चितवन ः संकटमा परेका बिरामीको सास जोगाउन अस्पताल ओसार्ने एम्वुलेन्स जुनसुकै स्थानमा विना अवरोध संचालन गर्न दिने विश्वव्यापि मान्यता हो । बिरामी बोकेको एम्वुलेन्सको यात्रामा कुनैपनि वहानामा गरिने अपराध बिरामीको ज्यानमाथिको चरम खेलवाड मात्रै होइन, मानव अपराध पनि हो । बिरामी बोकेको एम्वुलेन्स जव साईरन बजाउँदै अस्पतालतिर कुदेको सुनिन्छ जो कोहिले वाटोको अवरोध सिर्जना नहोस भनेर सडक खालि गरिदिन्छन ।
विश्वमा ठुला ठुला युद्ध, विरोध प्रर्दशन, भीड, बन्द, हडतालमा पनि एम्वुलेन्सलाई निर्वाध रुपमा चल्ने वातावरण बनाईएको हुन्छ । तर चितवनमा एमालेको १० औं महाधिवेशनमा जम्मा भएको भीडको घेरामा विरामी बोकेका दर्जनौ एम्वुलेन्स घण्टौंसम्म थुनिए । जसले गर्दा विरामीहरु र आफन्तसँगै चालकले समेत निकै सास्ती खेप्न बाध्य भए । देश र जनताको बिकास, उन्नती र सुविधाको नारा फलाक्नेहरु आफ्ना गतिविधिले संकटमा परेका सर्वसाधरणलाई पार्न सक्ने समस्या बारे कति गम्भिर छन ? भन्ने प्रश्न चितवनको भरतपुरमा घण्टौसम्म थुनिएका विरामीको पीडा र आफन्तको विजोगले फेरि खडा गरेको छ ।
जति ठुलो मानिसको भीड भयो उति नै आफुलाई शक्तिशाली ठान्ने नेपालका राजनीतिक दलहरुको सोच, शैली र संस्कार एमाले दसौं महाधिबेशनमा पनि देखियो । तर सर्वसाधरण हिडडुल गर्ने सडकमा ओर्लने अव्यवस्थित यस्ता भीडले पार्न सक्ने समस्यातर्फ दल र समर्थकहरु गम्भिर नवनेको भीडको घेराभित्र थुनिएका एम्वुलेन्सले प्रष्ट देखाएको छ ।
नेकपा एमालेको दसौं महाधिवेशनको उद्घाटन क्रममा पार्टीले पाँच लाखभन्दा बढी कार्यकर्ता उतार्ने घोषणा गरेको थियो। पाँच लाख त आए कि आएनन् थाहा छैन, तर चितवनको यातायात व्यवस्था नै ठप्प हुने गरी मान्छेको भीड उर्लियो।
शक्ति प्रदर्शनका हिसाबले कार्यक्रम सफल भयो होला, तर के सर्वसाधारणले यसबाट पाएको सास्तीलाई हेर्दा सफल मान्न सकिन्छ
महाधिवेशन क्रममा लामो दुरीका सवारी मात्र होइन, बिरामी बोकेका एम्बुलेन्सधरि गुड्न सकेनन्। गैंडाकोटबाट नारायणगढ आउने पुलमाथि मानिसहरू भरिभराउ भएकाले एम्बुलेन्सलाई पुल पार गर्न सकस भयो। चारैतिर मान्छेको भीडले बाटो छेकिएपछि केही एम्बुलेन्स दिनैभरि अलपत्र परे।
नेपाल रेडक्रस सोसाइटीको ग२च ७७१० नम्बरको एम्बुलेन्स त्यसैमध्ये एक हो।
एम्बुलेन्स चालक दिपक क्षत्रीले बिरामी ओसार्न थालेको धेरै वर्ष भयो। तर उनले शुक्रबार चितवनमा जे भोगे, त्यस्तो अनुभव कहिल्यै गरेका थिएनन्। ज्यानै जान सक्ने अवस्थाको बिरामी छ भन्ने थाहा हुँदाहुँदै एम्बुलेन्सका लागि बाटो नदिने घटना यसअघि कहिल्यै नभोगेको उनी बताउँछन्।
क्षत्री शुक्रबार दिउँसो १२ बजे भरतपुरको सिएमसी अस्पतालबाट बिरामी लिएर हिँडेका थिए। उनको एम्बुलेन्समा ८० वर्षीया बिरामी महिला थिइन्। उनलाई दमको रोग थियो। अस्पतालले उनलाई घरैमा लगेर राख्नू भनेर पठाइदिएको क्षत्री बताउँछन्।
ुअक्सिजन चढाइएको बिरामी लिएर म १२ बजेतिर अस्पतालबाट निस्केँ तर नारायणघाट बजार छिचोल्न सकिएन,ु उनले भने, ुयति धेरै भीड थियो, एम्बुलेन्स जाने बाटोधरि थिएन।ु
दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म आफू भीडमै बिरामीसहित थुनिएर बस्नुपरेको उनले बताए।
छ घन्टा थुनिएपछि बल्लतल्ल उनले भीड छिचोलेर गैंडाकोट पुग्ने बाटो पाएका थिए। यसबीच अक्सिजन चढाइएको बिरामीलाई निकै गाह्रो परेको थियो। अक्सिजन सकिएर बिरामी र उनका आफन्त निकै आत्तिएको उनले बताए।
ुबीचमै अक्सिजन सकिएपछि त मलाई पनि केही नराम्रो पो हुने हो कि भन्ने डर लागेको थियो। केही भइहालेको भए त्यो भीडबाट एम्बुलेन्स निकाल्ने र बिरामीलाई अस्पताल वा घर लैजाने कुनै उपाय थिएन,ु चालक क्षत्रीले भने, ुधन्न अक्सिजन सकिए पनि नराम्रो केही भएन। बिरामीलाई बेलुकीसम्म घर पुर्याउन सकेँ।ु
यसरी छ(छ घन्टा एम्बुलेन्ससमेत गुड्न नसक्ने स्थिति आउनु निकै दुखद भएको उनले टिप्पणी गरे।
ुआज त धन्न केही भएन तर यस्तरी एम्बुलेन्सधरि गुड्न नदिएर बाटो रोक्दा जे पनि हुन सक्थ्यो,ु उनले भने।
यसबीच भीडमै रहेका एक जना व्यक्ति निस्सासिएर बेहोस भएको र उनलाई खुला हावामा राख्न आफ्नै एम्बुलेन्सको छतमा लगेको उनले बताए। ती व्यक्तिलाई एम्बुलेन्सको छतमा लगेर पानी खुवाइएको र हातखुट्टा मालिस गरिएको उनले जानकारी दिए।
शुक्रबारको भीडमा आफूजस्तै झन्डै १० वटा एम्बुलेन्स थुनिएको क्षत्रीले अनुमान गरे। इन्तु न चिन्तुका बिरामीलाई तुरून्तै अस्पताल पुर्याउँला भनी एम्बुलेन्समा बोकेर आएका आफन्त यो अवस्थाले आत्तिएको क्षत्री बताउँछन्।
यसअघि चितवन प्रशासनले महाधिवेशन उद्घाटनको दिन गैंडाकोटबाट एम्बुलेन्सलाई पनि नारायणगढ आउन नदिने बताएको थियो। यसको चौतर्फी विरोध भएपछि उक्त निर्णयबाट पछि हटेर एम्बुलेन्सलाई आवतजावत गर्न दिने निर्णय गरिएको थियो।
पार्टीको प्रचार विभाग प्रमुख योगेश भट्टराईले नै महाधिवेशनको समयमा स्वयंसेवकहरूले नै सवारी आवागमन गराउने दाबी गरेका थिए। उनले प्रेस चौतारी चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक सवारीमा अवरोध गर्ने पार्टीको नीति नरहेको बताएका थिए।
ुहामीले ठूला मालवाहक सवारी साधनलाई एक दिन नचलाएर सहयोग गरिदिन आग्रह गरेका छौं तर अत्यावश्यकीय र सार्वजनिक सवारी सञ्चालनमा एमालेले अवरोध गर्दैन,ु उनले भनेका थिए, ुबरू स्वयंसेवकहरूले सहज रूपमा पास हुने व्यवस्था मिलाउनेछन्।
उनले यो पनि भनेका थिए, ुनो भेइकल मुभमेन्ट दुनियाँमा कहीँ पनि हुँदैन। भेइकल मुभमेन्टलाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रशासनको हो। पब्लिक गाडी पनि गुड्छ, महाधिवेशनमा आउने गाडी पनि चल्नुपर्छ, एम्बुलेन्स पनि चल्नुपर्छ, दमकल, साइकल पनि चल्नुपर्छ, हेभी गाडीहरू भोलि नचलून् हाम्रो भनाई यत्ति हो।
यसरी प्रचार विभाग प्रमुख भट्टराईले एम्बुलेन्स लगायत अत्यावश्यक सवारी आवागमनमा बाधा नपुग्ने बाचा गरे पनि व्यवहारमा त्यसविपरीत भयो।
कार्यक्रम अवधिमा बाटो त खुलेन नै, कार्यक्रम सकिएपछि पनि घन्टौं घन्टा चितवनको आवागमन ठप्प भएको थियो।