हिन्दूहरुको महान चाड वडा दशैं फेरि शुरु भईसकेको छ । असत्यमाथि सत्यको बिजय पर्वको रुपमा मनाउने धार्मिक परम्परा भएपनि यो पर्वसँग अनेक पक्ष जोडिएका छन । बिशेष गरी दशैंलाई मान्यजनको हातवाट टिका, जमरा ग्रहण गर्ने, मिठो परिकार खाने, र नयाँ नयाँ पोशाक लगाउने, घुमफिर गर्ने, घरटोल सिंगार्ने चलन छ ।
दशैंका अनेक सुखद् पक्षहरु भएपनि केहि दुःखद् प्रवृत्ति पनि योसँग जोडिएको छ । दशैंमा बलि चढाउने नाममा निरीह प्राणीहरुको काटमार गर्ने, रक्सी, मासुको सेवन गर्ने, जुवातास खेल्ने, गहना, पोशाकको भड्किलो प्रर्दशन गर्ने लगायतका खराव प्रवृत्ति पनि देखिने गरेको छ ।
विश्वमा व्यापक रुपमा फैलिएको कोरोना संक्रमणको दर अहिले केहि कम भएको छ । संक्रमित र मृतकको संख्या विगतको तुलनामा घटेसँगै यसपालिको दशैं अलि खुल्ला ढंगले मनाउने बाताबरण बनेको छ । त्यसैले दशैंलाई धुमधामसँग मनाउन अहिले बजारमा किनमेल गर्नेहरुको घुईचो लागेको छ । खाद्यान्न पसल, कपडा पसल, रंग पसल, बैंक, सहकारीहरुमा मानिसको बाक्लो भीड लागेको छ । यस्तो भीडमा जाँदा मानिसले कोरोनाबाट र चोरी, लुट, ठगिबाट बच्न पूर्ण शर्तकता र सुरक्षाको मापदण्ड कायम गर्न जरुरी छ ।
बजारमा अहिले सबैभन्दा बढि ग्राहकको भीड देखिन्छ । विभिन्न थरीका खानेकुरा आफु र पाहुनालाई खुवाउन मानिसहरु ऋणधन गरेर भएपनि दोकानमा पुगेका छन । मानिसहरु आफ्नो क्षमता अनुसार सामान्यदेखि डिपार्टमेन्टल स्टोर्ससम्म पुगेका छन ।
कपडा किन्न पनि मानिसहरु फुटपाथदेखि सुपरमार्केटसम्म पुगेका छन । यो बेला व्यापारीहरुले सामाग्रीको भाउ बडाएर र कमसल सामानलाई मंहगोमा बेचेर नाफा कमाउन खोज्ने भएकोले ग्राहकहरु अलि बढि सचेत बन्न जरुरी छ । यसैगरी मासु पसलमा पनि सडेगलेको र फोहोर हुन सक्ने भएको र त्यसवाट अनेक रोग लाग्न सक्ने भएकोले स्वास्थ्य र सरसफाईमा विशेष ध्यान दिन जरुरी छ ।
जथाभावी रक्सी र मदिराजन्य पदार्थ सेवन गरेर हिडदा झै झगडा, कुटपीट हुने र सवारी दूर्घटनामा पर्नसक्ने भएकोले पनि बिशेष ध्यान नदिए क्षति व्यहोर्नुपर्ने हुनसक्छ । टिका थाप्न गाउँतिर जाने चलन भएकोले बजारमा घर हुनेहरुले आफ्ना सामानको सुरक्षाका लागि घरको झ्याल ढोका राम्रोसँग बन्द गरेर र जिम्मेवार व्यक्तिलाई जिम्मा दिएर छोडनुपर्ने हुनसक्छ ।
राज्यका निकायले पनि बजारमा उपभोक्ता ठगिन नदिन अनुगमन र वस्तुको परीक्षणमा बिशेष ध्यान दिनुपर्छ । प्रहरीले नागरिकको शान्ति सुरक्षाको लागि जोखिमपूर्ण स्थानको पहिचान गरी प्रहरी परिचान गर्नुपर्छ ।
दशैंमा देखिने दुःखद् पक्षहरुमध्ये पशुपंछीको बलि र काटमार बड्दो छ । मासुका लागि खुल्ला स्थानमा निरीह प्राणीको बध गरेर काटमार गरेको देख्दा असत्यमाथि सत्यको जित होईन, सत्यमाथि असत्यको जित भएको देखाउँछ । यो धर्ती सबै प्राणीहरुको साझा घर हो । मानिसले मात्रै होईन सबै प्राणिले समान ढंगले बाँच्न पाउनुपर्छ । मानिसले जतिसुकै धर्म र ज्ञानका कुरा गरेपनि जवसम्म हिंसाको बाटो त्याग्न सक्दैन तवसम्म आफु र मानव समाजलाई सुख, शान्ति र समृद्धितिर लैजान सक्दैन । त्यसैले कुनै पनि चाडपर्व, धर्म, संस्कृति, परम्पराको नाममा निरीह प्राणीको हत्या गर्ने काम बन्द गरौं । वडा दशैंलाई अरु प्राणीहरुको लागि दशा नवनाऔं । सबैले सुख, शान्ति र समान ढंगले बाँच्न पाउन सबैलाई वडा दशैंको हार्दिक मंगलमय शुभकामना ।
दशैं कसैको दशा नवनोस
दशैं कसैको दशा नवनोस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु