पोखरा- पोखरेली साहित्यकार दीपक समीपको दोस्रो कृति मुक्तक सङ्ग्रह अक्षर–अक्षरमा देश को लोकार्पण गरिएको छ । प्रमुख अतिथि द्वय नेपाल सङ्गीत तथा नाट्य एकेडमीका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरूभक्त र एकेडमीकै संस्थापक सदस्य सचिव एवं अर्का वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले संयुक्त रूपमा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षामा एक समारोहका बीच सङ्ग्रहको विमोचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सरूभक्तले कृति प्रकाशनको लागि मुक्तककारले लामो समय लिएकाले आगामी दिनमा छिटो कृति प्रकाशन गर्न अनुरोध गर्दै स्रष्टालाई कुनै पनि रूपमा विभाजन गर्न हुन्न भनी बताउनुभयो । त्यस्तै अर्का प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठले आकार र आयातनका हिसाबले मुक्तक सानो देखिए तापनि कुनै पनि सानो वस्तु सानो हुँदैमा मूल्यहीन हुँदैन भन्दै मुक्तक पनि सानो देखिए तापनि हलुका र सजिलो विषय होइन भन्दै आजभोलि मुक्तकमा केही विसङ्गति देखापरेका कुराको चर्चा गर्नुभएको थियो ।
कृति समीक्षक नेपाली लेखक संघ कास्कीका अध्यक्ष सञ्जीव पौडेलले सङ्ग्रहमा संकलित मुक्तकहरूले नेपाली राजनीति क्षेत्रमा देखापरेका विसङ्गति–विकृतिप्रति तीखो प्रहार गरेको भन्दै मानवतावादी,पे्रम,वैदेसिक रोजगारी,शान्ति जस्ता विषयमा पनि मुक्तक सिर्जना गरिएको बताए साथै उनले मुक्तककारले संरचनाभन्दा भावपक्षलाई प्राथमिकता दिएको भनी टिप्पणी गरे । स्रष्टा दीपक समीपले कार्यक्रममा उपस्थित सबैमा आभार प्रकट गर्दै आगामी कृतिमा आफू अझ सशक्त रूपमा आउने भन्दै कृति प्रकाशनमा समयको धेरै लामो अन्तराल घटाउने विचार व्यक्त गरे । रमेश श्रेष्ठ,जीवनसागर भण्डारी,रुपिन्द्र प्रभावी जोशीले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रममा स्रष्टाको परिचय डा.ईश्वरमणि अधिकारीद्वारा गरिएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उ्रक्त लोकापर्ण कार्यक्रमा अर्जुन अधिकारीले स्वागत मन्तव्य र सञ्चालन परिवारका साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् ।
दीपक समीपको अक्षर–अक्षरमा देश मुक्तक सङ्ग्रह लोकार्पण
दीपक समीपको अक्षर–अक्षरमा देश मुक्तक सङ्ग्रह लोकार्पण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु