बझाङ-पहिरो पीडितहरुका लागि राज्यले सुरक्षित स्थानमा सार्ने व्यवस्था नगर्दा खप्तडछन्नाका जोखिमपूर्ण घरमा जोखिम मलेर बस्न बाध्य भएका छन ।
हालैको बेमौषमी बर्षाले गाउँमा ठुलो मात्रामा धनजनको क्षति गरेपछि गाउँलेहरु फेरि पहिरोमा परेर नोक्सानी व्यहोर्नुपर्ने चिन्ताले पिरोलिएका छन ।
खप्तडछान्ना गाउँपालिका—१ की जयन्ती जोशीले बस्तीभन्दा माथि र तलतिरवाट एकैचोटि पहिरो जाँदा घरहरु भग्नावशेष बनेपनि राज्यले चासो नदिदा ज्यानको बाजि लगाएर बस्नु परेको दुःखेसो पोखिन ।
कात्तिक २ मा आएको पहिरोले खप्तडछान्ना–१ मसुराडी गाउँका चार घर भत्किएका थिए । २२ घर मुक्तहलिया बस्दै आएको यो बस्तीमा अधिकांश घरहरु बाढि र पहिरोको जोखिममा छन । कसैका घर भासिएका छन् भने कुनै घर चर्किएका छन् । कुनै घर अगाडिबाट हेर्दा सद्दे जस्ता देखिए पनि पछाडी भ्वाङ परेका छन् । कुनै घरको आँगन नै पहिरोले लगेको छ ।
उतिवेला मध्यरातमा पहिरो जाँदा कोही गाउँमाथिको डाँडाबाघ देउताको मन्दिरको चौरमा त कोही परिवार स्थानीय बागेश्वरी आधारभूत विद्यालयमा गएर ज्यान जोगाएका थिए । चार दिनसम्म खुला चौरमा बसेका हलिया परिवार वर्षा रोकिएपछि बस्तीमा फर्केका छन् । पहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारलाई छिमेकीले शरण दिएका छन् ।
हलिया हुँदा मालिकले बस्न जग्गा दिएका थिए । त्यसैमा मुक्त हलिया पुनःस्थापना कार्यक्रमको सहयोगको रकमले घर बनाएका उनीहरूको घडेरी अझैसम्म आफ्नो नाममा छैन । विकल्प नभएपछि धरापमा ओत लाग्नुपर्ने बाध्यतामा मसुराडीवासी छन् । ‘अन्त टाउको लुकाउने ठाउ कतै छैन । केटाकेटीहरू चिसोले बिरामी हुन थालेपछि मरे पनि मरौला भनेर भत्केकै घरमा बस्न थालेको हौं,’ रति कामीले भने, ‘सबैका घरको अगाडि पछाडिबाट पहिरो लागेको छ ।
गाउँ जेबाला धराप थापे जस्तो छ । घरमा बसे पनि डरले निद्रा लाग्दैन ।’ कतिपय परिवार राति सुत्ने बेलामा आफ्नोभन्दा कम जोखिम भएको घरमा आएर सुत्ने गरेका छन् । ‘जसको घरमा सुते पनि उस्तै जोखिम छ,’ चार जना बालबच्चासहित छिमेकमा शरण लिएकी बसिरहेकी काली कामीले भनिन्, ‘बसिरहेका बेला बाहिर कुनै ठूलो आवाज आए पनि बच्चाहरू तर्सिने गरेका छन् ।’
यही वडामा पर्ने डाँडागाउँको अवस्था पनि उस्तै छ । गाउँभरि दर्जन बढी ठाउँमा सानाठूला पहिरो खसेका छन् । सबैजसो घर चर्किएका छन् । कतिपय घर भासिएर बाँगो भएका छन भने पहिरोले च्याप्पिएर कतिपय घरको झ्यालढोका खोल्न नमिल्ने अवस्थामा छन् । २५ परिवारको बसोबास रहेको यो गाउँमा एउटा पनि घर जोखिममुक्त छैन । गाउँ नै पहिरोबीचको टापु जस्तो भएको छ । खप्तडछान्नाकै खातीगाउँको हालत पनि उस्तै छ । जडारी गाडमा आएको बाढीले यही गाउँका १२ वटा घर–पसल बगाएको थियो । बचेका घरहरू पनि खोलाको डिलमा पुगेका छन् ।
बालुवाको डिल जोडले हावा चले पनि खस्न थालेको छ । यो गाउँका २० भन्दा बढी घर जोखिममा छन । बाढीले ३ सय रोपनीभन्दा बढी जमिन बगाउँदा यो गाउँका ३० भन्दा बढी परिवार सुकुम्बासी भएका छन् । ‘आधा गाउँ बाढीले लगिसक्यो । बचेका घरहरू दुई–चार घण्टा ठूलो वर्षा भए पनि भत्किने अवस्था छ,’ स्थानीय राजेन्द्र खातीले भने । बाढीपहिरोको जोखिममा रहेका यस गाउँपालिकाका पसलबगर, बाँगापाटा, गडीगाउँ, कडाँलगाउँ, कालु खेती, ऐचेली, द्यालीलगायत दर्जन बस्ती नै सार्नुपर्ने अवस्थामा छन् ।
गाउँपालिकाको तथ्यांकअनुसार १ सय ५३ परिवारका ८ सय ८७ जनाभन्दा बढी अहिले पहिरोले आंशिक क्षति पुर्याएको घरमा बसिरहेका छन् । ‘कतिपय गाउँहरू हिउँदे वर्षामै पनि पहिरोले बगाउने अवस्थामा पुगेका छन् । मैले आफैं गएर तपाईंहरू सुरक्षित ठाउँ खोजेर सरिहाल्नुस् भनेको छु,’ गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भने, ‘गाउँपालिकाकै स्रोतले बस्ती सार्न सक्ने अवस्था छैन ।’ कतिवटा बस्ती यस्तो खालको जोखिममा छन् भनेर पालिकाले तथ्यांक संकलन गर्ने उनले बताए ।
जीर्ण जोखिम घरमा बस्दै पहिरो पीडितहरु
जीर्ण जोखिम घरमा बस्दै पहिरो पीडितहरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु