काठमाडौं – मासिक करोडौं रुपयाँ कमिसन एक्लैले कुम्ल्याउने लोभले एक व्यापारिले आफ्नै समुहका तीन व्यवसायिक साथिको हत्या गरेको खुलेको छ ।
रकमको लोभमा व्यापारिक समुहकै एक जनाले भारतीयको प्रयोग गरेर तीन जना साझेदारको हत्या गरेका प्रहरी अनुसन्धानवाट खुलेको छ ।
मोरङको उखुवारीमा दुई जना र ललितपुरको गोदावरीमा एक जनाको हत्या उद्योग र व्यवसायवाट आउने करोडौं फाइदा एक्लैले कुम्ल्याउन गरिएको प्रहरीले पत्ता लगाएको छ ।
हत्याका मुख्य योजनाकार सिरहाका अनिलकुमार मण्डलले भारतीय हत्याराहरु प्रयोग गरेर आफ्नै समुहका व्यापारिक साझेदार तेह्थुमका मोहन लिम्वु, धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु चौधरीको हत्या
गराएका थिए । उनीहरुले घरजग्गाको कारोवार, हाईडो पावर, सिमेन्ट उद्योग लगायतका व्यापार, व्यवसायमा साझेदारको रुपमा काम गर्दै आएका प्रहरीले जनाएको छ । तिनै व्यवसायवाट मासिक आउने करोडौ कमिसन एक्लैले कुम्ल्याउन मण्डलले भारतीय हत्याराहरु खरिद गरेर सहकर्मीहरुको हत्या गरेका प्रहरीले जनाएको छ ।
धरानका राजेन्द्रकुमारको शव उखुवारीमा भेटिएपछि प्रहरीले उनीसँग पछिल्लो समय मोवाईलमा सम्पर्क गरेका व्यक्तिहरुलाई अनुसन्धानको दायरमा ल्याएर अभियुक्त खोज्दै जाँदा मुख्य योजनाकार सिराहाका अनिलकुमार मण्डल तानिएका थिए ।
मण्डलले ललितपुरको गोदावरी नगरपालिका १२ धापाखेल बसपार्क नजिकै मंसिर २८ गते लिम्बुको हत्या गराएका थिए । तेह्रथुम घर भएका लिम्बुको हत्या भएको ७ दिनपछि सोही समूहका दुई जनाको पनि हत्या गराएका थिए । मोरङको उखुबारीमा ३० मिटरको फरकमा गाडिएको अवस्थामा भेटिएका दुई जनाको पनि फरक फरक समयमा हत्या भएको थाहा भएको छ । ‘हामीले पक्राउ गरेका व्यक्तिले पुस ५ गते सुनसरीको धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेको र पुस ७ गते सप्तरीका शम्भु चौधरीको हत्या गरेको खुलेको हो। मृतक तीनै जना व्यवसायी हुन्।
हत्या अभियोगमा प्रहरीले सिरहाका अनिलकुमार मण्डलसहित तीन जनालाई पक्राउ गरेको छ । मण्डललाई अपराध महाशाखाले काठमाडौंबाट र अरु २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले तीन दिनअघि नै मण्डललाई पक्राउ गरे पनि शुरुमा हत्या गरेको अस्वीकार गर्दै आएका उनले आफुले हत्यामा खटाएका दुई जनाले सबै पोल खुलेपछि बल्ल स्वीकार गरेका थिए ।
मण्डललाई ललितपुरवाट मोरङ लगेर तीनै जनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्दा घटनाको थप रहस्य खुलेको हो।
मण्डलले बिहीबार साँझ हत्या गरेको स्वीकार गर्दै शव रहेको स्थान समेत बताइदिएका थिए। प्रहरीले लिम्बुको शव उत्खनन् गरेर पोष्टमार्टमको लागि अस्पतालमा लगेको छ ।
चौधरी र श्रेष्ठको शव भने माघ १३ गते उखुबारीमा फेला परेको थियो। अनुसन्धानका क्रममा लिम्बु समेत बेपत्ता भएको खुलेको थियो।
गोदावरी नगरपालिका–४ की वडा सदस्य शोभा कार्कीका अनुसार प्रदीपको घर बाल संसार नामक मन्टेश्वरीलाई भाडामा दिइएको थियो । ‘कोरोना महामारीका कारण मन्टेश्वरी चलेन, बन्द भएपछि घरमा ताला थियो’ कार्कीले सुनाइन्, ‘तीन महिना अघि मात्रै मान्छे बस्न थालेका रहेछन् ।’
घरवेटी जुमनाका अनुसार घर खाली भएपछि बुहारी दिप्तीले फेसबुकमा कोठा खाली रहेको सूचना पोष्ट गरेकी थिइन् । फेसबुकबाटै उनले मासिक ३० हजार तिर्ने गरी अनिल मण्डललाई घर भाडामा दिएकी थिइन् । जमुना भन्छिन्, ‘अनलाइनबाट भाडामा दिएको भन्ने थाहा थियो, तर को आउँछन्, जान्छन्, देखिन्नथ्यो ।’
उनी कहिले काहीँ प्रदिपको घरमा जानखोज्थिन्, तर सधैँ ताला लागेको हुन्थ्यो । ‘वेलावेला गोडमेल गर्न मन लाग्थ्यो, तर भित्र छिर्न पाइन्थ्यो, कहिल्यै मान्छे पनि देखिएन’ उनी भन्छिन्, ‘यताकी बुहारीले पनि एकपटक मात्र इन्डियन जस्तो मान्छे देखेकी रैछिन् ।’
नजिकै रहेको किराना पसलका सञ्चालक गोविन्द महर्जन चाहिँ कहिलेकाहीँ शव भेटिएको घरबाट ३ र ४ जना रासन लिन आउने गरेको बताउँछन् । ‘गार्मेन्टको काम गर्ने भन्थे, धेरै कुरा हुँदैन्थ्यो’ उनले भने, ‘अहिले शव भेटिएको सुन्दा पो छक्क परेँ ।’
बिराटनगर लगिएका थिए मुख्य आरोपी
मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको वस्ती नजिकै रहेको उखुबारीमा १३ माघमा दुई जनाको शव भेटिएको थियो । उखुबारीमा काम गर्ने मजदुरले शरीरको केही भाग गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चार र पाँच दिनसम्म पनि मौन बसेका मण्डललाई बिहीबार दिउँसो १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मोरङ लगिएको थियो । मोरङमा उनलाई सहयोग गर्ने दुई जना पहिल्यै हिरासतमा पुगिसकेका थिए, त्यसैले उनले आफ्नो अपराध लुकाउन सकेनन्
घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले १३ गतै नै एउटा शव फेला पारेको थियो, त्यसको नजिकै पनि एउटा शंकास्पद खाल्डो फेला परेको थियो । अर्को दिन त्यहाँ उत्खनन् गर्दा थप एक जनाको शव भेटिएको थियो ।
भक्तपुरका श्रेष्ठ लेनदेन मिलाउनु छ भन्दै मंसिर पहिलो साता पूर्वतिर हिँडेको उनको परिवारले बतायो । कल डिटेल रेकर्ड सीडीआरले पनि त्यही संकेत गर्छ । उनीसँग सम्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बुको कनेक्सन फेला पार्यो ।
‘शम्भुको शव भेटिइहाल्यो, अनिल मण्डल र मोहन लिम्बु चाहिँ कता छन् भनेर खोज्दा लिम्बुको मोबाइल अफ थियो, मण्डल चाहिँ ललितपुरतिरै देखिए’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसपछि अपराध अनुसन्धान महाशाखाले उनीसहित केहीलाई निगरानीमा राखेर सोधपुछ गर्यो, तर उनले कसूर स्वीकारेनन् ।’
तर पछि प्रमाण अगाडि भएपछि उनले पनि इन्कार गर्न सकेनन् ुर लिम्बुको पनि हत्या गरिसकेको स्वीकार्दै ललितपुरको थेचोमा रहेको गोदाम पछाडि गाडेको बताएपछि घटनास्थलमा प्रहरी टोली पठाईएको थियो ।
एक महिनाअघि सँगै लिएर गएर हत्या
जिल्ला प्रहरी कार्यालय, मोरङले गरेको अनुसन्धानका क्रममा मण्डल २८ मंसिरमा बिराटनगर गएको देखिन्छ । ‘त्यतिवेला विराटनगरमा मारिएका राजेन्द्र र शम्भु पनि उनीसँगै गएका थिए’ एक अधिकृतले भने, ‘थेचोमा लिम्बुको हत्या भइसकेको रहेछ, तर राजेन्द्र र शम्भुलाई थाहै थिएन ।’
स्रोतका अनुसार बिराटनगर पुगुञ्जेल मण्डल अर्का साझेदार लिम्बु पनि आउँछन् भनिरहेका थिए । केही दिन बिराटनगरमै बस्दा पनि उनीसँग सम्पर्क भएन । राजेन्द्र र शम्भुले सोधीखोजी गरिरहे । तर मोहनबारे जानकारी नपाउँदै अनिलले केही व्यक्तिको सहयोग लिएर राजेन्द्र र शम्भुको पनि हत्या गरेको प्रहरी बताउँछ ।
अनुसन्धान अधिकृतका अनुसार तीनै जनाको घाँटीमा डोरीले कसेर हत्या गरेको देखिन्छ । त्यसपछि शवलाई खाल्डो खनेर गाड्ने प्रयास गरिएको छ । ‘बिराटनगरमा शव नभेटिएको भए यो घटना बाहिर नआउन पनि सक्थ्यो, अथवा लामो समय लाग्न सक्थ्यो’ एक अधिकृत भन्छन्, ‘उनले पर्फेक्ट योजना बनाएका थिए, तर ३ र ३ जनाको हत्या लुकाउन कहाँ सजिलो थियो र’
स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गरेका थिए । ‘एउटा व्यवसायको एक करोड बढी कमिसन आउँदै थियो, त्यही लोभमा मण्डलले तीन जनाको हत्या गराएको देखिन्छ’ ती अधिकृत भन्छन्, ‘हत्यामा उनले पैसा दिएर सहयोगीहरु प्रयोग गरेको पाइयो ।’