काठमाडौं – रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन सकारात्मक रहेको दक्षिण कोरियाले जनाएको छ।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित नेपाल—दक्षिण कोरिया संयुक्त परामर्श संयन्त्रको पाँचौ बैठकमा नेपाली पक्षले ईपीएसअन्तर्गत नेपाली कामदारको संख्या बढाउन आग्रह गरेको थियो।
बैठकमा ईपीएस सम्बन्धी सम्झौतापत्र सक्दो चाँडो नवीकरण गर्ने सहमति पनि भएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताए।
‘नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरियालाई आग्रह गरेका छौँ, यसमा उनीहरु सकारात्मक छन्,’ थापाले भने।
ईपीएस परीक्षा पास गरिसकेका नेपालीको कोरिया प्रवेशको व्यवस्था चाँडै मिलाउन समेत कोरियालाई आग्रह गरिएको उनले बताए।
ईपीएस अन्र्तगत वार्षिक हजारौं नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन्। तर कोरियाले नेपालबाट वर्षेनि यति नै कामदार लिने भन्ने चाहिँ छैन। सन् २००८ यता ईपीएसअन्र्तगत झन्डै ७० हजार नेपालीले दक्षिण कोरियामा रोजगारीको अवसर पाएका छन्।
कोरोना महामारीका कारण कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जान रोकिएका थिए। उनीहरुलाई चरणबद्ध रुपमा कोरिया लैजाने काम अक्टोबर २७ देखि सुरु भइसकेको छ।
नेपाल दक्षिण र उत्तर कोरियाको शान्तिपूर्ण एकीकरणको पक्षमा
बैठकमा कोरियाली प्रायद्वीपको संकटबारे समेत चर्चा भएको थियो। दक्षिण र उत्तर कोरियाबीच शान्तिपूर्ण एकीकरण हुनुपर्ने नेपालको धारणा रहेको नेपाली पक्षले दोहोर्याएको थियो।
उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध जारी छ। पारमाणविक कार्यक्रम जारी राखेको भन्दै अमेरिका लगायत पश्चिमा राष्ट्र उत्तर कोरियामाथि प्रतिबन्ध कायमै राख्नुपर्ने अडानमा छन् भने चीन र रुस लगायत विश्वका अन्य शक्तिराष्ट्र प्रतिबन्ध खुकुलो पार्दै लैजानुपर्ने पक्षमा छन्।
नेपालले दुई कोरियाबीच शान्तिपूर्ण वार्ताका माध्यमबाट एकीकरण हुनुपर्ने तथा कोरियाली प्रायद्वीप परमाणु हतियारमुक्त हुनुपर्ने धारणा राख्दै आएको छ। सोही धारणा बुधबारको बैठकमा नेपालले दोहोर्याएको हो।
बैठकमा क्षेत्रीय तथा बहुपक्षिय मामिलामा नेपाल र दक्षिण कोरियाबीच संयुक्त राष्ट्रसंघ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मा सहकार्य बढाउनेबारेमा पनि कुराकानी भएको थियो।
कोरोना महामारीपछि पहिलोपटक भौतिक उपस्थितिमा वार्ता
बैठकमा नेपाल र कोरियाबीचका द्विपक्षीय मामिलाका सबै विषयमा छलफल हुनुका साथै उच्चस्तरीय भेटवार्ता आवश्यक रहेकोमा पनि जोड दिइएको थियो।
नेपालका तर्फबाट परराष्ट्र, श्रम, अर्थ र उर्जा मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी थिए। कोरियाली पक्षबाट विदेश मन्त्रालय, नेपालस्थित कोरियाली दूतावास, कोरियाली सहयोग नियोग कोइका र ईपीएस नेपाल सेक्सनका प्रतिनिधि सहभागी थिए।
बैठकपछि दक्षिण कोरियाली प्रतिनिधिमण्डलले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटेको थियो। कोरोना महामारीपछि नेपाल र दक्षिण कोरियाबीच भौतिक उपस्थितिमा पहिलोपटक प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको हो।
बैठकमा नेपाल र दक्षिण कोरियाबीचको व्यापार, कोरोना महामारीविरुको लडाइँ तथा पुनर्स्थापना, लगानी, रोजगारी, उर्जा, प्रविधि, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई अझै बढाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। नवीकरणीय उर्जा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य बढाउनेबारे पनि छलफल भएको थियो।
बैठकमा दक्षिण कोरियाका विदेश मन्त्रालयका दक्षिण एसियाली तथा प्रशान्त क्षेत्र मामिला हेर्ने डाइरेक्टर जनरल सङ र्योल लीले कोरियाली पक्षको नेतृत्व गरेका थिए। उनले नेपाली कामदारले कोरियाली अर्थतन्त्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक
नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु