काठमाडौं- बेमौषमी बर्षाका कारण उत्पन्न प्रकोपमा परेर देशका विभिन्न स्थानमा बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन । गत सोमबारदेखि अबिरल परेको बर्षाले आएको बाढि, पहिरो र डुवानमा परेर मृत्यु हुनेको संख्या ७७ पुगेको छ । २६ जना बेपत्ता र २२ जना घाईते बनेका छन ।
गृहमन्त्रालयले अहिलेसम्म सबैभन्दा धेरै पाँचथरमा क्षति पुगेको जनाएको छ । पाँचथरमा २४, इलाममा १३, डोटीमा १२, धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।
यसैगरी बाढि र पहिरोमा परेर बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक-एक जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५-५, बैतडी र इलाममा २-२, कालीकोट र डडेलधुरामा एक-एक जना घाइते भएका छन् ।
साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।
बझाङको थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा परेर बेपत्ता भएका २३ जनाको पहिरोस्थलमा बुधबार खोजी गर्दै स्थानियहरु ।
कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये सल्यान कपुरकोट गाउँपालिका-५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका(४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका-४ अर्खलेबेशीस्थित बेसिशहर मनाङ सडक खण्ड, बैतडी दोगडा केदार गाउँपालिका-६ सल्सेना र चम्तडी भन्ने स्थानमा, ईलाम देउमाई नगरपालिका-३ मुलख्रर्कस्थित झुत्रेखोला नजिक नेपालटार(मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका-६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका(५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।