मानिस र कुकुरको सम्वन्ध आदीमकालदेखि घनिष्ठ रहदै आएको छ । मालिकप्रति वफादार, ईमान्दार घरपालुवा जनावर हो कुकुर । आदीमकालमा कुकुरलाई मानिसले शिकार खोज्न र मार्न प्रयोग गर्दै आएकोमा अहिले अपराध अनुसन्धान, सुरक्षामा परिचालन गरेको पाइन्छ ।
बाहिरी मानिस र जनावरहरुवाट घरपरिवारको सुरक्षा गर्ने र खतरा आई परेमा संकेत दिने भएकोले धेरै मानिसले कुकुरलाई परिवारको सदस्य जस्तै माया, प्रेम गरेर पालेका हुन्छन ।
कुकुर र मानिसको सम्वन्ध नौ हजार बर्ष पुरानो
कुकुरलाई मानिसको सबैभन्दा नजिकको पशु मानिन्छ । विभिन्न धर्मावलम्वीहरुले अलग अलग खालका जनावरहरुको पुजा गर्छन् र तिनीहरुलाई विशेष महत्व दिन्छन् । तर, कुकुर मात्रै यस्तो पशु हो, जुन सबै धर्म मान्ने मानिसहरुको लागि प्रिय छ, उत्तिकै महत्वपूर्ण छ ।
तपाईले कहिल्यै अनुमान गर्नु भएको छ, कुकुर र मानिसको यत्ति प्रगाढ सम्वन्ध कहिले देखिको हो ? विभिन्न अनुसन्धानहरुले मान्छेले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरूसंगको सम्वन्ध प्रगाढ बन्न थालेको बताएका छन् । त्यो अनुसार करिब ९ हजार वर्ष अघिदेखि मानिस र कुकुरको सम्वन्ध घनिष्ट भएको अनुमान गरिएको छ ।
जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट भेडा बाख्रा धपाउँदै निस्किए, उनीहरूको साथमा कुकुरपनि साथ लागेको वैज्ञानिकहरूले बताएका छन् ।
अनुसन्धानहरुले मध्य पूर्व अर्थात् हालको इराक, सिरिया, लेबनन, जोर्डन, इजरेल र इजिप्टको फर्टाइल क्रेसेन्ट भनिने उर्बर भूमिक्षेत्रबाट खेती किसानी सुरु भएको देखाएका छन् । त्यतिखेरसम्म ‘हन्टर ग्यादर’हरुरु भनिने घुमफिर गर्दै शिकार गरेर पेट पाल्ने चलनमा अभ्यस्त मानवजाति विस्तारै एकै ठाउँमा बस्न थालेका थिए । त्योसंगै उनीहरुले विस्तारै तिनले गहुँ, जौ, कोसा तथा दालजस्ता बाली लगाउन थाले भने जङ्गली भेडा, गाई तथा सुँगुरलाई घरपालुवा बनाउन थाले । अनि सुरक्षाको लागि जंगली कुकुरहरु पाल्न थाले ।
करिब ९ हजार वर्ष पहिले जब उनीहरू युरोप र एसियातर्फ लागे उनीहरूले आफ्ना जनावर तथा खेतीकिसानीका ज्ञान पनि साथै लगे । साथै आफूसंगै कुकुरहरूपनि लैजान थाले ।
हाम्रो अध्ययनले के देखाउँछ भने मानव र कुकुरको इतिहास जोडिएका छन् । युरोपभर बसाइँसराइका बेला कुकुरहरू मानिसका पछि लागेको देखिन्छ’ फ्रान्सको रेन विश्वविद्यालयका डा मोर्गेन ओलिभियको भनाइ । ओलिभिय सहितको टोलीले विभिन्न जातका कुकुरहरु डिएनएको परीक्षण गरि तिनीहरु र मानव जातीको सम्वन्ध कति पुरानो हो भन्ने अध्ययन गरेका थिए ।
उनीहरुले गरेको अनुसन्धान विवरण ‘बायोलोजी लेटर्स’ नामक विज्ञान जर्नलमा प्रकाशित गरिएको छ ।
कुकुरको सुँघने क्षमता किन बढि हुन्छ ?
