काठमाडौँ – चर्को आलोचनापछि नियुक्ती भएको ७२ घण्टा नबित्दै उद्योगमन्त्रीबाट राजिनामा दिएका गजेन्द्रबहादुर हमालको राजिनामा स्वीकृत गरिएको
छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले राजीनामा गर्न अनुरोध गरेका थिए।
‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामापत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चारमाध्यायमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।’
हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका हुन्।
बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण उनले पद सम्हालेको ७२ घण्टामै राजीनामा दिएका हुन्।
नातामा राणाका जेठान हमाललाई मन्त्रीका रुपमा सामेल गर्दा नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाउ गरे तापनि न्यायिक क्षेत्रका एक वर्ग तथा सामाजिक सञ्जालमा त्यसको तीव्र आलोचना भइरहँदा हमालले राजीनामा दिएका हुन्।