बुटवलः मोतिपुर औधोगिक क्षेत्रमा आईतवार सुकुम्वासी र प्रहरीवीच दोहोरो झडपकाक्रममा प्रहरीले चलाएको गोली लागेर थप एकसहित चार जनाको मृत्यु भएको छ ।
प्रहरीको गोलीले लागेका मध्ये तीन जनाको अस्पताल लैजादै गर्दा बाटोमै र थप एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाले चार जनाको मृत्यु भएको पुष्टि गरेको छ। बाटोमै मृत्यु भएकाहरु मध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन् ।
मृत्यु भएकाहरु मध्ये कपिलबस्तुको बांणगंगाका ४८ बर्षिय रमेश परियारको मात्रै सनाखत भएको छ । अन्य तीन जनाको सनाखत हुन नसकेको अस्पतालका जनसम्पर्क अधिकृत शुशिल गुरुङले जानकारी दिए ।
झडपमा डेढ दर्जन बढि सर्वसाधरण र दुई दर्जन प्रहरी घाईते भएका प्रहरीले जनाएको छ ।
बुटवल वडा नं १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा सुकुम्वासीले बनाएको टहरा प्रहरीले भत्काएपछि शुरु भएको बिवाद चर्कदै गएर दोहोर झडपमा परिणत भएको थियो । सुकुम्वासीले प्रहरीमाथि डुंगा, ईटा, लाठि प्रहार गरेका थिए भने प्रहरीले अश्रुंग्याँस, लाठि र गोली चलाएका थिए ।
बुटवल मोतिपुरको झडपमा परि घाईते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरि १३ जनालाई मेडिकल कलेजमा ल्याईएको थियो, ति मध्ये ३ जनाको अस्पताल ल्याउंदा नै मृत्यु भईसकेको थियो।’ एकजनाको उपचारको क्रममा मृत्यु भएको हो-गुरुङले भने।
घाईतेमध्ये एकजना सर्वसाधारणको अवस्था गम्भिर रहेको छ भने अरु घाईतेहरुको अवस्था सामान्य रहेको गुरुङले जानकारी दिए।
स्थानीय प्रशासनले भने मृत्यु भएको बारे केही जानकारी दिएको छैन। रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झडपमा मृत्यु भएको बारे आफुलाई केहि थाहा नपाएको दावी गरे ।
झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।
प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।
यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।