन्छ । सुन्दर मुहार र ज्यान हुदा बिबाहको लागि मरिमेट्ने पुरुषहरु एसिड आक्रमणबाट रुप बिग्रिएपछि दश हात पर भाग्ने मात्रै होइन, कुरुप भनेर हेला, अपमान, तिरस्कार समेत गर्न पछि पर्दैनन । पीडितलाई सजिलै रोजगारी दिने बाताबरण हुदैन जसले गर्दा उनीहरुलाई आत्मनिर्भर बन्न पनि समस्या हुने गर्छ । मानिसको असल गुण र चरित्रलाई भन्दा पनि मुहार हेरेर व्यवहार गरिने यो समाजमा घाउचोट बोकेको मुहार लिएर बाँच्नु अभिसाप नै हुन्छ । पीडितको छात्तिभित्र मुटु त धड्किन्छ, सास त चल्छ तर वरपरको परिवेश र मानसिक असरले जीन्दगी पलपल मरेर बाँच्नुपर्ने अबस्थामा लगिदिन्छ ।
एसिड पीडितहरुले भोग्दै आएका यस्ता बिबिध समस्याहरु सूक्ष्म ढंगले केलाउने हो भने आक्रमणमा संलग्न अपराधिलाई अहिलेको कानुनले व्यवस्था गरेको सजाय व्यवस्था निकै फितलो छ भनेर ठोकुवा गर्न सकिन्छ । त्यसमाथि न्याय दिलाउने निकायमा रहेकाहरु आर्थिक प्रलोभनमा परेर पीडकलाई उन्मुक्ति दिने घटनाहरु पनि हाम्रो समाजमा देखिएका छन । त्यसैले जवसम्म अपराधिहरुलाई कडा भन्दा कडा कार्वाही हुदैन, तबसम्म एसिड आक्रमण जस्ता जघन्य अपराधका घटनाहरु भइरहन्छन । यदी यस्ता घटनाहरुलाई तत्काल नरोक्ने हो भने कुनै पनि किशोरी, युवती कुनवेला, कहाँ, कस्ले एसिड खन्याउने हो ? थाहा छैन । घरबाट बाहिर निस्केपछि महिलाहरु बाटोमा कुनै अपरिचित, परिचित पुरुषलाई शंकाको नजरले हेर्दै त्रासमा हिड्नपर्ने अबस्था निम्त्यिएको छ ।
कहि पनि कुनै पनि भूगोलमा, क्षेत्रमा आफ्नो सुरक्षाको लागि सबैभन्दा पहिला महिला आफैले बिशेष साबधानीपूवर्क ध्यान दिन जरुरी छ । फेसवुक, कार्यस्थल, सभा, समारोह, सार्वजनिकस्थल, परिचित, साथि भाईमार्फत चिनेजानेका जो कोहिलाई सजिलै विश्वास गरी उनीहरुसँग प्रेम सम्वन्ध राख्ने, इशारामा नाच्दै स्वार्थपूर्ति र मनोरञ्जनका साधन बन्नु हुदैन । आफ्नो मनमा होस अथवा घरमा सामान्य चिनेजानेका मानिसलाई बढि विश्वास गरेर बोलाउने, कुनैपनि कार्यक्रममा सहभागि गराउने, उठबस गर्ने जस्ता कामहरु तत्काल बन्द गर्नुपर्छ । कुनै पनि सम्वन्ध र सरोकार नभएका अधिकांश पुरुषहरुमा सामान्य चिनजानका भरमा प्रेम प्रस्ताव राख्दै खोक्रो प्रंससा र प्रलोभनमा पारेर अनैतिक, अश्लिल सम्वन्ध राख्ने चरित्र हुन्छ भन्ने हरेक महिलाहरुले बुझ्न जरुरी छ । अगाडी प्रंससा र चिप्लो मिठो कुरा गर्ने र पछाडि स्त्रीको चरित्रलाई साथिभाई