काठमाडौँ -नेपालका तारे होटलमा खोलिएका क्यासिनोमा बिदेशी पर्यटकहरुका लागि मात्र खेल्ने अनुमति भएपनि नेपालीहरु पनि खेल्न भएर उठिवास भएका अनेक उदाहरण छन ।
रातारात मालामाल बन्ने लोभमा जुवाखाना क्यासिनो छिरेका करोडपति नेपालीहरु रोडमा पुगेर परिवारलाई समेत घर न घाटका बनेका धेरैलाई थाहा छ ।
अनुमति लिदा बिदेशी पर्यटकका लागि मात्रै खेलाईने भनिएपनि नेपालका क्यासिनोका बास्तविक ग्राहकहरु नेपाली व्यापारी, व्यवसायी र पेशाकर्मीहरु बढि भेटिन्थे । प्रहरी प्रशासनलाई मोटो रकम घुस खुवाएर धेरैलाई उठिवास बनाउने नेपालका क्यासिनोको धन्धा नै हो ।
नेपालका क्यासिनोहरुमध्ये अहिले सरकारले काठमाडौंको होटल याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रोयल्टी नतिरेका कारण रद्द गरिदिएको छ । उक्त होटलले करिव ४२ करोड रुपयाँ रोयल्टी बापत नबुझाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट ईजाजत रद्द गरेको हो ।
पर्यटन विभागका महानिर्देशक तारा अधिकारीले करिब ३८ करोड रुपैयाँ बक्यौता नतिरेकोले नेपालगन्जको ड्रिमल्यान्ड होटल र क्यासिनो पनि बन्द गरिएको बताए ।
रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री प्रेम आलेले याक एन्ड यति होटल र नेपालगन्जको ड्रिमल्यान्ड होटल र त्यहाँ रहेको आधुनिक उपकरणबाट खेलाइने क्यासिनो बन्द गर्ने निर्णय गरेका हुन । २०४८ पुस २२ मा मन्त्रालयबाट क्यासिनो सञ्चालनको इजाजत लिएको याक एन्ड यतिले २०७० यता रोयल्टी नबुझाएको विभागले जनाएको छ ।
विभागले मन्त्रालयको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सहयोगका लागि पत्र पठाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई याक एन्ड यति होटलका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई होटलका नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएको छ । नेपालगन्जको होटल प्रदेश सरकारमातहत रहने भएकाले विभागले दर्ता भएको देखिए खारेज गर्न प्रदेश सरकारलाई भनेको छ ।