विराटनगर- व्यावसायिक साझेदारको हत्या मुद्दाका ६ जना अभियुक्त बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा मुद्दा दर्ता गरेको छ ।
घटनाको अनुसन्धान सकेर इलाका प्रहरी कार्यालय रंगेलीले दिएको प्रतिवेदनका आधारमा अभियोगपत्रसहित मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो।
मुद्दामा प्रतिवादी बनाइएकामध्ये पाँच जना मात्रै पक्राउ परेका छन्। एक जना फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ। फरार रहेकासहित सिरहाको सिरहा नगरपालिका–२१ घर भई काठमाडौं बल्खुमा बस्दै आएका ३१ वर्षिय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार, धनपालथान–७ का ६२ वर्षिय नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ वर्षिय मोहमद सुभाम र सुनसरीको देवानगन्ज गाउँपालिका–६ का १८ वर्षिय मोहमद हकिमलाई वकिल कार्यालयले मुद्दामा प्रतिवादी बनाएको छ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अभियुक्तसँग अदालतले आगामी बुधबार बयान लिने छ। मंगलबार सार्वजनिक बिदा भएकाले बयान एक दिनपछि धकेलिएको हो। त्यही दिन गोला प्रथाबाट इजलासको टुंगो लाग्ने र प्रतिवादीको बयान सकिएपछि वादी नेपाल सरकार तथा प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस भएर मुद्दामा अदालतबाट आदेश आउने जानकारी बुढाथोकीले दिए। मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले लगायतले बहस गर्ने छन्।
हत्या गरेपछि अलगअलग खाल्डो खनेर गाडिएको अवस्थामा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएको थियो। प्रहरीले १२ गते सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको शव खाल्डोबाट उत्खनन गरेको हो। अनुसन्धानबाट राजेन्द्रको हत्या पुस ३ र शम्भुको पुस ७ गते भएको खुलेको छ।
त्यसअघि नै उनीहरुका व्यावसायिक साझेदार तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षिय मोहन लिम्बूको हत्या भइसकेको पत्ता लाग्यो। ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनी सिमेन्ट प्लाष्टर गरेर गाडेको अवस्थामा माघ २० गते प्रहरीले मोहनको शव उत्खनन ग¥यो।
लिम्बूको हत्या गरेर मंसिर २८ गते शव गाडिएको घटनाको भने ललितपुर प्रहरीले भिन्दै अनुसन्धान गर्नेछ। मोरङ घटनामा अदालतको आदेश आइसकेपछि अभियुक्तहरुलाई ललितपुर लैजाने तयारी रहेको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानबाट अनिलको योजनामा नौ दिनभित्र मोरङ र ललितपुरमा गरेर तीन जना व्यावसायिक साझेदारको हत्या गरी शव खाल्डो खनेर गाडिएको पत्ता लागेको थियो।
नेपाल–बंगलादेश बैंकमा धितो राखिएको ललितपुरको हरिसिद्धीस्थित एनबी वार्ता हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको २५ रोपनी ७ आना जग्गा उकास्दा प्राप्त हुने ३ प्रतिशत कमिसन लगभग डेढ करोड रूपैयाँमा कुरा नमिल्दा अनिलको योजनामा घटना गराइएको प्रहरीले जनाएको छ।
ढेड करोडको लोभले साझेदारको हत्या अभियोगमा ६ जना बिरुद्ध कर्तव्य ज्यान मुद्दा
ढेड करोडको लोभले साझेदारको हत्या अभियोगमा ६ जना बिरुद्ध कर्तव्य ज्यान मुद्दा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु