महोत्तरीः अहिलेको जमानालाई बिज्ञान र प्रविधिको युग भनिएपनि नेपालको परिवेशमा भने अझै कुरीति, कुसंस्कार र अन्धविश्वासले जरो गाडेको पाईन्छ । शदीयौंदेखि समाजमा चलिआएका अन्धविश्वास र कुरीतिको कारण कतिपय मानिसले जंगली वर्वर यातनासँगै ज्यानै गुमाउनु परेको छ ।
नेपालमा शहरदेखि गाउँका विभिन्न स्थानमा अझैपनि जातिय विभेद, बोक्सी प्रथा, दाईजो प्रथा, लैंगिक विभेद जस्ता अनेक कुरीतिले जरो गाडेका पाईन्छ । पछिल्लो समय महोत्तरीमा बोक्सी प्रथाको जगमा एक महिलामाथि वर्वर जंगली पाराले हत्या भएको छ भने अर्की महिलालाई कुटपीट गरी चरम यातनासहित मानव मलमूत्र खुवाईएको छ ।
महोत्तरीमा बोक्सी आरोपमा शिलादेवी झाको हत्या भएको हो । सुकमरिया देवीलाई बोक्सी आरोपमै मलमुत्र खुवाई कपाल काटेर कुटपीट समेत गरिएको प्रहरीले जनाएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका ३ मडैकी ४२ वर्षीया शिलादेवी झाको हत्या उनकै देवर ४२ वर्षीय संजय झाले गरेको प्रहरीले आइतबार खुलासा गरेको हो।
श्रीमती रिंकु झालाई टुनामुना लगाएको निहुँमा संजयले असोज २८ गते बिहान ३ बजे घरमै सुतिरहेको बेला आफ्नै भाउजू शिलादेवीको हथौड़ाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।सोही आरोपमा प्रहरीले अभियुक्त संजयलाई सार्वजनिक गरेको छ।
त्यसभन्दा एकदिन अघि बुधबार बिहान ३ बजेकै समयमा महोत्तरीकै जलेश्वर नगरपालिका ४ सुगा गाउँकी ४२ की सुकमरिया देवीलाई बोक्सी आरोपमै मलमुत्र खुवाई कपाल काटेको घटना पनि सार्वजनिक भएको छ। बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा स्थानीय सिकिन्दर महत्तो समेतले बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दर महत्तोकी छोरी १३ वर्षीया काजल कुमारी रुन थालिन्। सोही बेला सिकिन्दरसमेतले सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिकिन्दर, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महत्तो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महत्तो, २० वर्षीय अनिल महतोलाई पक्राउ गरेको छ।
तीनैजनालाई प्रहरीले आइतबार सार्वजनकि गरको छ।
प्रहरीले घटनास्थलबाट पीडितलाई बाँध्न प्रयोग भएको नाईलनको डोरी, पीडितको काटिएको अबस्थाको कपालका टुक्राहरू, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतल समेत नियन्त्रणमा लिएको छ।