ईलामः अहिलेको जमाना बिज्ञान र प्रविधिको मानिएपनि अझैपनि अन्धविश्वास र कुरीतिलाई पछ्याउनेहरुको कमि छैन नेपालमा ।
अशिक्षा र रुढीवादी परम्पराले गर्दा अनाहकमा कतिपयको ज्यान जानुका साथै धेरैले दुःख, पीडा, यातना सहेर बाँच्न बाध्य छन ।
ईलाममा अन्धविश्वासलाई पछ्याउँदै आएका एक झाँक्रिले आफ्नै श्रीमति र छोरीलाई टोकेर मारेका छन । झारफुक गर्ने क्रममा देउमाई नगरपालिका वारुङ का ३३ बर्षिय कमल तामाङले आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेका हुन ।
अभियुक्त कमलले घरका सदस्यहरुलाई राखेर वेला वेलामा वेहोस भइरहने श्रीमति र छोरीलाई भूतप्रेत लागेको भन्दै टोकी टोकी हत्या गरेका प्रहरीले जनाएको छ । कमलको टोकाईवाट गम्भिर घाईते बनेका सिता र शिक्षाको घाँटी र शरीरका विभिन्न भागमा टोकेका कारण ज्यान गएको प्रहरीले जनाएको छ ।
तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ । घटना बिहानै भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले अभियुक्त कमललाई ज्यान मारेको अभियोगमा घरबाटै पक्राउ गरेको
थियो । घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।