दाङ – जुत्ता तथा चप्पलको गोदाममा भीषण आगलागि हुँदा दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा बिहीवार राति ५ जनाको मृत्यु भएको छ ।
इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परेर चार पुरुष र एक बालिकाको ज्यान गएको हो । उनीहरु सबै जुत्तापसल भएको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली र ५ वर्षीय, अबिददिन अलीको मृत्यु भएको छ। प्रहरीले पाँचै जनाको आगोको धुवामा निस्सासिएर मृत्यु भएको अनुमान गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले घटनास्थलवाट चार पुरुष र एक बालिकाको शव निकालेको र केहि बेर अघि आगो नियन्त्रणमा लिईएको वताए ।
आगो नियन्त्रणमा इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलसहित स्थानीयबासी खटिएका थिए । बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।
विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालका अनुसार उक्त जुत्ता चप्पलको गोदाम मुस्लिम समुदायका ब्यक्तिले सञ्चालन गर्दै आएका थिए।