पोखराः दिउँसो अलि उज्यालो बनेको पोखराको मौषम अपरान्ह् चार बजेतिर कालो निलो हुँदै एका एक पानी दर्कन थाल्यो । अब त पानी पर्न वन्द होला भनेर छाता र बर्षाती नवोकिकन बजारमा निस्केका सर्वसाधरण रुझ्दै र भिज्दै हतार हतार गन्तव्यतिर लम्किरहेका थिए । कोहि पसलका छिडिंमा ओत बसेर बर्षाबाट जोगिएका थिए । झमझम पानी परिरहेकै बेला पोखराको मानवअधिकार चोकमा शनिवार अपरान्ह् भने एउटा अनौठो दृश्यले सबैको ध्यानाकर्षण गरायो । दर्के झरीको पर्वाह नगरिकन रुझ्दै र भिज्दै आधा दर्जन बढि युवाको समुह अनौठो भेषमा न्यायको आवाज उठाइरहेका थिए ।
हरेक खालका विभेदका विरोध र सामाजिक न्याय अनि समानताका लागि पोखरेली युवाहरुको सक्रियतामा गठित आवाज नामक संस्थाको अगुवाईमा गरिएको प्रर्दशनमा सात जना युवा लस्करै उभिएका थिए । नारावाजी बिना मौन बसेका युवाहरुको हातमा जातिय विभेदका विरुद्ध लेखिएका पोष्टर ज्यानमा लगाएको सेतो कपडामा रातो रंगले मुक्ति कहिले ? लेखिएको थियो । यसको सन्देश थियो दलित समुदायले मुक्तिका लागि अझै कहिलेसम्म रगतको खोलो बगाउने ? अनि दलित समुदाय कहिलेसम्म विभेदको शिकार बनिरहने ?
आवाज समुहका अध्यक्ष प्रकाश सुनारले भरतपुरमा भिम विश्वकर्मालाई मन्दिरमा जातिय विभेद गर्दै हत्या गरिएको घटनाको बिरोधमा प्रर्दशन गरिएको वताए । उनले राज्यले घटनाका दोषिहरुलाई कडा भन्दा कडा कार्वाही गरी पीडित परिवारलाई न्याय नदिएमा थप शशक्त बिरोध प्रर्दशन गरिने जानकारी दिए । दुर्गाको मन्दिरमा दलितले पनि बोकाको बलि चढाउन पाउनुपर्ने माग राख्दा कथित उपल्लो जातिका व्यक्तिवाट चितवनको भरतपुर महानगरपालिका ४ का ५८ बर्षिय भिमबहादुर विकको हत्या गरिएको थियो ।
हो, यो त्यही मानवअधिकार चोक हो जहाँ धेरैजसो हरेका खालका अन्याय, अत्याचार र विभेदका विरुद्ध हरेक दल, संघसंस्थाहरु जमघट हुने गर्दछन । सामाजिक जागरण र सन्देश प्रवाह गर्न पनि धेरैले यति ठाउँ रोज्दछन । ज्ञानेन्द्रको निरकुंश शाषनको बेला यही चौतारा र चोकवाट आन्दोलनको विगुल घन्किएको हुनाले यस ठाउँलाई मानवअधिकार चोक भनेर नामाकरण गरिएको छ ।
न्यायका लागि झरीमा रुझ्दै आवाजको प्रर्दशन
न्यायका लागि झरीमा रुझ्दै आवाजको प्रर्दशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु