काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ । अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित चारजना खेलाडीलाई कारबाही गरेको हो । क्यानले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा उनीहरुलाई कारबाही गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरिलाई कारबाही गरेको हो ।
उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय पनि क्यानले गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्रल कन्ट्राक्टमा खेलाडीहरुलाई गर्ने वर्गीकरणलाई लिएर कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले विभिन्न सञ्चारमाध्यममा विरोध जनाएका थिए। उनीहरुले खेलाडीहरुलाई सेन्ट्रल कन्ट्राक्टमा हस्ताक्षर नगर्न उक्साएको आरोप पनि लागेको थियो।सोमपाल कामीलगायत केही खेलाडीहरुले खेलाडी वर्गीकरणमा आफूलाई भेदभाव गरेको भन्दै असन्तुष्टि जनाएका थिए भने सम्झौतामा हस्ताक्ष गर्न समेत अस्विकार गरेका थिए। त्यसपछि क्यानले छानबिन समिति बनाएको थियो। क्यानले नयाँ कप्तानको सन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ ।