काठमाडौँ– प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक सरदर ९० वटा सडक दुर्घटना हुने गरेका छन्। यस आधारमा घण्टामा कम्तीमा तीनवटा सडक दुर्घटना भइरहेका हुन्छन्।
बितेको १० वर्षमा नेपालमा सडक दुर्घटनाको संख्या डरलाग्दो गरी बढिरहेको तथ्य विज्ञहरुले औंल्याएका छन्। नेपाल प्रहरीको तथ्यांकले पनि त्यसको पुष्टि गर्छ।
नेपाल प्रहरीको पछिल्लो १० वर्षको तथ्यांक पल्टाउने हो भने दुर्घटनाको ग्राफ उकालो लागिरहेको छ। वर्षमा करिब ३ हजार जनाको ज्यान दुर्घटनाका कारण जाने गरेको छ। जुन संख्या दश वर्षअघि करिब १८ सयको हाराहारीमा थियो। त्यस्तै, हाल वर्षमा ३३ हजारभन्दा बढी दुर्घटना हुने गरेका छन्।
सांसद तथा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सवारी दुर्घटना न्यूनिकरण अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडी नेपालमा सवारी दुर्घटनाका लागि चालकदेखि यात्रुसम्म जिम्मेवार रहेको बताउँछन्।
सडक र सवारीको अवस्थाका कारण धेरै दुर्घटना
दसैँका बेला असोज २६ गते मुगुको छायाँनाथ रारा नगरपालिकामा बस दुर्घटना भयो। दुर्घटनामा मुगुका ३२ जनाको ज्यान गयो। दुर्घटनाको कारण थियो टायर पञ्चर भएर बस अनियन्त्रित हुनु। भिरालो ठाउँ अनी कच्ची बाटो गाडी करिब ४०० मिटर तल खसेको थियो।
मुगुको छायाँनाथ नगरपालिकामा भएको बस दुर्घटनाका मृतकलाई जिल्ला अस्पताल मुगुमा ल्याउँदै स्थानिय
मुगु दुर्घटनाको एक दिनअघि असोज २५ गते कास्कीको घान्द्रुकमा जिप दुर्घटनामा ८ जनाले ज्यान गुमाएका थिए। बन्दै गरेको सडक र उकालोमा जिप पछाडी गुडेर तल खसेको प्रहरीको निष्कर्ष थियो।
सांसद पहाडीका अनुसार नेपालमा सडक दुर्घटना हुनुको दोस्रो ठूलो कारण हो सडकको अवस्था। ‘हामीले तयार पारेका सडक यातायातका लागि उपयुक्त छैनन्, स्काभेटरका ड्राइभर नै वरिष्ठ इन्जिनियर बनेर सडक बनाइ रहेका छन्,’ उनी भन्छन्, ‘वास्तवमा हामीले मृत्यु मार्ग बनाइरहेका छौँ।’
त्यतिमात्र नभइ भौतिक मन्त्रालयले नै बनाएका सडकहरु पनि सुरक्षाका हिसाबले उपयुक्त नभएको उनको भनाइ छ।
सांसद तथा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सवारी दुर्घटना न्यूनिकरण अध्ययन उपसमितिका संयोजक गणेश कुमार पहाडी।
नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी बसन्त बहादुर कुँवर पनि नेपालमा वैज्ञानिक अवधारणका पूर्वाधार बनिनसकेका कारण दुर्घटना बढेको बताउँछन्। उनी भन्छन्, ‘स्थानिय निकायले डोजरले सामान्य ट्र्याक बनाएर गाडी चलाइरहेको अवस्था छ। जसलाई हामीले नियमन गरिरहेका छैनौँ। जसकारण दुर्घटना हुने गरेका छन्।’
नेपाल प्रहरीको तथ्याङअनुसार आर्थिक वर्ष २०७७ र ७८ मा ३३ हजारभन्दा बढी सडक दुर्घटना भएका छन्। जसमा सवारीसाधनको अवस्थाका कारण ४६६ दुर्घटना भएको प्रहरीको रेकर्डमा छ भने सडकका अवस्थाका कारण ९०७ वटा दुर्घटना भएका छन्।
मुगु बस दुर्घटनाको प्रहरी विश्लेषणलाई आधार मान्ने हो भने दुर्घटनाको कारण सवारी साधनको अवस्था र सडकको अवस्थालाई कारण मान्न सकिन्छ। ट्र्याक मात्र खोलेको भिरालो बाटोमा पञ्चर भएर बस भीरबाट तल खसेको थियो।
नेपालमा सरदर दैनिक ९० दुर्घटना
नेपालमा सरदर दैनिक ९० दुर्घटना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु