काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजिनामाको बिषयलाई लिएर सर्वोच्चको नेपाल वार एसोसियसनमा दुई धार देखिएको छ ।
एकथरीले प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने मागसहित पाखुरामा कालो पटटी बाँधेर सर्वोच्चमा बिरोध जनाएका छन भने अर्कोतर्फ राजिनामा मागिएको बिरोध गर्दै चोलेन्द्रको समर्थनमा सेतो पटटी बाँधेर प्रर्दशन गरेका छन ।
जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गरेको छ । बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने बारको कार्यक्रम छ । धर्नाका बीच मंगलबार विरोधसभा पनि गर्ने बारको निर्णय छ ।
‘मिति ०७८ कात्तिक १४, १५, १६ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने,’ बारले पदाधिकारी बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस अवधिमा पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारको योजना छ । इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने गरी बारले छलफल गरिरहेको छ ।
‘अहिले हामीले घोषणा गरेका कार्यक्रमहरू सर्वोच्चकेन्द्रित मात्र छन् । अन्य अदालतका सेवाग्राहीलाई मर्का नपरोस् भनेर तिहारसम्म धर्नाको कार्यक्रम सार्वजनिक गरेका हौँ,’ बारका महासचिव लीलामणि पौडेलले भने, ‘१८ कात्तिकबाट तिहार बिदा सुरु भएपछि २२ गते मात्र सर्वोच्च खुल्छ । त्यतिवेलासम्म पनि प्रधानन्यायाधीशको राजीनामा नआए हामी बैठक बसेर कडा आन्दोलनका कार्यक्रम तय गर्छौँ ।’
प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको निर्णयविरुद्ध सेतोपट्टी बाँधेर प्रदर्शन
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले धर्ना गरिरहेको वेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेको हो।
संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति उनीहरूले असहमति राखेका हुन्। बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहँदा अर्को समूहले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको हो।
बारका सबै मागप्रति सहमत नभएका केही कानुन व्यवसायीहरूले भने हातमा कालो र सेतो दुवैपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन्।