काठमाडौंः चौतर्फि चर्को आलोचनापछि उद्योगमन्त्री गजेन्द्र हमालले ७२ घण्टा नवित्दै मन्त्रीपदबाट राजिनामा दिएका छन ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै राणा, उद्योगमन्त्री हमाल र प्रधानमन्त्री देउवाको चर्को आलोचना भएपछि राजिनामा आएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले आईतवार दश बजेपछि राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्।
प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेको भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उनले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिएका हुन्। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्।
सांसद नरहेका उनी गत २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए।
हमालले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। राजीनामा बारे के भन्छन त हमाल ? लौ पढनुहोस ।
तपाईले राजीनामा दिनु भएको हो ?
हो, मैले आफूलाई बिबादमा राख्न चाहेन, ममाथि लागेका जुन खालका ब्लेमहरु छन्, आरोप र आलोचनाले म आफूलाई बदनाम पार्न चाहेन, अनि मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ। अब मैले प्रधानमन्त्रीसमक्ष राजीनामा दिन्छु, यो मेरो अन्तिम निर्णय हो।
तपाईलाई राजीनामाका लागि दबाब पनि भएको हो ?
हैन मलाई पार्टीले सहयोग गरेर नै म मन्त्री बनेको हो। मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब आएको हैन। मेरो राजीनामाको कारण मेरो व्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन।
तपाई माथि लागेको कुन आरोपले तपाईलाई बदनाम महसुस गराएको हो ?
पहिलो कुरा त म राजनीतिमा लागेको मान्छे नै हैन भनेर जसरी आरोप लगाईयो, आलोचना गरियो, मलाई राजनीतिमा निष्कृय मान्छेलाई मन्त्री बनाईयो भनेर आरोप लगाईयो। यो आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महसुस भयो। अनि यो बाहेक अरु कुराहरु पनि छन् नि मेरो बारेमा आएका। तपाईलाई पनि थाहै छ होला नि।
तपाई कांग्रेस राजनीतिमा रहेको कुरा त साँचो हो नि ?
हो, यसको मूल्यांकन जनताले गरिरहेका छन्। मैले कांग्रेसका लागि गरेको योगदानका बारेमा। म बाँकेको पार्टी सभापति भएर पनि कार्यकाल पुरा गरेको मान्छे हुँ। तर त्यो बेला सुशील दाई सुशील कोइरालाले जिल्ला समिति भंग गर्नुभयो।
राजीनामाले त तपाई माथि लागेका आरोप झन पुष्टि गर्ला त ?
हैन, यो कुरा जनताले बुझ्नु हुन्छ। मेरो कारण वर्तमान सरकारलाई लज्जित र आलोचित कसरी बनाउन सक्छु । मैले पार्टीमा रहेर गरेको योगदान नेपाली जनताले बुझछन्। मैले जे गरे ठीक गरेको छु। यसले म माथि लागेको आरोपको पुष्ट्याईँ भन्दा पनि सरकार सञ्चालनका लाागि सहज बाटो बनाईदिएको भनेर म्यासेज जानु पर्छ।