काठमाडौं – सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र बनाएको बताए पनि १ करोड १२ लाख नागरिक अझै खोपको पहुँच बाहिर रहेको पाइएको छ ।
आगामी चैत मसान्त अर्थात् अबको ६३ दिनभित्र सबै नागरिकलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराइसक्ने सरकारको लक्ष्य छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाअघि पदबहाली गर्दा खोप पहिलो प्राथमिकतामा रहेको बताएका थिए । ुमेरा तीनवटा प्राथमिकता खोप, खोप र खोप,ु देउवाले भनेका थिए ।
तर, सरकारलाई लक्ष्यमा पुग्न सकस देखिएको छ । अझै पनि एक करोड १२ लाख ८० हजार ५४१ नागरिकले खोपको कुनै पनि मात्रा नलगाएको पाइएको छ । दैनिक एक लाख ७९ हजार ५६ नागरिकलाई पहिलो मात्रा दिनसके मात्रै लक्ष्यमा पुग्ने देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अद्यावधिक विवरणअनुसार मंगलवारसम्म १ करोड ५८ लाख एक हजार ७३४ नागरिकले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै, एक करोड ७९ लाख ११ हजार ९३९ नागरिकले खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ४४ हजार ५४४ नागरिकले अतिरिक्त खोप लगाएका छन् । सरकारले एक करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई पूर्णमात्रा खोप लगाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।संगिता कौशल मिश्रले खोप अभियान तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘सरकारले खोप अभियान तीव्र पारेको छ । मुख्यतः कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि आम नागरिकलाई चैत मसान्तभित्र कोरोना विरुद्ध खोपको पूर्ण मात्रा लगाइसक्ने बताउँदै आएका छन् । सरकारले पर्याप्त मात्रामा खोप मौज्दात रहेको भन्दै खोप अभियानलाई तीव्र पारिएको जनाएको छ ।
हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्रेजेनिका, फाइजर खोप उपयोगमा आएको छ । जसमध्ये जोन्सन एण्ड जोन्सन खोप एक मात्रा भए पुग्छ भने फाइजर खोप बालबालिकाका लागि प्रयोगमा छ । अतिरिक्त खोपका रुपमा बुस्टर डोज प्रयोगमा आएको छ ।