काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१५ हजार १ सय ३१ नमूना परीक्षण गर्दा ४ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज ४ सय ३५ जना डिस्चार्ज भएका छन्। यस्तै, ३ जनाको मृत्यु भएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ६८० छन्। आज होम आइसोलेसनमा २४ हजार ५८४ र संस्थागत आइसोलसनमा १ हजार ९६ जना रहेका छन्।
यस्तै, आज आईसीयूमा १२२ जना रहेकोमा भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ। गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ।
माघ १५ गतेसम्म फिल्म हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द
सरकारले तेस्रो लहरको कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि आगामी माघ १५ गतेसम्मका लागि फिल्म हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै आगामी माघ १५ गतेसम्म फिल्म हल र रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।
स्विमिङ पुल, जिमखाना, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, रात्रि क्लब, फुटसल, पटके हाटबजार र मानिसहरुको भीड हुने सबै किसिमका गतिविधि माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय भएको छु, एक महिना लामो कोभिड-१९ निर्देशिबारे जानकारी दिँदै उनले भने।