अस्थी रोग (Osteoporosis) के हो ?
अस्थी रोगलाई अंग्रेजीमा Osteoporosis भनिन्छ जसको शाब्दिक अर्थ छिद्र परेको हड्डी हो । अस्थी रोग हाड सम्बन्धिको एक प्रगतिशिल रोग हो जसमा हाडको खनिज पदार्थको कमि हुदै जान्छ र हाडका तन्तुहरुमा नकारात्मक परिवर्तन आउंदै जान्छ जसले गर्दा हाड एकदमै कम्जोर हुने र सानो तिनो झट्काले पनि भाचिने हुन्छ । किनकि हड्डी बिस्तारै मक्किदै गरेको काठको जस्तो अवस्थामा रहन्छ।
हाडको घनत्व भनेको के हो र यसलाई केले असर गर्छ ?
हाडको घनत्व भनेको हाडमा रहेको खनिज पदार्थ विशेस गरेर क्याल्सियेम र फोस्फोरसको मात्रालाई बुझ्नुपर्दछ। हामी तीस वर्षको पुग्दा हाडको घनत्व अधिकतम मात्रामा पुग्ने गर्छ र उमेर हुदै जादा यो प्राकृतिक रूपले नै घट्दै जान्छ। तर महिलाहरुमा रजस्वला सुक्ने (menopause) उमेरका विरपरि हाडको घनत्व घट्ने रफ्तार निकै चाडो हुन्छ र पुरूषहरूमा भन्दा अस्थी रोग हुने सम्भावना बढेर जान्छ । त्यस्तैगरी धुम्रपान गर्ने, मध्येपान गर्ने, स्टेरोइडको अधिक प्रयोग गर्नुपर्ने रोगहरु जस्तै दम, बाथ, मृगौलाको रोग, अटोइम्युन रोगहरुमा पनि अस्थी रोग हुने सम्भावना बढ्छ । यसका साथै गतिहीन जीवनसशैली र कार्वोनेटेड पेय पदार्थको अत्यधिक प्रयोगले पनि हाडको घनत्व घट्ने प्रक्रियालाई टेवा पुराएको हुन्छ ।
अस्थी रोगका लक्षण के के हुन?
यस रोगमा लक्षणहरू अन्य रोगमा जस्तो सुरूमा देखिदैनन् । प्राय बिरामीहरू ढाड दु:खेर, ढाड कुप्रो परेर र सानो तिनो चोटपटकले पनि कम्मर, ढाड र नाडीको हड्डी भाचिएर आउछन् । यसरी थाहै नपाई हाड मक्किदै जाने हुनाले विश्व स्वस्थ्य संगठनले यसलाई मौन महामारी (silent epidemic) को संज्ञा दिएको छ ।
अस्थी रोग कसरी पत्ता लाग्छ?
यो रोग पत्ता लगाउन माथि उल्लेखित लक्षण तथा जोखिम भएका बिरामीहरुलाई हाडको घनत्व पत्ता लगाउन गरिने डेक्सा (DEXA) स्क्यान गर्दा पत्ता लाग्छ (विश्व स्वस्थ्य संगठन अनुसार डेक्सा (DEXA) स्क्यानमा T-score of -2.5 or lower is diagnostic for osteoporosis) । तर डेक्सा (DEXA) स्क्यान प्रविधि आफैमा खर्चिलो साथै बिरलै मात्र उपलब्ध हुने हुनाले लक्षण र सामन्य एक्सरेका आधारमा उपचार गर्नुपर्ने बध्येता छ।
अस्थी रोगको उपचार के हो ?
अस्थी रोग उपचारका लागि हाडको घनत्व बढाउने सहयेग गर्ने औषधि प्रयोग गरिन्छ । क्याल्सियेम, भीटामिन डीथ्री, बिस्फस्फोनेटका साथै प्याराथर्मन हर्मन र रजस्वला सुकेका महिलाहरुलाई यस्ट्रोजेन हर्मन दिर्इन्छ।
अस्थी रोगको रोकथामका उपाय के के हुन ?
दैनिक सरिरिक व्ययाम गर्नु , पोषिलो खाने कुरा खानु विषेस गरि क्यल्सियेम भएका खाने कुरा जस्तै दुध र दुध जन्य खानेकुरा जस्तै दहि, महि, चिज, पनिर, गेडागुडी, भटमास, तोफु, आलमन्ड आदि। साथै धुम्रपान र मधेपान त्याग्नु यसका लागि अपरिहार्य रहन्छन। दैनिक बिहानको घाममा १०/१५ मिनेट बस्नाले भिटामिन डी पाइने र यसले सरिरमा क्यल्सियेम सोसनमा भूमिका खेल्ने हुनाले घाममा बस्नु पनि अस्थी रोगको रोकथामको एउटा खम्बाको रूपमा रहन्छ। उमेर भएका र रोगि अवस्थामा रहेका मानिषहरुले माथि भनेको जस्तै बेलैमा आफ्नो जीवनशैली वद्लेर अस्थी रोगको रोकथाम भने अवश्य गर्न सक्छन्।
अन्त्येमा…
बढ्दो आधुनिक जीवनशैली र बढ्दो आयुले गर्दा हाम्रो समाजमा पनि अस्थी रोग बिकराल रूपमा बढी रहेको छ। त्यसैले बेलैमा आफ्नो जीवनशैली परिवर्तन गरेर खानामा क्यल्सियेम र भीटामिन डी युक्त खाने कुरा खाने, दैनिक व्ययाम गर्ने, घाममा बस्ने गर्नुपर् । र यसको उच्च जोखिम भएका व्यक्त्ति (जस्तै दम, बाथ, मृगौलाको रोग, अटोइम्युन रोगहरु र रजस्वला सुकेका महिलाहरु) ले बेलैमा चिकित्सकिय परामर्श लिएर समयमै रोकथाम तथा उपचार गर्न सकिन्छ।
(डाक्टर थापा त्रिवि सिक्षण अस्पतालको हाड जोर्नी विभागका विशेषज्ञ चिकित्सक हुन् । उनी आफ्नो अतिरिक्त समयमा चिरायु अस्पतालमा विशेषज्ञ सेवा दिन्छन् ।)