काठमाडौं -सुन तस्करहरुले त्रिभूवन विमानस्थलकै कर्मचारीसँग मिलेर सुन तस्करी गराउँदै आएका छन ।
बिमानस्थलकै कर्मचारीले एक किलो एक सय ६५ ग्राम सुन तस्करी गर्नेक्रममा प्रहरीले पक्राउ गरेपछि कर्मचारीको मिलोमतो बाहिरिएको हो । प्रहरीले अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईंलाई शुक्रबार पक्राउ गरेको हो ।
दुबईबाट शुक्रबार बेलुका आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन नासु गुरागाईंले विमानस्थलबाट पास गराइदिएका थिए । उनले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयमा सो सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए । सुराकीका आधारमा प्रहरीले विमानस्थलकै आगमनतर्फको टनेलमा घिमिरेलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो ।
नासु गुरागाईंले धेरैपटक विमानस्थलबाट सुन पास गराउँदै आएको खुलेको छ । सुरुमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको थियो । लगत्तै भागेका गुरागाईंलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ । घिमिरेले सुनका १० वटा बाला ल्याएका थिए । जसको मूल्य ९८ लाख ८७ हजार हुन्छ । पक्राउ परेका अध्यागमन कर्मचारीसहित दुवैजनालाई थप अनुसन्धानका लागि विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको विमानस्थल प्रहरी प्रवक्ता एसपी हिमालय श्रेष्ठले बताए ।
भिजिट भिसादेखि सुन तस्करीसम्म सेटिङ
प्रारम्भिक अनुसन्धानमा भिजिट भिसादेखि सुन तस्करीमा एउटै समूहको सेटिङ देखिएको छ । सुनसहित पक्राउ परेका घिमिरे पटक–पटक भिजिट भिसामा दुबई जाने र सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । अध्यागमन कर्मचारीसँगैको मिलेमतोमा उनी त्यसरी सहजै विदेश जाने गरेका थिए । एकजना कर्मचारीको मात्र मिलेमतोमा यसरी भिजिट भिसामा सेटिङ सम्भव नभएकाले यसमा अन्य कर्मचारीसमेत संलग्न भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।
अध्यागमन कर्मचारीको मिलेमतोमा हजारौँ व्यक्ति खाडी तथा मलेसिया गएर त्यहाँ अलपत्र परेको विषयमा पनि हाल गृह मन्त्रालयले छानबिन गरिरहेको छ । २०२१ मा एक लाखभन्दा धेरै नेपाली भिजिट भिसामा खाडी तथा मलेसिया गएका थिए ।
यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो । जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो । त्यस्तै, ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो ।
विगतमा भन्सारका कर्मचारीसँगको सेटिङ हुनेमा हाल अध्यागमन कर्मचारीसँग तस्करहरूले साँठगाँठ गरेको खुलेको छ । प्रहरीका कर्मचारी मिल्ने आशंकामा उनीहरूलाई ड्युउटीको समयमा मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । अध्यागमन कर्मचारीलाई पनि ड्युउटीमा निजी मोबाइल बोक्न रोकिएपछि नासु गुरागाईंले कसरी सेटिङ मिलाए खुल्न सकेको छैन ।
बारम्बार सुरक्षा त्रुटि
९ फागुनमा एक युवक सुरक्षा जाँचलाई चुनौती दिँदै विमानस्थलको पश्चिमतर्फको कम्पाउन्डबाट छिरेर विमानभित्रै पुगेका थिए । रौतहटका अस्फाम आलम नेपाल एयरलाइन्सको बिजनेस क्लासमा पुगेपछि मात्र पत्ता लागेको थियो । सो विषयमा गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
घटनामा पेरिमिटरको सुरक्षाको जिम्मेवारी बोकेको नेपाली सेना तथा विमानस्थलभित्रको सुरक्षा हेर्ने नेपाल प्रहरीको प्रत्यक्ष कमजोरी देखिएको छ । बोर्डिङ पासविना नै ती व्यक्ति विमानभित्र प्रवेश गर्नुमा नेपाल एयरलाइन्सको पनि कमजोरी प्रस्ट भइसकेको छ ।
त्यस्तै, १८ भदौमा बुद्ध एयरलाइन्सका दुई यात्रु चार किलो सुनसहित नेपालगन्ज जाँदा काठमाडौंको विमानस्थलको चेकिङमा पत्ता लागेको थिएन । नेपालगन्ज विमानस्थलमा पत्ता लागेको थियो । त्यसपछि त्रिभुवन विमानस्थलमा यात्रुलाई जुत्तासमेत खोल्न लगाएर चेकिङ हुने गरेको छ । तर, विमानस्थलभित्र सुरक्षा सुधारका काम भने हुन सकेको छैन ।