स्याङ्जा — खचाखच यात्रु बोकेको जीप वालिङ नगरपालिका–१० मोदीखोलास्थित भित्रि सडक खण्डमा दुर्घटनाग्रस्त हुदा दुई यात्रुको मृत्यु भएको छ । घटनामा १७ यात्रु घाईते बनेका छन ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली छन् । घटनास्थलबाट गम्भिर अवस्थामा उद्धार गरिएका उनीहरुको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले १५ घाइतेको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी दिए । गम्भीर घाइते भएका गल्याङ–१० कै ४ वर्षीया करिष्मा थापा, २ वर्षीय अर्चल विकलाई थप उपचारका लागि मणिपाल मेडिकल अस्पताल पोखरा रिफर गरिएको अधिकारीले बताए । प्रहरीका अनुसार दुवै जनाको अवस्था गम्भीर छ ।
यस्तै घाइते हुनेमा ५५ वर्षीय रामबहादुर पल्ली, ३ वर्षीय किरण पल्ली, २४ वर्षीया तिर्सना विक, २२ वर्षीया विष्णु थापा, २७ वर्षीय अर्जुन थापा, ६० वर्षीया हुमा पल्ली, ५६ वर्षीया रिता गाहा, २२ वर्षीया पुष्पा पल्ली, ४५ वर्षीया भिमकुमारी पल्ली, २ वर्षीय एन्जल गाहा, ३ वर्षीया एमना पल्ली, ५५ वर्षीया लिलाकुमारी पल्ली र ३१ वर्षीय रुद्रबहादुर थापा रहेका छन् ।
यस्तै, वालिङ नगरपालिका–१० का २४ वर्षीया सपना थापा र २ वर्षीय नविन थापा रहेको प्रहरीले जनाएको छ । चालक रुद्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।