काठमाडौँ -कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले विहीबार १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गरेको हो । जसअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार २१ मंसिरबाटै निर्वाचन प्रक्रिया सुरु हुनेछ भने २५ गते निर्वाचन हुनेछ । ‘कार्यतालिका ल्याएका छौं । एकदमै थोरै समयमा अन्य निर्वाचनका मिति र कार्यक्रमहरु समेतलाई ध्यानमा राखेर महाधिवेशनको कार्यक्रम बनाएका छौं, ’ घिमिरेले भने ।
उनका अनुसार ७ वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । त्यो भन्दा तल्ला तहको अधिवेशन भने जिल्लाहरु अनुसार तोकिएको छ ।