माझ खिल्ली, उपहाँस र मनोरञ्जनको साधन भन्दै आफुलाई मर्द ठान्ने पुरुषहरुको यो समाजमा कमि छैन । घरमा आउने आफन्त हुन वा चिनेजानेका हुन, कस्को चरित्र कस्तो छ ?, उस्को हाउभाउ, बोलि व्यवहारले घरका कलिला किशोरीदेखि युवतीहरुमाथि गिद्धे नजर लगाइरहेको हुनसक्छ भन्ने हेक्का राख्न जरुरी छ । आजभोलि जाति, धर्म, साथिभाई, सहकर्मी, ईष्टमित्र अनेक नाममा जमघट हुने र त्यस्ता भिडमा मित्रताको खोल ओढेर धेरै स्त्रीको जवानीदेखि धनमाल लुटेर घर न घाटको बनाई दिने पुरुषहरुको बिगबिगी नै छ यहाँ । संगत गर्ने पुरुषको चालचलन, चरित्र, राम्रोसँग नबुझिकन खोक्रो प्रेम प्रस्ताव र प्रसंसामा अन्धो भएर आफ्नो तन, मन, धन सुम्पिएका कारण धेरै महिलाहरु घर न घाटका भएका छन । कुनै पनि सम्वन्ध राख्दा भविष्यमा आइपर्ने दुर्घटनातर्फ पूर्व सचेत र सावधानी नहुने, नमिठा तर सत्य कुराहरुलाई कुल्चिएर अघि बढ्ने प्रवृत्तिले धेरै महिलाहरुको जीन्दगी नारकिय बनेको छ । जब हामी कुनै घटनामा पीडितमाथि अन्याय र अत्याचार भयो भनेर ठुलो स्वरमा वकालत गछौं तर त्यस्ता घटना हुनै नदिने वातावरण बनाउनेतर्फ खासै चासो दिदैनौ । घटना ताजा भइन्जेलसम्म चासो राख्ने र बिस्तारै बासी भएपछि बिर्सने बानीले पनि धेरैको जीन्दगी बर्बाद हुने गरेको छ । घटना जुनसुकै होस, जोमाथि घटछ त्यसको पीडा भोग्नेलाई नै थाहा हुन्छ तर हाम्रो समाजमा आफुलाई नपरेसम्म होस नखुल्ने र त्यही कुरालाई गम्भिरतापूर्वक लिएर मनन गर्ने बानी नै छैन । कुनै पनि समस्याको जड के हो ?, कहाँबाट शुरु भएको छ यसको जरा ?, त्यसलाई अझ फैलन नदिन के कस्ता उपायहरु अपनाउनुपर्छ ? कस्तो साबधानी अपनाउन सकिन्छ ? यस्ता अनेक पाटोहरु बारे सूक्ष्मढंगले बिचार, विश्लेषण गरेर निकास खोज्न जरुरी छ । घरपरिवार, समाज र देशभर हुने बिबिध खालका अपराधहरु कुनै एक व्यक्ति, समुह र राज्यको प्रयासले मात्रै निर्मुल हुन सक्दैन । त्यसका लागि सरोकारवाला निकाय र सवै क्षेत्रका मानिसहरुवीच सहकार्य, सद्भाव र सामुहिक प्रतिबद्धता अपनाउनु जरुरी छ । खाली ऐन, कानुन, प्रहरी, अड्डा अदालतले मात्रै सुरक्षा दिन्छ भन्ने सोचेर आफुले लार्पावाही गर्दै जाने हो भने त्यसबाट उत्पन्न हुने दुश्परिणामको शिकार तपाई, हामी आफै हुनेछौ । सबै समस्याको जडसम्म पुगेर समाधान निकाल्न सामुहिक प्रयास गरौं, एसिड आक्रमणसँगै सबै खालका अपराधबाट बचौ र बचाउ ।
-ज्योति नेपाली