पोखरा – अमेरिकी सहायता परियोजना एमसीसीको बिरुद्ध बुधवार साँझ पोखरामा राँके जुलुस प्रर्दशन गरिएको छ । प्रतिनिधि सभाको सदनवाट एमसीसी पास गर्नेहरुलाई एक एक गरी ध्वस्त पार्ने प्रर्दशनकारीहरुले चेतावनी दिएका छन । प्रर्दशनकारीहरुले प्रधानमन्त्री शेरवहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपि ओलीलाई अमेरिकन दलाल बनेर एमसीसी पास गर्ने चलखेलमा लागेको भन्दै कुनै पनि हालतमा पास नगर्न खवरदारी गरेका छन । उनीहरुले कम्युनिष्टको नेता भएपनि एमसीसीको पक्षमा वकालत गर्नेहरुलाई कुनै हालतमा छुट दिन नसकिने वताएका छन ।
हातमा राँको बोकेर गो व्याक एमसीसी भन्दै नारावाजी गर्दै निस्केका प्रर्दशनकारीहरुलाई ठाउँ ठाउँमा प्रहरीले रोक्ने प्रयास गर्दा दोहोर झडपको अवस्था सिर्जना भएको थियो । पोखराको सभागृहचोकवाट राँकोसहित निस्केका प्रर्दशनकारीहरुलाई रोक्न नेपाल प्रहरी र शशस्त्र प्रहरी बलको प्रहरी टोली परिचालन गरिएको थियो ।
राँको जुलुसपछि आयोजित सभाका वक्ताहरुले स्वाभिमानी देशभक्त नेपालीहरुले एमसीसी कुनै पनि हालतमा स्वीकार्न नसक्ने बताउँदै प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपि शर्मा ओलीसहितका चर्को आलोचना गरेका थिए ।