वीरेन्द्रनगर – एमसीसी सम्झौता संसदवाट अनुमोदन गरेपछि आक्रोशित बनेका आठ दलका कार्यकर्ताले सोमबार सुर्खेतमा एमालेको पार्टी कार्यालयमा आगजनी गर्नुका साथै कांग्रेस र माओवादी केन्द्रको कार्यालयमा तोडफोड गरेका छन ।
एमसीसी अनुमोदनको विरोध गर्दै नेपाल बन्दमा उत्रिएका ८ दलका आक्रोशित कार्यकर्ताहरुले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।
सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहार समेत गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।
वीरेन्द्रनगरमा कर्प्यू
बन्दकर्ताहरूले नेकपा एमाले सुर्खेतको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको छ । सोमबार राति एमाले पार्टी कार्यालयमा आगजनी गरेपछि स्थिति तनाबग्रस्त बनेपछि कर्फ्यू लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सबा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो । कर्फ्यू अवधिभर आवतजावत गर्न, भेला आयोजना गर्न नपाइने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकता अनुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्वारा जारी आदेशमा उल्लेख छ ।
सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए । संघीय राजधानी काठमाडौंलगायतका स्थानमा बन्दको प्रभाव नदेखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने प्रभाव देखिएको थियो ।
सोमबार बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन् ।
हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता सोमबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । यसबीचमा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ लाई पनि प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।