हामी हाम्रा वातावरण वरिपरिका गन्ध तथा वासनाहरु थाहा पाउने गर्दछौं । मानिसहरुको नाकको दुवै छिद्रहरुभित्र लगभग २५० वर्ग मिलीमिटर पहेंलो रंगको एउटा क्षेत्र हुन्छ, जसमा लाखौंको संख्यामा विशेष प्रकारको गन्ध संवेदनशील कोशिकाहरु हुन्छन् । यसलाई केमोरिसेप्टर भनिन्छ । यसको संरचना रौंहरुको जस्तै हुन्छ । यो सधैं म्यूकस नामको तरल पदार्थबाट भिजेको हुन्छ । नसाद्वारा यसको सम्वन्ध मस्तिष्कको निश्चित भागमा रहेको हुन्छ । मस्तिष्कको यो भागलाई ओलफ्याक्टरी बल्व भनिन्छ । जब हामी कुनै बस्तु सुघ्छौं त्यो बस्तुबाट निक्लिएको कण हावाको सँगसँगै केमोरिसेप्टरसम्म पुग्छ । त्यहाँ पुगेर यसले नसाहरुमा एक प्रकारको विद्युतधारा उत्पन्न गर्दछ । यही विद्युतधारा मस्तिष्कको ओलफ्याक्टरी बल्बसम्म पुग्दछ र हामी गन्ध वा वास्नाको अनुभव गर्दछौं ।
यही गन्ध बढी तथा घटी थाहा पाउने क्षमता ओलफ्याक्टरी बल्बमा निर्भर गर्दछ । जुन प्राणीको ओलफ्याक्टरी बल्ब जति ठूलो हुन्छ त्यसको सुँघ्ने क्षमता पनि त्यतिकै बढी हुन्छ । र, जुन प्राणीको ओलफ्याक्टरी बल्ब जति सानो हुन्छ उसको सुँघ्ने क्षमता पनि उत्तिकै कम हुन्छ । परीक्षणबाट के कुरा थाहा पाइएको छ भने कुकुरहरुको ओलफ्याक्टरी बल्बको आकार मानिसहरुको ओलफ्याक्टरी बल्बभन्दा धेरै ठूलो आकारको हुन्छ । त्यसैले उनीहरुको सुँघ्ने क्षमता मानिसहरुकोभन्दा बढी भएको हो । यही गन्ध थाहा पाउने विशेषताका कारण कुकुर मान्छेको लागि अति नै उपयोगी प्राणी साबित भएको छ । विशेष गरी, अपराधीहरुलाई पत्ता लगाउन, लुकाइएका लागू औषधहरु पत्ता लगाउन, जमीनमुनि विछ्याइएका विष्फोटक पदार्थहरु खोज्न, पुरिएका मान्छेहरुलाई खोज्न लगायत विभिन्न कामहरुमा कुकुरको व्यापक प्रयोग हुने गरेको छ ।
ज्यानमारा समात्ने जम्वो बर्षको उत्कृष्ट कुकुर
गत वर्षको मंसिर २७ गते कपिलवस्तुको शिवराज नगरपालिका–५ की ५९ वर्षीया सुशीला खड्काको आफ्नै घरमा हत्या भयो। हत्यालगत्तै कपिलवस्तु प्रहरीलाई खबर पुग्यो। कपिलवस्तु प्रहरीले केनाइन शाखालाई बोलायो। स्थानीय प्रहरी तत्काल पुगेर घटनास्थल सुरक्षित गरे।
रातको ३ बजे असई विष्णु पौडेल जम्बो नामक कुकुरलाई लिएर घटनास्थल पुगे। बिहान ६ बजेतिर जम्बोले अनुसन्धान सुरु ग¥यो। घटनास्थलमा इँटाका टुक्रा र लोहोरो फेला परेको थियो। त्यही सुँघाएर जम्बोलाई छाडियो।
घटनास्थलमा मृतकका आफन्त र गाउँलेहरुको भीड थियो। सुँघ्दै गएको जम्बोले त्यही भीडबाट मृतकका भतिज २३ वर्षीय तोरणबहादुर खड्कालाई पक्राउ गर्यो।
जम्बोले अपराधीको हातमा टोकेर ह्यान्डलरलाई संकेत गर्छ।
‘त्यतिबेला पनि तोरणको हातमा तानेको थियो,’ ह्यान्डलर विष्णु भन्छन्, ‘त्यसपछि हामीले तोरणलाई प्रहरी कार्यालय लग्यौँ। उनले अपराध स्वीकार गरे।’
फुपूसँग पैसा मागेको र नदिएपछि हत्या गरेको बयान तोरणले दिए। उनी सोही घरमा बस्थे। हत्या गरेपछि आफैँले गाउँलेलाई फुपूको हत्या कसले गरेछ भन्दै खबर गरेका थिए। तर जम्बोले उनको कुकर्मको सहजै पर्दाफास गर्यो।
२०७८ असोज १७ गते सल्यानको बाघचौर नगरपालिका–२ गौरीकी रामकला खत्रीको शव सडकमै फेला पर्यो। शवलाई सलले ढाकिएको थियो। त्यहाँ पनि जम्बोलाई नै लगिएको थियो।
सल कसैले ढाकेको अनुमान प्रहरीको थियो। त्यही सल सुँघाएर जम्बोलाई छाडियो। जम्बो करिब २ किलोमिटर टाढासम्म पुग्यो। त्यहाँ एउटा जेसीबी रोकिएको थियो। जम्बोले त्यहीँ संकेत गर्यो। जेसीबीका चालक र सहचालक भने त्यहाँ थिएनन्।
पछि प्रहरीले उनीहरुलाई पक्राउ गर्यो। उनीहरुले नै हत्या गरेको खुल्यो।
गत साउन ११ गते रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्रीको हत्या भयो। त्यहाँ पनि जम्बोलाई नै परिचालन गरिएको थियो।
मनकलाको हत्यामा १३ वर्षका बालकलाई प्रयोग गरिएको रहेछ। उनको घरसम्म पुगेर जम्बोले संकेत गर्यो। प्रहरी तिनै बालकलाई प्रक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुले हत्या गरेको पुष्टि भएको केनाइन शाखा कोहलपुरका प्रहरी निरीक्षक वासुदेव सुवेदी बताउँछन्।
उही जम्बो यस वर्षको अनुसन्धानमा उत्कृष्ट कुकुर बन्न सफल भएको छ। हरेक वर्ष कुकुर तिहारका दिन वर्षको उत्कृष्ट कुकुर घोषणा हुन्छ।
यसले डेढ वर्षदेखि कोहलपुरस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा प्रहरीलाई मद्दत गरिरहेको छ। जसको सहारामा प्रहरी सहजै अपराधीसम्म पुग्न सफल भएको छ। जम्बो जर्मन सेफर्ड जातको हो।
जम्बोले उल्लिखित तीन घटनामा मात्रै होइन पश्चिम नेपालका अरु हत्यासम्बन्धी घटनामा पनि सफलता दिलाएको सुवेदीले बताए।
जम्बोलाई केनाइन महाशाखाले तीन वर्षपहिले काठमाडौंमै खरिद गरेको हो। तालिम दिएपछि डेढ वर्षपहिले यसलाई कोहलपुर शाखामा लगिएको हो। त्यस क्षेत्रका धेरै जिल्लामा पुगेर जम्बोले अनुसन्धानमा सहयोग पुर्याएको छ।
कर्णाली र लुम्बिनी प्रदेशमा जम्बोसँगै तुफानले पनि काम गर्छ। आपराधिक घटना हुनासाथ केनाइन शाखामा खबर आउँछ। अनि घटनाको प्रकृतिअनुसार कुकुर पठाइन्छ।
सुनसरीको बराह क्षेत्र नगरपालिका १ कटहरेकी १२ वर्षीया मीना राईका हत्यारा, लमजुङकी ३५ वर्षीया धनमाया भुजेलका हत्यारा र बैतडीकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन पनि कुकुरले सहयोग गरेको प्रहरी अधिकारीहरु बताउँछन्।
कतिपय यस्ता घटना छन्, जुन प्रहरीले कुकुरको सहायताले सहजै पत्ता लगाउन सकेको छ।
आजकाल घटनालगत्तै प्रहरीले सबैभन्दा पहिले कुकुरमार्फत नै अनुसन्धान गर्छ। कुकुरले पत्ता लगाउन नसके मात्रै अरु विधि प्रयोग गरिन्छ। घटनास्थल पुगिसकेपछि प्रहरीले घटनास्थल सुरक्षित गर्छ।
डगस्निफिङ नगरेसम्म अन्य प्रक्रिया सुरु हुँदैन। घटना भएलगत्तै डगस्निफिङ गर्न सकेमा अपराधी पत्ता लगाउने सम्भावना बढी हुने नेपाल प्रहरीको केनाइन महाशाखा प्रमुख एसएसपी देउती गुरुङ बताउँछिन्।
प्रहरीसँग विभिन्न जातका ८७ वटा कुकुर छन्। जर्मन सेफर्ड ३६, बेल्जियन सेफर्ड १०, डच सेफर्ड १, ल्याब्राडोर २१, बिगल ५, क्रोकर स्पाइनियल १ र गोल्डेन रिट्रिभर १३ वटा छन्।
उनीहरुलाई तालिम दिँदै कस्ता अपराधमा कुन कुकुरलाई प्रयोग गर्ने भन्ने छुट्याइन्छ। अपराधअनुसारका कुकुर छुट्टाछुट्टै हुन्छन्। ८७ वटा मध्ये १४ वटाले अपराध अनुसन्धानमा काम गर्छन्। हातहतियार तथा विस्फोटक पदार्थ खोजी एवं पहिचानसम्बन्धी काम गर्ने ३६ वटा छन्। लागुऔषधका २६ वटा, बेपत्ता खोजी तथा उद्धारमा ८ वटाले काम गरिरहेका छन्। ३ वटा तालिमरत छन्।
केनाइन महाशाखाअन्तर्गत देशका अरु १० ठाउँमा केनाइन शाखा छन्। त्यहाँबाट पनि अपराध अनुसन्धानमा कुकुर प्रयोग गरिन्छ।
विमानस्थलमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउने ८ वटा कुकुर परिचालन गरिएको छ। धरान, विराटनगर विमानस्थल, लालगढ, जनकपुर विमानस्थल, वीरगञ्ज, हेटौंडा, पोखरा, कोहलपुर र धनगढीमा पनि केनाइन शाखा सञ्चालनमा छन्।
प्रहरीले तीनचार महिनाका कुकुर खरिद गर्छ। ६ महिना भएपछि आधारभूत तालिम दिन्छ। त्यही क्रममा उसको क्षमता हेरेर कुन विधामा प्रयोग गर्ने भन्ने छुट्याइन्छ।
सबैभन्दा राम्रो सुँघ्न सक्नेलाई ट्र्याक्करको रुपमा प्रयोग गरिन्छ। सबैभन्दा लामो समय र गाह्रो तालिम पनि यही ट्र्याकरको हो। बेपत्ताको खोजी तथा उद्धारमा प्रयोग गरिने कुकुर तयार गर्न पनि समय लाग्छ। तर लागुऔषधका लागि भने आधारभूत तालिम सकिएको दुईतीन महिनामै फिल्डमा काम गर्न सक्ने हुन्छन्।
तालिमका दौरान नै अपराधी पत्ता लगाइसकेपछि कसरी संकेत गर्ने भन्ने सिकाइन्छ। पछि त्यसैगरी संकेत गरिसकेपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर थप अनुसन्धान गर्छ।
अहिले जर्मन सेफर्डलाई बेल्जियन सेफर्डले रिप्लेस गरिरहेको छ। उनीहरु लामो समयसम्म ट्र्याक लिन सक्ने हुन्छन्। ती कुकुर कुनै बेलायत र कुनै अमेरिकाबाट खरिद गरिएको हो।
देशका अरु शाखामा भने तालिम दिएर मात्रै पठाइन्छ। महाशाखामा मात्रै तालिम सञ्चालन हुन्छ।
घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु र मान्छेको भावना महशुस गर्न सक्नु कुकुरको मुख्य खुबी हो। यसले मान्छे र कुकुरबीचको भावनात्मक सम्बन्ध झनै बलियो बनाएको छ।
कामले थकित भएर घर फर्कँदा तिनका चम्किला आँखा आफ्नो पर्खाइमा बसिरहेको हेर्ने चाहना कसको नहोला? आफू दुःखी हुँदा तिनका अनुहारले सबै पीडा भुलाइदिन्छ। कसैले साथ नदिँदा मनको विरह बिना प्रश्न सुनिदिने तिनै प्राणी हुन्छन्।
त्यसैले पनि कुकुरलाई किन ‘मानिसको मिल्ने साथी’ भनिएको सजिलै अनुमान लगाउन सकिन्छ। यिनै विशेषताको कारण घरमा कुकुर पाल्नेको संख्या बढ्न थालेको छ।
हाम्रा यी निकट जनावर मित्रबारे अन्य थुप्रै कुरा छन् जुन कतिपयलाई थाहा नहुन सक्छ। यिनका विभिन्न प्रजातिकै विषयमा पनि धेरैलाई ज्ञान छैन। हामीले घर–टोलमा देखिरहेका बाहेक बजारमा पाउने कुकुरका प्रजाति देखे–सुने पनि यिनका फरक विशेषताको बारेमा जान्नु पक्कै अलमल हुन्छ।
भौगोलिक रूपले भिन्नता देखिने भएकाले सबै जातका कुकुर एउटै देशभित्र पाउने सम्भावना हुँदैन। तर केही विदेशी कुकुरहरू यहाँ पाइन्छन् जो यहाँको वातावरणमा सहजै घुलमिल हुन्छ। तर आयातित कुकुरको मूल्य धेरै हुन्छ। तिनीहरूलाई विशेषता र सीपको आधारमा महँगो र सस्तो वर्गमा छुट्टाइएको हुन्छ।
के तपाईं घरमा यी प्यारा जनावर साथी ल्याउने सोच्दै हुनुहुन्छ? सोच्दै हुनुहुन्छ भने यसका प्रजातिबारे केही सामान्य जानकारी राख्दा राम्रो हुन्छ। यस पटकको कुकुर तिहारमा हामी नेपाली बजारमा पाइने विभिन्न प्रजातिका कुकुर र तिनका मूल्यबारे चर्चा गर्दैछौं।
हिमालयन शिपडग
‘भोटे कुकुर’ को नामले चिनिने हिमालयन शिपडग हिमाली क्षेत्रतिर पाइन्छ। चिसो वातावरणमा आफ्नो जैविकी समायोजन गर्ने यी प्रजातिका कुकुर ‘मस्तिफ’ वर्गमा पर्छन्। यिनीहरू सचेत र बुद्धिमान हुन्छन्।
बथानमा हिँड्ने भएकाले यिनलाई भरपर्दो गार्डका रूपमा लिइन्छ। त्यसैले हिमालयन शिपडग विशेषगरी भेडाबाख्रामा नजर राख्न पाल्ने गरिन्छ। आफ्नो सक्रियता र बलियो शरीरको कारण भोटे कुकुर चर्चित छ। यी विशाल, शक्तिशाली र साहसी कुकुर हुन् जसलाई बाहिरी व्यायामको आवश्यकता हुन्छ। ठूलो जीउडाल र बढी क्षेत्र ओगट्ने स्वभावका भएकाले यिनलाई दृढ मालिक चाहिन्छ। ३५ देखि ४५ केजीसम्म तौल हुने हिमालयन शिपडगको छाउराको बजारी मूल्य आठ हजारदेखि दस हजार रूपैयाँसम्म छ।
तिब्बटेन मस्तिफ
हिमालयन शिपडग जस्तै देखिने तिब्बटेन मस्तिफ पनि मस्तिफ वर्गमा पर्ने कुकुर हो। यो जातिको कुकुरको मूल्य भने अरुभन्दा महँगो छ। नेपालमा नै पाइने तिब्बटेन मस्तिफ कुकुरको मूल्य ५० देखि ८० हजारसम्म छ। यदि कसैलाई बाहिरबाट आयात गर्नु परेमा त्यसको मूल्य दुईदेखि चार लाखसम्म पर्न सक्छ।
जर्मन शेफर्ड
जर्मन शेफर्ड जर्मनीमा उत्पन्न भएको मानिन्छ। ठूलो शारीरिक बनोट भएका यिनलाई सैन्य काममा बढी प्रयोग गरिँदै आएको पाइन्छ। ब्वाँसो जस्तो देखिने यी कुकुर आफ्नो शक्ति, आज्ञाकारिता र बुद्धिका कारण चर्चित छन्। यिनीहरू प्रशिक्षण दिएको सबै काममा उत्कृष्ट भएकाले खोज–उद्धार, लागुऔषध परीक्षण, प्रहरी र आर्मी सेवामा संलग्न हुन्छन्। सुरक्षाको विषयमा अधिक सक्रिय हुने जर्मन सेफर्ड घरपरिवारको रेखदेख गर्न उपयोगी हुनसक्छ। नेपाली बजारमा यी प्रजातिका कुकुरको मूल्य पन्ध्र हजार रूपैयाँ छ। यो मूल्य जर्मन शेफर्डभित्र पर्ने अरु जात हरेर पनि फरक पर्न सक्छ। एउटा शुद्ध जर्मन शेफर्ड जातको मूल्य भने ४० देखि ४५ हजारसम्म छ।
गोल्डेन रिट्रिभर
गोल्डेन रिट्रिभर मैत्री र कोमल स्वभावको कुकुर प्रजातिमा पर्छन्। पहिलोपटक स्कटल्याण्डमा देखा परेका यी कुकुर संसारभर चर्चित छन्। मान्छेसँगै जंगलमा शिकार गर्न जाने गोल्डेन रिट्रिभर अशक्तको सहायताको लागि पनि उत्तिकै लोकप्रिय छ। यिनलाई खोज अनुसन्धान र उद्धारको कार्यमा बढी संलग्न गराइन्छ। दयालू र भरपर्दो हुनु यी प्रजातिको मुख्य विशेषता हो। त्यसैले बच्चासँग देखाउने धैर्य व्यवहारको कारण गोल्डेन रिट्रिभरलाई राम्रो पाल्तु जनावरको रुपमा मानिन्छ। यिनीहरू मान्छेप्रतिको समाजिकता, शान्तपन र इच्छुकताको लागि मूल्यवान छन्। बजारमा गोल्डेन रिट्रिभरको छाउराको मूल्य २५ हजार देखि ४५ हजार रूपैयाँसम्म छ।
लाब्रडोर
लाब्रडोर कुकुर ठूला गोल्डेन रिट्रिभर प्रजातिभित्र पर्छन्। यिनलाई ‘थेरापी डग’ को नामले पनि चिनिन्छ। प्रायः यी प्रजातिको कुकुरलाई अशक्त, दृष्टिविहीन र अटिजम भएकालाई सहायता गर्न प्रशिक्षण दिइएको हुन्छ। त्यसैले लाब्रडोर आफ्नो आज्ञाकारी, इमानदारी र चञ्चल स्वभावको कारण संसारभर चर्चित छ। एउटा सानो लाब्रडोरको नेपाली मूल्य बीस हजार देखि ३० हजारसम्म रूपैयाँ छ।
पग
पग अन्य सामान्य देखिने कुकुरभन्दा फरक र विशेष देखिन्छन्। यिनका साना शरीर, छोटो अस्पष्ट अनुहार र घुमाउरो पुन्टे पुच्छर नै मानिसलाई आकर्षित गराउने पक्ष हो। पहिलो पटक चीनमा देखा परेका यी प्रजातिको माग सबै देशमा छ। यिनलाई मिलनसार र कोमल स्वभावका कुकुर भनेर चिनिन्छ। नेपालमा सानो पगको मूल्य पन्ध्र हजार रूपैयाँबाट सुरु हुन्छ।
डाल्माटियन
डाल्माटियन मध्यम आकारका कुकुर हुन्, जुन आफ्नो सेतो शरीरमा भएको सुन्दर कालो थोप्लाका कारण प्रख्यात छन्। यिनको उत्पत्ति क्रोएसियामा भएको मानिन्छ। सन् १९६१ मा वाल्ट डिस्नीले ‘डाल्माटियन १०१’ नामक कार्टुन फिल्म बनाएको थियो। जसले डाल्माटियन प्रजातिका कुकुरको माग संसारभर व्यापक भयो। नेपाली बजारमा यिनको मूल्य दसदेखि बीस हजार रूपैयाँसम्म छ।
बक्सर
बक्सर जमर्नीमा विकसित कुकुरको प्रजाति हो। बलियो शरीर र सक्रिय स्वभावका कारण यी प्रजातिलाई पहिले शिकार गर्न प्रयोग गरिन्थ्यो। यिनीहरू ऊर्जावान् र चञ्चल हुनुको साथै बालमैत्री स्वभावका हुन्छन्। बक्सर शारीरिक रुपमा बलियो हुने भएकाले यिनलाई पर्याप्त व्यायामको आवश्यकता हुन्छ। यस प्रजातिको मूल्य बजारमा १८ देखि ३५ हजार रूपैयाँसम्म छ।
जापानिज स्पिट्ज
हेर्दा सेतो हिउँको डल्लो देखिने यी प्रजातिका कुकुर सानोदेखि मध्यम आकारका हुन्छन्। जापानको नयाँ जातमा पर्ने यी कुकुर अनुकूल स्वभावका कारण संसारभर रुचाइन्छ। नेपालमा यिनको मूल्य सात हजार रूपैयाँ बाट सुरु हुन्छ।
पोमेरानियन
सानो गुडिया जस्तै देखिने यो कुकुर पनि स्पिट्ज जातिमा पर्छ। यो कुकुरलाई जर्मन स्पिट्जको नामले पनि चिनिन्छ। पोमेरानियन १८ औं शताब्दीदेखि लोकप्रिय मानिँदै आएको कुकुर हो। बेलायती रानी भिक्टोरियाले समेत त्यो समय एउटा पोमेरानियन कुकुर पालेकी बताइन्छन। जसले गर्दा यसको चर्चा झनै बढेको हो। नेपालमा पनि केही समययता यो जातको कुकुर पाल्ने चलन बढिरहेको छ। बजारमा यसको मूल्य ३५ हजारबाट सुरू हुन्छ र जात अनुसार करिब ८० हजारसम्म पनि पर्न सक्छ।
हस्की
संसारको उत्तरी क्षेत्रमा पाइने यी सुन्दर कुकुर साइबेरियामा उत्पन्न भएको मानिन्छ। आफ्नो बुद्धि र सुन्दरताका कारण चर्चित हस्की प्रजाति आफूलाई चिसो वातावरणमा मात्र समायोजन गर्न सक्छन्। बजारमा यिनको जात अनुसारको मूल्य ३५ हजारदेखि एक लाखसम्म पर्छ। यी महँगा कुकुरको मूल्य बजारअनुसार फरक पर्न सक्छ। अरू थुप्रै जातका कुकुर पनि यहाँ पाइन्छन्।
कुकुर पाल्ने मोह छ तर पैसा खर्च गर्न मन छैन भने यस क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थासँग सम्पर्क गरेर कुकुर ‘एडप्ट’ गर्न सक्नुहुन्छ। अझै जनावरप्रेमी हुनुहुन्छ भने बाटामा रुमलिएको छाउरालाई आफ्नो साथी बनाउनु राम्रो विकल्प।