पोखराः रारा चाउचाउ उद्योग खोलेर दक्षिण एसियामै नेपाललाई पहिलोपटक चाउचाउ उद्योग खोल्ने देश भनेर चिनाएका गण्डकी नुडल्सका संस्थापक अध्यक्ष फणीन्द्रमान श्रेष्ठको बुधबार निधन भएको छ ।
लामो समयदेखि पाचन र पिसाव सम्वन्धि रोगले पीडित श्रेष्ठको शिक्षण अस्पताल काठमाडौंमा उपचारकोक्रममा मृत्यु भएको हो ।
बेलायती सेनाबाट अवकास लिएपछि फणीन्द्रमान श्रेष्ठले सूर्यबहादुर केसी, कृष्ण आचार्यलाई साथ लिएर रारा चाउचाउ उद्योग खोलेका थिए । श्रेष्ठले विदेशमा रहँदा चाउचाउको स्वाद चाखिसकेका थिए । त्यसैले चाउचाउ उद्योगमा लगानी गर्न राजी भए । लगानी गर्न उनीजस्तै बेलायती सेनाबाट अवकाशप्राप्तको घुइँचो लाग्यो ।
१९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडामा फणीन्द्रमानको जन्म भएको थियो । उनी २०३३ सालमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदै २०४१ देखि २०४७ सम्मको कार्यकालमा उपाध्यक्ष भएका थिए । उनी २०४७ देखि २०४९ सालसम्म संघको अध्यक्ष भएका थिए ।
गण्डकी ब्रिक फ्याक्ट्रीका साथै शक्ति ग्यास कम्पनी, पोखरा म्याकरोनी प्रोडक्ट प्रालि, त्रिशक्ति सोप एण्ड केमिकल कम्पनीमार्फत् निलगिरि साबुन उत्पादन औद्योगिकीकरणप्रति उनकै लगावकै परिणाम थिए । पछि उनले अनुपम फुड्स प्रालि र नेपाल स्न्याक्स प्रालि स्थापना गरी चाउचाउ उत्पादन गरेका थिए ।
पोखरा सभागृह निर्माणताका उनी निर्माण समितिको सदस्य, पोखरा ब्लड बैंक निर्माण समितिका संयोजक, सत्य साइ केन्द्र पोखराका अध्यक्ष पनि थिए ।
जन्मथलो फुस्रेगाउँमा प्रागांंरिक खेती गर्दै आएका उनी गाउँलेका लागि प्रेरणादायी थिए । पोखरा उद्योग वाणिज्य संघले पूर्वअध्यक्ष श्रेष्ठको निधनमा शोक व्यक्त गरेको छ । संघका महाससचिव सुरेन्द्रमान बिजुक्छेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ ।’ दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघले सचिवालयमा रहेको झण्डा आधा झुकाएर सम्मान श्रद्धाञ्जली व्यक्त गरेको थियो । स्वर्गीय श्रेष्ठका एक छोरा र एक छोरी छन् ।