काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको छ । बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।