काठमाडौँ – संघदेखि प्रदेशसम्मका पाँचवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ ।राष्ट्रिय सभामा एमालेका २३ सदस्य छन् । तीमध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चाररचार, कांग्रेसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । रिक्त हुने पदमा आगामी माघ १२ मा निर्वाचन हुँदै छ ।
यो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सहकार्य गर्ने निर्णय गरेका छन् । ‘गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय भइसकेको छ,’ माओवादी नेता लीलामणि पोखरेलले भने, ‘कसले कति संख्या लिने भन्नेचाहिँ निर्णय हुन बाँकी छ ।’ दलहरूबीच अहिले जसको म्याद सकिन्छ, त्यो उसैले लिने सहमति भएको तर एमालेको आठ सिटमा कसले कति लिने भन्ने टुंगो लाग्न बाँकी रहेको कांग्रेसका एक नेताले बताए ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सरकारले माघमा निर्वाचन गर्न लागेको हो । ‘निर्वाचन आयोगले चाँडै कार्यतालिका सार्वजनिक गर्नेछ,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ।
निर्वाचन घोषणासँगै दलहरू भने अंक जोड–घटाउमा लागेका छन् । मतदाताको संख्या विश्लेषण गर्दा पनि गठबन्धनको तुलनामा एमाले प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशमा कमजोर देखिन्छ । ‘प्रदेश १ बाहेक अन्यत्र हामी कमजोर देखिएका छौं,’ फागुन २० मा कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले भने, ‘अन्य प्रदेशमा जित्न हामीले धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।’
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् । सत्ता गठबन्धनमा एकमत भएको अवस्थामा प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशबाट एमालेले जित्ने सम्भावना शून्य छ । निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा गठबन्धनको मतभार ४ हजार ४ सय ६४ छ भने एमालेको ४ हजार ५ सय ४२ छ । साना पार्टीको मतभार ३ सय ४२ छ । प्रदेश सदस्य टंक आङबुहाङले दल त्याग गरेपछि त्यो पदमा अर्को व्यक्ति निर्वाचित भइसकेको छैन ।
राष्ट्रिय सभा निर्वाचन ऐनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदार १८ निर्धारण गरिएको छ । यही मतभारका आधारमा प्रदेश १ मा गठबन्धनभन्दा एमाले अगाडि देखिन्छ । प्रदेश १ मा अपांगता भएका वा अल्पसंख्यक समुदायका १, महिला १ र अन्य समूहबाट प्रतिनिधित्व गरेका राष्ट्रिय सभाका एक सदस्यको पद रिक्त हुँदै छ । अल्पसंख्यकमा यसअघि निर्वाचित अगमप्रसाद बान्तवा राईको चारवर्षे कार्यकाल सकिँदै छ । त्यस्तै, महिलामा नैनकला ओझा र अन्य समूहबाट परशुराम मेघी गुरुङको कार्यकाल सकिँदै छ ।
प्रदेश २ मा महिला समूहबाट शशिकला दाहाल र अन्य समूहबाट सुमनराज प्याकुरेलको कार्यकाल सकिँदै छ । प्याकुरेल यसअघि एमाले कोटाबाट निर्वाचित भएका थिए । यहाँ सत्ता गठबन्धन बलियो देखिएको छ । प्रदेश २ को मतदाता संख्याका आधारमा मतभार विश्लेषण गर्दा गठबन्धनको मतभार ७ हजार १ सय ४६ देखिन्छ भने एमालेको मतभार ९ सय ४२ मात्रै छ । समाजवादी लोकतान्त्रिकसहित साना दलको मतभार १ हजार ८ सय छ ।
त्यस्तै वाग्मती प्रदेशमा महिला समूहबाट उदया शर्मा पौडेल र अन्य समूहबाट राधेश्याम अधिकारीको कार्यकाल फागुन २० मा सकिँदै छ । यहाँ पनि एमाले कमजोर देखिन्छ । वाग्मतीमा ९ हजार ५ सय १६ मतभारमध्ये गठबन्धनको ४ हजार ९ सय ५६ र एमालेको ४ हजार १ सय ५२ मतभार छ । राप्रपा, नेमकिपा र विवेकशीलको मतभार चार सय आठ छ । यसले के देखाउँछ भने एमाले र अरू साना दल मिल्दा पनि गठबन्धनको जति मत पुग्दैन । गठबन्धन कायमै रहे एमालेले जित्ने सम्भावना देखिँदैन ।
गण्डकी प्रदेशमा दलित समूहबाट खिमकुमार विक, अन्य समूहबाट दीनानाथ शर्मा र महिला समूहबाट शान्तिकुमारी अधिकारीको ठाउँमा निर्वाचन हुन लागेको हो । गण्डकीमा पनि एमाले कमजोर देखिएको छ । साना दल र एमाले मिल्दा पनि एमालेका उम्मेदवारले जित्ने सम्भावना न्यून छ किनभने गण्डकीमा गठबन्धनको मतभार २ हजार ९ सयभन्दा बढी छ भने एमालेको २ हजार ३ सय ९४ छ । साना दलको मतभार ५ सय १० छ ।
लुम्बिनी प्रदेशमा महिला समूहबाट कोमल वली, अन्य समूहबाट दृगनारायण पाण्डेय र दलित समूहबाट रामलखन चमारको पदमा निर्वाचन हुनेछ । लुम्बिनीमा गठबन्धनको मतभार ४ हजार १ सय १० छ भने एमालेको ३ हजार ३ सय २३ छ । साना दलको ४ सय ८ मतभार छ । कर्णालीमा महिला समूहबाट कविता बोगटी र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहबाट माओवादीका जीवन बुढाको पदमा निर्वाचन हुनेछ । कर्णालीमा पनि गठबन्धन बलियो छ । गठबन्धनको २ हजार ५ सयभन्दा बढी मतभार छ भने एमालेको १ हजार ४ सय ३४ मात्रै छ । अरू दलको मतभार ५ सय ८८ छ ।
सुदूरपश्चिममा दलित समूहबाट चक्रप्रसाद स्नेही, महिला समूहबाट तारादेवी भट्ट, अन्य समूहबाट शेरबहादुर कुँवरको ठाउँमा निर्वाचन हुन लागेको हो । यहाँ गठबन्धनको मतभार ३ हजार ७ सय ५५ र एमालेको १ हजार ७ सय ८८ छ । अन्य दलको मतभार १ सय ३२ छ ।
अहिले निर्वाचित सदस्यको कार्यकाल ६ वर्ष हुनेछ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता अधिकारीले अबको निर्वाचनमा गठबन्धन मिल्दा एमाले पहिलो पार्टी नरहने बताए । ‘गठबन्धन मिल्दा राष्ट्रिय सभामा एमालेको अंकगणित तल झर्न सक्छ,’ उनले भने, ‘मतभार हेर्दा प्रदेश १ मा पनि एमाले टाइट छ, अरू प्रदेश त धेरै तल छ । निर्वाचनपछि माओवादी अघि बढ्ने देखिन्छ ।’