नेपालगञ्ज – भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे। चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ समेत गर्न भ्याउँथे।
चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ। उनीहरु बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहित ठूलो धनसम्पत्तिसमेत लुट्न सफल भएका थिए। त्यही मनिहार साथीसँगै बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेको कब्जामा परे। गाउँले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुको चोरी–डकैती गर्ने तरिका पर्दाफास भएको हो।
मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका– ८ शितलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो। माघ १७ गते बाँकेको खजुरा गाउँपालिका– ४ डीगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो। माघ २९ गते जानकी गाउँपालिका– ५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रुपैडिहाका निजामुद्दिन कवडिया गाउँलेको कब्जामा परे।
मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए। मनिहारका अनुसार रुपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन्। यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०÷११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो।
बाँके खजुराको विकको घरमा राति एक बजे लुटपाट गरिएको थियो। पीडित हरिप्रकाश विकका अनुसार पछाडिको ढोकाबाट भित्र छिरेका चार जना डाँकाले सुरुमा छोरालाई नियन्त्रणमा लिएका थिए। अर्को छोरालाई बुवाआमा सुतेको कोठाको ढोका खोल्न लगाए। छोराले मलाई ज्वरो आएको छ, ढोका खोल्नु भनेपछि हरिप्रकाशले ढोका खोलेका थिए। ढोका खोल्नेबित्तिकै टोपी लगाएका र मुख छोपेका व्यक्तिले विकको कन्चटमा पेस्तोल ताकेर हात पछाडि बाँधेका थिए। घरको सबै ठाउँमा खानतलासी गर्न डाँका समूहले विकको घरमा एक घण्टा बिताएको थियो।
अन्तिममा विकको परिवारलाई एउटा कोठामा थुनेर बाहिरबाट चुकुल लगाएर डाँका टोली गएको थियो। विकको खजुरा–१ मा सुन पसल छ। विकले त्यो दिन आफूसँग धेरै सुन नरहेको बताए।
बाँके प्रहरी घटनामा संलग्न अरु भारतीयलाई पक्राउ गर्ने प्रयासमा छ । बर्दियामा डकैटी गर्दा ६ जना थिए भने खजुरामा चार जना आएका थिए।
यी ६ जना पेशेवर डाँका रहेको प्रहरीले बताएको छ। बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिनभरि चल्ला बिक्री गर्दै घरघरमा पुगेर रेक्की गर्ने र राति साथीहरु ल्याएर डकैती गर्ने गरेको बताए।
उनले सबै पेशेवर डाँकालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए। यो डाँका टोलीसँग कटुवा पेस्तोल रहेको छ। पेस्तोलको कारोबारसमेत गर्ने बुझिएको छ।
यो टोलीका अकिल साई भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ रहेको मनिहार बताउँछन्। मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्धामा लागेका हुन्। भारतमा उनीविरुद्ध आठ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ।
बाँके र बर्दिया भारतको सीमावर्ती जिल्ला हुन्। अपराधीहरुले नेपाल र भारतको खुला सिमानाको फाइदा लिँदै आएका छन्।
दिनभर घरघरमा चल्ला बोकेर रेक्की, रातपरेपछि डकैती गर्नेहरु पक्राउ
दिनभर घरघरमा चल्ला बोकेर रेक्की, रातपरेपछि डकैती गर्नेहरु पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु