काठमाडौ-भारतसँग खुल्ला सिमाना जोडिएको फाईदा उठाउँदै धमाधम बिदेशी नागरिक भित्रिन थालेपछि नेपाल सरकारले परिचयपत्र बिना कोठा भाडामा नदिन उर्दि जारी गरेको छ ।
गैैर कानुनी रुपमा विदेशी नागरिक नेपाल भित्रिन थालेपछि आन्तरिक सुरक्षामा समस्या उत्पन्न हुनसक्ने अबस्थालाई हेर्दै गृहमन्त्रालयले परिचयपत्र नभएकालाई घर भाडामा नदिन आग्रह गरेको हो ।
११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको भेटिएपछि घर भाडा लगाउँदा अनिवार्य परिचयपत्रको व्यवस्था गरिएको हो । गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि समेत अनुरोध गरेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ ।’
भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानुनी रुपमा नेपाल भित्रिएका ११ अफगान ‘शरणार्थी’ सोमबार सिनामंगलबाट पक्राउ परेका थिए ।
प्रहरीले उनीहरुलाई प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ । कात्तिक ४ र असोज तेस्रो साता उनीहरु बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एपीएफको संयुक्त प्रयासमा एकै परिवारका ५ सहित ११ अफगान नागरिक सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ परेका थिए । अध्यागमन विभागले उनीहरुमाथि विदेशी नागरिक नियमन गर्ने सम्बन्धी प्रचलित कानुन अनुसार कारबाही हुने जनाएको छ ।