पोखरा – उच्च अदालत पोखराले कास्कीको मादी गाउँपालिकाको तप्राङमा प्रस्तावित वन्यजन्तु पार्कविरुद्धको मुद्दा खारेज गरेको छ।
वन्यजन्तु पार्क विरुद्धमा सूर्यबहादुर आले मगरसमेत ६ जनाले रिट निवेदन गरेका थिए। रिटमा मादी गाउँपालिकालाई समेत विपक्षी बनाइएको थियो। ‘निवेदन माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भनी फैसला भएको बेहोरा जानकारी गराइन्छ,’ अदालतले गाउँपालिकालाई पठाएको पत्रमा भनिएको छ, ‘२०७८।०९।२५ को फैसलाको पूर्ण पाठ तयार भएपश्चात पठाइने छ।’ मुद्दा खारेज भएको जानकारीमूलक पत्र अदालतले मादी गाउँपालिकालाई बिहीबार पठाएको छ।
मादी गाउँपालिकाले तप्राङमा वन्यजन्तु पार्क निर्माणलाई गाउँपालिकाकै गौरवको योजना बनाएको थियो । त्यसका लागि डिपिआर, इआइएसमेत गरी योजना अघि बढेको थियो। डिपिआर अनुसार योजना पूरा गर्न १८ करोड रुपैयाँ लाग्ने अनुमान रहेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ बताउँछन्। पहिलो चरणमा भने ६ करोड रुपैयाँका काम गर्ने गरी गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग समपुरक अनुदानसमेत लिई २ करोड रुपैयाँ छुट्याएको जानकारी अध्यक्ष गुरुङले दिए।
‘२ करोड रुपैयाँ छुट्याएर टेन्डरसमेत भई काम अघि बढ्दै थियो, मुद्दा पर्यो,’ अध्यक्ष गुरुङले भने, ‘अदालतको आदेशले काम रोकियो, ठेकेदारले पेस्की रकमसमेत लगेर काम गर्दा गर्दै रोकिनुपर्यो, हाम्रो बजेट पनि फ्रिज भयो।’ अर्को वर्षसमेत त्यसरी नै बजेट छुट्याएको तर अदालतबाट फैसला आइनसक्दा त्यो बजेट पनि फ्रिज भएको जानकारी अध्यक्ष गुरुङले दिए।
‘अहिले मुद्दा खारेजको फैसला त आयो, तर ढिला आयो,’ उनले भने, ‘अब हामी बजेटको स्रोत खोज्न कहाँ जाने?’
पार्क बनाउन त्यस क्षेत्रका सांसदहरुले समेत क्षेत्र पूर्वाधार विकास कार्यक्रम कोषबाट बजेट छुट्याएका थिए।
गाउँपालिकाले तप्राङको प्राकृतिक वन, खर्क, खोलानाला लगायतको क्षेत्र समेटेर पार्क निर्माणको योजना बनाएको थियो। वन्यजन्तुको चोरी सिकारी रोक्ने, तिनको संरक्षण गर्ने र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गाउँ पालिकाको योजना थियो ।
पार्क यस्तो बन्दै थियो
मादी गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा मादी–६ तप्राङमा पार्क निर्माण गर्न लागेको थियो ।
पर्यटकिय नगरी पोखरादेखि २० किलोमिटर उतरपूर्वि क्षेत्रको पोखरा–सिक्लेश सडक खण्डको मध्य भागतिर करीब २ हजार रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम शुरु गरिदै थियो । जनावर मेरो साथी भन्ने अवधारणा अनुरुप ‘तप्राङ खुला वन्यजन्तु पार्क’ नाम दिएर खुल्ला वन्यजन्तु पार्क निर्माण गर्न लागिएको प्रमुख गुरुङको भनाई छ ।
पहिलो चरणको काम सम्पन्न गर्नका लागि २ करोडको बोलपत्र आह्वान गर्दा एमएनसी लोयल जेभी पोखराले १ करोड ४३ लाख ३४ हजारमा ठेक्का पाएको थियो । पहिलो चरणमा प्रवेशद्धार, टिकट काउन्टर, तारजालीको काम बाउन्ड्री वाल वनभोज स्थल पिकनिक स्पट, ढुुङ्गाको सिडी फुट ट्रयाक लगायतका काम भइरहेको बेला मुद्धा परेपछि काम रोकिएको थियो ।
पर्यटकीय केन्द्र बनाउने उद्धेश्यसहित निर्माण गरिन लागेको पार्कमा जंगली जनावरहरु खुल्ला रुपमा छाडिनेछ ।
पार्कमा मृग, रतुवा, बाह्रसिंगे, कस्तुरी, जरायो, खरायोलगायतका जंगली जनावरहरु राखिने छ ।
पार्क अगाडिको भागमा आकर्षक स्वागत द्वार निर्माण गरिनेछ भने त्यसको दायाँबायाँ होटल तथा रेष्टुरेण्ट निर्माण गरिने प्रमुख गुरुङले बताए । पार्क अवलोकनका लागि टिकटको ब्यबस्था गरिने उनको भनाई छ । पार्क भित्र जंगल सफारी गर्ने ब्यबस्था हुने र सो जंगल सफारी करीब डेढदेखि २ घण्टाको हुने गुरुङले बताए ।
पार्क निर्माण गरेर तप्राङलाई प्रमुख पर्यटकीय केन्द्र बनाउँदै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने उद्धेश्य लिइएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले बताए । पार्क निर्माण भएपश्चात गाउँपालिका सँगसँगै स्थानियकोसमेत आयआर्जन बृद्धि हुने र रोजगारीसमेत बृद्धि हुने अपेक्षा लिइएको उनको भनाई छ । साथै पार्क वन्यजन्तुहरुको अध्ययन केन्द्रसमेत बन्नसक्ने उनले बताए ।
पार्क निर्माण स्थलबाट हिम श्रृंखलादेखि पर्यटकीय क्षेत्र सिक्लेश, नामार्जुङलगायतका क्षेत्र दृश्यावलोकन गर्न सकिने छ ।