दिल्ली – कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट निरन्तर बढेको भन्दै भारतको दिल्ली राज्य सरकारले पुनः रात्रिकालिन कर्फ्यू जारी गर्ने भएको छ । सोमबार रातिदेखि पुनः कर्फ्यू जारी गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कर्फ्यू राति ११ देखि बिहान ५ बजेसम्म जारी रहने जनाइएको छ । आइतबार मात्र २९० नयाँ कोरोना संक्रमित भेटिएको भन्दै कर्फ्यू थप गरिएको हो । यो संख्या १६ प्रतिशतले वृद्धि भएको एनडीटीभीमा समाचार छ । जसमध्ये ०।५ प्रतिशतमा मात्र गम्भीर लक्षण देखा परेको जनाइएको छ ।
कर्फ्यूसँगै मानिसहरू राति ११ देखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न पाउने छैनन् । सामान्य पसल तथा मलहरू बिहान १० देखि बेलुकी ८ बजेसम्म सीमित ५० प्रतिशतको संख्यामा आलोपालो गरेर खोल्न दिने पनि समाचारमा जनाइएको छ ।
दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन्।
ओमिक्रोन भेरियन्टबाट एकको मृत्यु
अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ । पछिल्लो समय अष्ट्रेलियामा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च अर्थात् ६ हजार ३९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।
बढ्दो संक्रमणबीच आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ । बार र रेष्टुरेन्टमा हरेक २ वर्ग मिटरको दूरीमा एक व्यक्ति बस्न पाउने लगायतका नियम लागू गरिएको समाचारमा उल्लेख छ ।