पोखरा – कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनाबारे तमु धिं नेपालले पोखरामा सोमबार बृहत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
हरेक १०/१० वर्षमा हुने राष्ट्रिय जनगणनालाई मेरो गणना, मेरो सहभागिता नाराका साथ तमुहरुलाई सचेतताका साथ सक्रिय सहभागिताका लागि आयोजित अभिमुखी कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले उद्घाटन गरिन । उनले राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्नेमा जोड दिईन ।
कार्यक्रममा प्रदेश जनगणना कार्यलयका सुरेन्द्रराज पौडेलले सरकारले गर्नुपर्ने अभिमुखिकरण कार्यक्रम संस्थाले आयोजना गरेकोमा तमु धिं नेपाललाई धन्यवाद दिए । उनले कुनै नछुटोस, कोही नदोहिरियोस भन्ने मान्यतालाई आत्मसाथ गर्दै व्यक्तिगत, पारिवारिक, सामाजिक, साँस्कृतिक, आर्थिक, जनजीवनको यर्थाथ विवरण जनगणनाले प्रस्तुत गर्ने दावी गरे ।
तमु धिं नेपालमा अध्यक्ष हुमबहादुर गुरुङले राष्ट्रिय जनगणनाको महत्वलाई मनन गर्दै महाअभियानको रुपमा गाँउ बस्ती, टोलटोल, घर घर, व्यक्तिव्यक्तिलाई सचेत र सुसूचित गर्नुपर्ने बताए । उनले दशवर्षमा हुने जनगणनाको तथ्यांकले दीर्घकालिन प्रभाव पार्ने भएकाले सत्य, तथ्यका लागि तमु समाजहरुले टोल टोलमा स्वयमसेवक खटाई सहयोग गर्ने आग्रह गरे ।