दासहरुको आफ्नै टाउको हुदैन
त्यसैले दासहरु
मालिकको आँखाले हेर्छन
मालिकको कानले सुन्छन
मालिकको मुखले बोल्छन
दासहरुको आफ्नो मस्तिष्क हुँदैन
त्यसैले दासहरु
मालिकको ईसारामा हात चलाउँछन
मालिकको बाटोमा पाईला हिडाउँछन
दासहरु कोही ज्यान चलाउँछन
दासहरु कोहि मस्तिष्क चलाउँछन
दासहरुले तन चलाएपनि, मन चलाएपनि,
दासहरुले जहिले, जहाँ, जे गरेर पसिना वगाएपनि
सबै मालिकको लागि हुन्छ
मालिकको सुखको लागि हुन्छ
मालिकको समृद्धिको लागि हुन्छ
मालिकको शान र मानको लागि हुन्छ
दासहरुलाई हुन्छ त केवल
मालिक रिसाएमा
जुठोपुरो खान पाईदैन
मालिक खुसी नपारेमा
के खाने ?
कहाँ बस्ने ?
के लगाउने ?
मालिकको कृपा भएन भने पद पाईदैन
मालिकको खुसी नभए शान पाइदैन
त्यसैले दासहरु मालिकको
ज्यानमारा दाह नंग्रालाई फुल मानेर सजाउँछन
शोषण, दमन र उत्पीडनका जंजीरलाई आर्दस मानेर अंगाल्छन
मालिकको गन्हएको गुहुलाई पनि हलुवा भनेर चाटछन
मालिकको घिनलाग्दो खकारलाई घिउ भनेर घुटकाउँछन
मालिकले दिनलाई रात भनेमा रात नै भन्दछन
मालिकले रातलाई दिन भनेमा दिन नै भन्दछन
किनकी दासहरुको आफ्नो टाउको हुँदैन
दासहरुको आफ्नो स्वाभिमान हुँदैन
दासहरुको देशमा
मालिक कहिले जहाँनिया शाषन भएर आउँछ
मालिक कहिले निर्दल भएर आउँछ
मालिक कहिले बहुदल भएर आउँछ
मालिक कहिले गणतन्त्रको खोल ओढेर
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सहायक मन्त्री भएर आउँछन
मालिक कहि धीश बनेर कालोलाई सेतो र सेतोलाई कालो बनाएका छन
मालिक कहि प्रमुख बनेर चोरलाई साधु र साधुलाई चोर बनाएका छन
मालिक कहि कागजमा विकास कोरेर राज्यको ढुकुटी गोजीमा भरेका छन
दासहरुको देशमा
दासहरुले मुक्तिका सपना नदेखेका होईनन
दासहरुले समृद्धि नचाहेका होईनन
दासहरुले समानता नखोजेका होइनन
दासहरुको देशमा दासहरुले
भोक, रोग, शोकवाट मुक्ति पाउन
विभेदका पर्खालहरु पल्टाउन
छात्तीमा गोली, ढाडमा लाठिको बर्षा खाएका थिए
रगतको खोलो वगाएर आफुलाई बलिमा चढाएका थिए
भर्खर घर भित्रयाएकी नवदुलहीको सिउँदो पुछिएको थियो
गर्भमा हुर्कदै गरेको बच्चा टुहुरो बनेको थियो
डाँडापारिका घामजस्ता आमा र वुवाको काख उजाडिको थियो
दासहरुको देशमा दासहरुले
मुक्तिको सपना साकार पार्न
कहिले प्रजातन्त्र ल्याएपनि
कहिले राजतन्त्र फर्काएपनि
कहिले लोकतन्त्र ल्याएपनि
कहिले गणतन्त्र ल्याएपनि
जतिसुकै शाषन, सत्ता र मालिक फेरेपनि
जतिसुकै संविधान, ऐन कानुन र नियम रचेपनि
जतिसुकै बजेट, विकास र योजना फलाकेपनि
दासहरुको देशमा दासहरुको
कालो दिन उज्यालो भएको छैन
दुःख हटेर सुख आएको छैन
दासहरुको देशमा बनेको छ
झोपडिमा जन्मिएको हिजोको दास आज नेता हुँदै मालिक
मतवाट चुनिएको सांसद, मन्त्री, प्रधानमन्त्री हुँदै मालिक
दासहरुको देशमा
दासहरुले वडामालिक हटाएर आफै मालिक बनेका छन
दासहरुलाई मुक्तिको सपना बाँडन अनेक दलहरु जन्माएका छन
दलहरुले आसेपासे दासहरुलाई मालिक बन्ने मन्त्र पढाईरहेका
चाकडी, चाप्लुसी, चुक्ली, गुटबन्दी गर
जे, जसरी हुन्छ मालिकलाई खुसी पार
मालिक बन्न इमान्दार नवन, मेहनत नगर
मनि, मसल, मदिरा, भ्रम बाँडेर दासहरुको मत आर्जन गर
पद, पैसा, पावर, प्रतिष्ठाको आडमा राज्यको ढुकुटीमा रजाई गर
दासहरुको देशमा मालिकहरुले
सिंगो देशलाई दास बनाईरहेका छन
करोडौं जनतालाई दास बनाईरहेका छन
फेरि पनि दासहरुले मुक्ति खोज्दै
थोरै मालिक हटाएर अनेकौंं मालिक जन्माएका छन
कोहि पति मालिक, कोहि प्रधान मालिक, कोहि धीश मालिक, कोहि प्रमुख मालिक, कोहि महामालिक, कोहि मुख मालिक, कोहि सहमालिक, कोहि प्रदेश मालिक, कोहि पालिका मालिक, कोहि महानगर मालिक, कोहि वडा मालिक, कोहि टोले मालिक
जहाँ गयो त्यही मालिक, कुनै छोटे मालिक त कुनै बडे मालिक
दासहरुको देशमा
जवसम्म मालिक रहन्छन तवसम्म दास रहिरहन्छ
जवसम्म दास रहन्छन तवसम्म मालिक जन्मिरहन्छन
कहिले बुझ्ने हुन दासहरुले
दासहरुको देशमा
मालिक मरेपछि मात्रै दासहरुको जन्म हुँदैन
दासहरुले दासत्व नत्यागेसम्म मालिक मर्दैन
दासहरुले कहिले दासत्व त्याग्ने हुन ?
दासहरुको देशमा
-पोखरा ५ मालेपाटन