चितवन – चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको लार्पावाहीले निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डको नालीमा फसेर गैंडा मरेको छानवीन समितिको प्रतिवेदनले ठहर गरेको छ ।
समितिले दुर्लभ एकसिंगे गैंडा कानुनी प्रक्रिया पूरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा दुर्घटनामा परेर मरेको मरेको देखाएको छ ।
मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा प्रतिवेदन बुझाएको हो। गोन्द्राङ टिकौली जंगलनजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएको सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा एकसिंगे भाले गैंडा मरेको थियो।
उक्त घटनाको विषयमा रायसहितको प्रतिवेदन पेश गर्न मन्त्रालयले माघ ११ गते कार्यदल बनाएको थियो। वातावरणीय प्रभाव मूल्यांकन ईआईए गर्नुपर्ने सडकको कामलाई प्रारम्भिक वातावरणीय परीक्षण आईईईको प्रक्रियामा लगिएको पाइएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए।
‘१० किमिभन्दा बढी भएको भए ईआईए गर्नुपर्ने भएकाले त्यसलाई छल्नका लागि आईईईको प्रक्रियामा हालिएको तर त्यसको पनि काम पूरा नभएको भन्ने छ’, उनले भने।
ईआईए गर्नुपर्ने काममा सडक डिभिजनबाट नियमको उल्लघंन भएको उनले बताए। ‘अर्को कुरा, त्यो कन्स्ट्रक्सनको बेला अनुगमन गर्नुपर्ने र प्राविधिक हिसाबले हेर्नुपर्ने कुरामा लापरबाही भयो। हेरिएन भन्ने विषय छ। निकुञ्जबाट त्यसको अनुगमन गर्नुपर्थ्यो। सुरक्षाकर्मीबाट हेर्नुपर्थ्यो। त्यो विषयमा कमीकमजोरी रह्यो भन्ने छ’, उनले भने।
लापरबाही गर्ने निकायले नै अनुसन्धान गर्दै
व्यक्ति विशेषलाई कारबाही गर्नुपर्ने भनेर सिफारिस भने नभएको उनले बताए। व्यक्ति विशेषलाई कारबाहीका लागि निकुञ्जले गरेको अनुसन्धानका आधारमा हुने उनी बताउँछन्।
यस हिसाबले आफ्नो कमजोरीलाई लुकाएर निकुञ्जले अरुलाई नै कारबाही गर्न सक्ने आशंका बढेको छ। मध्यवर्ती क्षेत्रमा निर्माणाधीन पूर्वाधारको निकुञ्जले अनुगमन नगरेको प्रतिवेदनले बताएको छ। त्यतिमात्रै नभएर लापरबाही गर्ने निकुञ्ज र सडकका कर्मचारीलाई निजामती सेवा ऐनअनुसार कारबाहीको लागि सिफारिस गरिएको छ।
‘कानुनी कारबाहीका लागि छानबिनको काम त बाँकी नै छ। त्यहाँको अनुसन्धान अधिकृतले गरिरहनुभएको छ । त्योअनुसार हुने हो’, उनले भने । वन्यजन्तुमैत्री पूर्वाधार बनाउने र समन्वयकारी ढंगले काम गर्नुपर्ने कुरालाई समेटेर कार्यदलले सुझाव दिएको छ।
कार्यदलमा वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसी, वन तथा वातावरण मन्त्रालयका उपसचिव कानुन० रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल थिए।
ठेकेदार पक्राउ परेनन्
निकुञ्जले उक्त घटनामा ठेकेदार दोषी भएको भन्दै माघ १३ गते इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
ठेकेदार आफै सम्पर्कमा आएकाले पक्राउ नगरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए। निकुञ्जका अनुसन्धान अधिकृत राजु घिमिरेले यस घटनाको विषयमा अनुसन्धान गरिरहेका छन्।
निकुञ्जको देवनगर पोष्टका तल्लो तहका कर्मचारीहरुले समयमा नै सडक विस्तारको अनुगमन नगरेको बताइएको छ। वन तथा वरण्डाभार क्षेत्रमा अण्डरपास वा ओभरपास बनाउने अवधारणा अझै पनि नहुँदा यस्ता दुर्घटनाहरु निम्तिने क्रम बढेको छ।
यसअघि निकुञ्जले नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ईआईए नगरिएको भन्दै तीन महिनासम्म काम रोकेको थियो।
अहिले सो सडकखण्डको विभिन्न ठाउँमा अण्डरपास बनाउने गरी संरचना तयार गरिँदै छ। तर निकुञ्ज प्रशासनको नाकैमुनि रहेको गोन्द्राङ–पुलचोक खण्डमा भने निकुञ्जले चासो नदिएको भन्दै आलोचना हुँदै आएको छ।
निकुञ्ज र सडक डिभिजनको लार्पावाहीले गैडाको मृत्यु
निकुञ्ज र सडक डिभिजनको लार्पावाहीले गैडाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु