बुटबल– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको ज्यान गुमेको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको ज्यान गुमेको सुरक्षा स्रोतले पुष्टि गरेको छ।
जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते भएकामध्ये तीन जनाको ज्यान गुमेको हो। उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतबार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भीड जम्मा गर्न र अनावश्यक भीड नगर्न प्रशासनले आग्रह गरेको छ।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।
प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो। झडपमा परी कम्तीमा ३४ जना घाइते भएका छन्।
घाइतेमध्ये १५ सर्वसाधारण र २१ प्रहरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ५ सर्वसाधारण र ८ प्रहरीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।
झडपमा प्रहरीले अत्याधिक बल प्रयोग दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ बर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।
बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले चर्को विरोध गरेका थिए।