काठमाडौँ -हत्या गरेर जेब्रा झोलामा शव टुक्राटुक्रा पारेर फालिएका दिनेश सिग्देलको हत्या उनकै कान्छी श्रीमतीले नाठोसँग मिलेर गरेको खुलेको छ। ४३ वर्षीय सिग्देलको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय धरानले दिनेशकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीलाई सार्वजनिक गरेको हो।
सरोज गाडीचालक हुन्। सरोज र अनिता सँगै बस्दै आएको पनि खुलेको छ। सरोजकी एउटी छोरी समेत छन्। तर श्रीमतीसँग सम्बन्ध राम्रो नभएका कारण उनी माइतीमा नै बस्न थालेपछि करिब ६ महिनादेखि अनितासँग बस्दै आएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
अनिता र सरोजले विवाह गर्नका लागि दिनेशको हत्या गरेको प्रहरीलाई बताएका छन्।
इलामको बाँझो १ घर भएका दिनेशले हाल मोरङको विराटनगर महानगरपालिकामा कोठा भाडामा लिएका थिए।
१० महिनाअघि बहराइन गएका दिनेश २०७८ पुस २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए। २१ गते काठमाडौंबाट बसमा विराटनगर गएका उनी कान्छी श्रीमती अनिता केसीसँगै विराटनगरको फ्यामिली होटलमा बसेका थिए।
२२ गते बेलुका दिनेश र अनिता पिपलचोकस्थित आफ्नो डेरा फर्किएका थिए। त्यसै दिन अनिताका प्रेमी सरोज भण्डारी पनि उनीहरुको घरमा गएका थिए।
पूर्वयोजना अनुसार सरोजले दिनेशसँग सामान्य कुराकानी गरेका थिए। त्यसलगत्तै सरोज र अनिताले गलबन्दीले घाँटी कसेर हत्या गरेका थिए। हत्या गरेर शव कोठामै छाडेर उनीहरु भने बाहिर बास बसेको खुलेको छ।
२३ गते बिहान उनीहरुले स्थानीय पसलबाट चार हजार रुपैयाँमा ग्राइन्डर मेसिन, दुई वटा जेब्रा झोला र पोलिथिन झोला खरिद गरेका थिए। ग्राइन्डर मेसिन र खुकुरीको सहायताले शवको घाँटीमा काटी टाउको र दाहिने तिघ्राको भाग एउटा झोलामा र बाँकी भाग अर्को झोलामा प्याक गरेका थिए।
दिउँसो २ बजे ट्याम्पो भाडामा लिई इटहरी, धरान हुँदै शव फालेका थिए। शव फालेर उनीहरु भेडेटार बसेका थिए। भोलिपल्ट मात्र विराटनगर फर्किएको खुलेको छ।
सोमबार पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानले ज्यानसम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
जेठी श्रीमती निर्मला सिग्देलले भने श्रीमान विदेशबाट आए पनि कान्छी भए ठाउँमै जाने गरेको बताएकी थिइन्। यस पटक पनि विदेशबाट आउने जानकारी पाए पनि घर भने नआएको बताएकी छन्। त्यसपछि प्रहरीले कान्छी श्रीमती र सरोजलाई पक्राउ गरेको थियो।
शव फेला परेको लामो समयसम्म शवको पहिचान समेत हुन सकेको थिएन।
नेपाल प्रहरीले बहराइन प्रहरीको सहयोगमा त्यहाँबाट फर्किएका व्यक्तिको विवरण माग गरेको थियो। तीमध्ये दिनेश नेपाल फर्किएको देखिए पनि उनी घर नपुगेको खुलेपछि प्रहरी परिवारसम्म पुगेको थियो।
सेक्युरिटी गार्डका रुपमा काम गर्ने सिग्देल नेपाल फर्किएको र काठमाडौं विमानस्थलमा समेत रेकर्ड देखिए पनि उनी घर परिवारसम्म पुगेको नदेखिएपछि अनुसन्धानमा कान्छी श्रीमती तानिएकी हुन्।
गत फागुन ४ गते बेलुकी ५ बजे धरान उपमहानगरपालिका ४ कोसी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्ड नजिकै शव फेला परेको थियो। टाउको र एउटा खुट्टा काटेर जेब्रा झोलामा प्याक गरेर फालेको अवस्थामा फेला परेको थियो।
सडक भन्दा ४५ फिट पश्चिममा जेब्रा झोलामा प्याक गरेर फालेको अवस्थामा टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको भाग फेला परेपछि प्रहरीले थप भाग खोजी गरेको थियो।
फागुन ५ गते बिहान डेढ किलोमिटर माथि सडक भन्दा ३२ फिट पश्चिममा जेब्रा झोलामा नै प्याक गरेको अवस्थामा घाँटीभन्दा मुनिको भागको शरीर सहित बाँया खुट्टा फेला परेको थियो।
शवको सोमबार मात्रै पहिचान भएको थियो। शवको पहिचान भएलगत्तै प्रहरी हत्याका अभियुक्तसम्म पुगेको हो।
नाठोसँग मिलेर कान्छी श्रीमतिले गरिन विदेशवाट फर्किएका श्रीमानको हत्या
नाठोसँग मिलेर कान्छी श्रीमतिले गरिन विदेशवाट फर्किएका श्रीमानको हत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु