बिराटनगर – सुनसरीमा शुक्रबार साँझ बस र ट्रक ठोक्किएर आगलागि हुँदा जलेर तीन जनाको मृत्यु भएको छ। विराटनगर सुनसरीको कोसी गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकाको सिमानामा रहेको खुनिया पुलमा बस र ट्रक आपसमा ठोक्किएका थिए ।
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक साँझ ७ ः३५ बजेतिर आपसमा ठोक्किएका थिए । दुर्घटनामा बसमा सवार २८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा बसका चालक, एक जना यात्रु र ट्रकका चालक हुन्। मृतकमध्ये बस चालक पाँचथरका सुरेन राई भएको प्रहरीले जनाएको छ। ज्यान गुमाएका ट्रक चालक र बसमा सवार एक जना यात्रुको भने सनाखत हुन बाँकी छ।
तीनवटै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। दुर्घटनापछि बस र ट्रकमा आगलागी हुँदा उद्धारमा समस्या भएको थियो। आगलागीका कारण उद्धार गर्न नसक्दा बस र ट्रकभित्रै जलेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले स्थानीयको सहयोग लिएर घाइतेहरुको उद्धार थालेको थियो।
उद्धारको काम जारी रहेका बेला अचानक बस र ट्रकमा आगलागी सुरु भएको ट्राफिक प्रमुख एसपी बासुदेव खतिवडाले बताए।
‘घाइतेहरु बसमा च्यापिएका थिए। स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका बेला दुर्घटनामा परेको बस र ट्रकमा अचानक आगलागी सुरु भयो,’ उनले भने, ‘धुवाँको मुस्लो निस्किएपछि उद्धार गर्न गाह्रो भयो। तर पनि बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइयो।’
दुर्घटनापछि चालकहरु बस र ट्रकभित्रै च्यापिएका थिए। प्रहरीका अनुसार तत्काल बाहिर निकाल्न नसक्दा अचानक सुरु भएको आगोले भित्रै जलेर उनीहरुको मृत्यु भएको हो। बसमा रहेका अर्का युवाले उद्धारका लागि हारगुहार गरिरहँदा पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।
‘सबै जनाको उद्धार गरिए पनि चालक र बसका एक जना यात्रुभित्रै च्यापिएका थिए। यात्रुले मेरो खुट्टा काटेर भएपनि मलाई बाहिर निकालिदिनु भनेर हारगुहार गरिरहे,’ उद्धारमा खटिएका एक प्रहरीले भने, ‘बारम्बार बचाउ–बचाउ भनेर चिच्याइरहँदा पनि आगो दन्किएपछि हाम्रो कुनै उपाय लागेन। बसभित्रै जलेर केही बेरमै उनको मृत्यु भयो।’ उद्धारमा खटिएका सशस्त्र र नेपाल प्रहरीको पोसाकसमेत आगोले जलेको छ।
दुर्घटना र आगलागीबाट दुवै सवारी साधनको अगाडिको भागमा क्षति पुगेको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।